बस्तीभन्दा अग्लो हुने गरी हुलाकी सडक निर्माण भएका कारण पानी निकास नहुँदा ठूलो क्षति
रौतहट, कञ्चनपुर, धनगढी — रौतहटमा वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा करिब २ सय परिवार विस्थापित भएका छन् । कञ्चनपुरमा भने दोदा नदीमा आएको बाढी बस्तीमा पस्दा ३५ परिवार विस्थापित छन् ।
रौतहटमा राजपुर नगरपालिकाको बैरियामा निर्मित तटबन्ध भत्काएर लालबकैया नदी गाउँ पसेपछि ४८ परिवार विस्थापित भएका छन् । त्यस्तै वाग्मतीको बाढी गाउँ पसेपछि दुर्गा भगवती गाउँपालिकाका बडहर्वा, जठरहिया र बसतपुरका ७० घर परिवार एवं राजदेवी नगरपालिकाका चण्डिया, लक्ष्मीपुर र पथराको ५६ घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘वर्षा र बाढीबाट जिल्लामा २ सय घर परिवार प्रभावित भएको खबर पाएका छौं,’ प्रजिअ मिश्रले भने, ‘प्रभावित घरपरिवारलाई खाद्यान्न, झुल र अन्य मानवीय सहयोग उपलब्ध गराइएको छ ।’
विस्थापितहरूको बसोबास व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले १ सय २५ त्रिपाल दिएको छ । विस्थापित परिबारलाई राजपुर नगरपालिकाले मेस चलाएर सामूहिक भोजनको व्यवस्था गरेको नगर प्रमुख राजिक आलमले बताए । रौतहटमा सोमबारदेखि परेको अविरल वर्षापछि बाढी आएको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–५ को सिमरीका ३० परिवार र रातोसालका ५ परिवार विस्थापित भएका हुन् । सोमबारदेखि परेको वर्षापछि दोदा नदीमा आएको बाढी मंगलबार राति लालझाडी गाउँपालिका हुँदै बस्तीमा पसेको छ । नदीमा बाढी घटे पनि बस्तीमा पसेको पानी निकास नभएका कारण बुधबारसम्म घटेको छैन । उक्त क्षेत्रमा बस्तीभन्दा अग्लो हुने गरी हुलाकी सडक निर्माण भएका कारण निकास नभएको पुनर्वास–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले बताए । उनका अनुसार अहिले विस्थापितहरू आफन्तको घरमा बसेका छन् ।
विस्थापितलाई वडा कार्यालयले खाद्यान्न सहयोग गरेको छ । सबै विस्थापितलाई एकै ठाउँमा खाना खाने व्यवस्था मिलाइएको वडाध्यक्ष रोकायाले बताए । बस्तीमा पसेको पानीको निकास नभएपछि स्थानीयले हुलाकी सडक भत्काउन थालेका छन् । राना समुदायको बसोबास रहेको यो क्षेत्र दोदामा सामान्य बाढी आउँदा पनि डुबानमा पर्ने गरेको छ । पानीको निकास नभएकै कारण यहाँका बासिन्दा बर्सेनि विस्थापित हुने गरेका छन् ।
यसैबीच, महाकाली नदीमा आएको बाढीका कारण शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन बुधबार दिनभरि बन्द गरिएको थियो । साँझ ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव ९९ हजार ६ सय ४५ क्युसेक पुगेको छ । बुधबार बिहान नदीमा पानीको बहाव १ लाख ३५ हजार क्युसेक पुगेको थियो । पुरानो जीर्ण पुलमा जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
कैलालीका विभिन्न पालिकामा सयौं परिवार प्रभावित भएका छन् । प्रभावित हुनेमा भजनी नगरपालिकाका बासिन्दा धेरै छन् । नगर प्रमुख केवल चौधरीका अनुसार भजनीका विभिन्न वडामा बाढीबाट प्रभावित छन् । बाढीबाट अत्यधिक प्रभावित हुनेमा कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका बासिन्दा छन् । नगर प्रमुख चौधरीले काँढा र पथरैया नदीको बहाव बढेपछि डुबान गरेको बताए ।
डुबानपीडित हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेका छन् । केही परिवारले सार्वजनिक भवनमा आश्रय लिएका छन् । ‘मेरो घर मात्रै होइन, पूरै गाउँ नै डुबानमा परेको छ । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं,’ ढुसी गाउँका जनक चौधरीले भने, ‘कहिले बाढी घट्ला र घर फर्किउँला भनेर बसेका छौं ।’ भजनी नगरपालिका क्षेत्रका बासिन्दाले बर्सेनि बाढीको प्रकोप झेल्दै आएका छन् । यस पालिकामा कन्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढी बस्तीमा पस्ने गरेको छ ।
सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग बुधबार पनि सञ्चालन हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन हो । प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ बुढीतोलास्थित बुढीतोला–खानीडाँडा खण्डमा करिब दुई सय मिटर सडक भासिएको छ । पहिरो खसेको र सडकको सतह भासिएकाले सडक मर्मत कार्य कठिन भएको प्रदेश ट्राफिक कार्यालय धनगढीले जनाएको छ ।
मंगलबार बिहानैदेखि डोजर परिचालन गरे पनि क्षतिग्रस्त सडक मर्मतसुधार हुन सकेको छैन । ‘बुधबार बिहानैदेखि पाँच वटा डोजर परिचालन गरेर मर्मतको प्रयास भइरहेको छ तर मंगलबार राति भारी वर्षा भएकाले मर्मत कार्य उपलब्धिमूलक हुन सकेको छैन,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीले भने, ‘बिहीबार पनि वैकल्पिक मार्ग खोल्न सकिने निश्चित छैन ।’ बुढीतोलामा राजमार्ग क्षतिग्रस्त हुने गरी गएको पहिरोले कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाको भावरटोलका ९ परिवार विस्थापित भएका छन् ।
