बागलुङ — गत बिहीबार रातिदेखिको पहिरोले बन्द भएको कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीसेरा सडक २० घन्टापछि केहीबेर एकतर्फी खुलेपछि फेरि अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० को दब्ल्याङको पहिरोले वर्षात लागेदेखि नियमित यातायातमा सास्ती भएको हो ।
लगातार तीन दिनदेखि यातायात ठप्प भएपछि सयौं यात्री र सवारी साधन अलपत्र परेका छन् । कतिपय सवारी फर्केका छन् भने कतिपयले पहिरोका कारण यात्रा नगर्दा सरमुकाममा दूध र तरकारी अपूर्तिमा समस्या भएको छ । निरन्तरको वर्षातले खसेका पहिरोले अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएपछि गाउँगाउँ जाने सवारी पनि रोकिएका हुन् ।
यी दुई सडकले बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सदरमुकामसँग जोड्छ । करिडोरको जैमिनीघाटमा पनि सडक अवरुद्ध भएको छ । ‘केही दूध झोलुंगे पुल तारेर पर्वतको कुश्मादेखि घुमाएर आएको छ,’ दूध व्यवसायी खगेन्द्र पौडेलले भने, ‘कतिपय किसानले घरबाटै पठाएका छैनन् ।’ समयमा दूध आपूर्ति नभएपछि ग्राहकलाई दिन नसकेको उनले बताए ।
सडक खुलाउन बागलुङ नगरपालिकाले तीन दिनदेखि लगातार प्रयास गरिरहेको छ । सडक डिभिजनको कार्यक्षेत्र भएपनि नगरपालिका र जिल्ला प्रहरी तथा सशस्त्र प्रहरीले पहिरो पन्छाइरहेको हो । ‘निरन्तर पहिरो पन्छाएका छौं, तर वर्षात नरोकिँदा पहिरो पनि रोकिएको छैन,’ प्रहरी नायब उपरीक्षक मदन केसीले भने, ‘खेतको पानी समेत पहिरोमा मिसिएपछि निरन्तर ढुंगामाटो खसेर सडक खोल्न नसकिएको हो ।’ एउटै पहिरोले यहाँको करिडोरसहित मालढुंगा कुश्मीसेराको दुईवटा घुम्ती बगेको छ । तीन वर्षअघि खसेको पहिरो अझै नियन्त्रणमा आउन नसकेको हो ।
पहिरो नियन्त्रण गरेर नियमित सवारी चलाउन पायल्स फाउन्डेसन सहितका १० थरी संरचना बनाउनुपर्ने विज्ञ टोलीले निष्कर्ष निकालेको छ । गण्डकी प्रदेश सरकारले गत जेठमा गरेको अध्ययनमा ‘एक्सल्पोरर जियोलोजिकल कन्सल्टेन्सी’को ९ सदस्यीय टोलीले दुई साता लामो अध्ययनपछि पहिरो नियन्त्रणका लागि कम्तिमा साढे ५ करोड खर्च समेत लाग्ने प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन हुने नहुने यकिन नहुँदै साउन लागेदेखि दैनिकजसो पहिरोले यातायात अवरुद्ध पारेको छ ।
यहाँ ७ सय ५० मिटर लामो, १ सय ५० मिटर चौडा पहिरो खसेको छ । अध्ययन टोलीले २७ वटा पायल्स फाउन्डेसन बनाउनुपर्ने सुझाव पनि दिएको थियो । त्यसबाहेक पानीको स्रोत व्यस्थापनका लागि नजिकका दुईवटा खोलासम्म नाली निर्माण गर्ने, पक्की पर्खाल निर्माण, बायो इन्जिनियरिङ लगायतका संरचना बनाउनु पर्ने भनिएको थियो ।
‘पहिलो चरणमा पानीको नियन्त्रण गरेपछि मात्र अरु काम गर्न सकिन्छ,’ अध्ययन टोलीका सदस्य उमेशचन्द्र भुषालले भने, ‘यो काम सजिलो छैन, तर स्थानीयको सहमति भयो भने यही वर्षातमा क्षति न्यूनीकरण गर्न सकिन्छ ।’ दक्षिण बागलुङ जाने मुख्य नाका, कालीगण्डकी करिडोरबाट गुल्मी र पाल्पासम्म जाने यात्री हिँडछन् । सडक समेत पटक पटक अवरुद्ध हुने अवस्था जोगाउन विज्ञ टोलीले अध्ययन गरेर निर्माणका काम थाल्न सुझाएको उनले बताए ।
काम विशेषले आएकाहरु फर्केका छन् । कतिपयले पर्वतको कुश्मा हुँदै घुमेर आउन बाध्य भएका छन् । मुसलधारे वर्षातले पहिरो खस्दा कालीगण्डकी करिडोर र यहाँको मालढुंगा कुश्मीसेरा सडक अवरुद्ध भएको छ ।
