भारतले दिएको ९ टन राहत भूकम्प प्रभावित क्षेत्रमा

कार्तिक २१, २०८०

कान्तिपुर संवाददाता

नेपालगन्ज — भारत सरकारले दिएको ९ टन बराबरको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ । प्राप्त राहत सामग्री जाजरकोट र रुकुम पश्चिमका प्रभावित स्थानमा सोमबार पठाइएको हो ।

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सोमबार हस्तान्तरण गरे । 

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको हो । 

राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्यांकेट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटालगायत छन् ।

भारतले आइतबार ११ टन बराबरको राहत सामग्री भूकम्पपीडितका लागि पठाएको थियो ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully