काठमाडौँ — सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीमा बाढी आउने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीहरूमा जल सतह खतरा तहभन्दा माथि हुने जनाउँदै तटीय क्षेत्रमा रहेकाहरूलाई अति उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।
ती स्थानहरूमा आकस्मिक बहावको जोखिम रहेको विभागका वरिष्ठ हाइड्रोलोजिस्ट सुनिल पोखरेलले जानकारी दिए । उनले भने,' ती स्थानहरूमा जल सतह बढ्ने प्रक्षेपण गरिएकाले उच्च सतर्कता अपनाउन भनेका हौं ।'
विभागले बबई र कमला नदीको जलसतह सतर्कता तह आसपास रहेको जनाएको छ । यस्तै वाग्मतीको पधेरादोभानको सतह खतरा तह आसपास रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हाल कोशी, कन्काई, नारायणी, कर्णाली, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको विभागले जनाएको छ ।
