मकवानपुर पहिरो : एक जनाको शव फेला‚ ४ जना अझै बेपत्ता

श्रावण २४, २०८०

प्रताप विष्ट

हेटौंडा — घरसहित पहिरोले घर बगाएर बेपत्ता पारिएकामाध्ये बुधबार एक महिलाको शव वाग्मती खोलामा फेला परेको छ । मकवानपुर वाग्मती गाउँपालिका—५ सिक्रे दोभानकी २२ वर्षीया शिला पहरी मृत अवस्थामा हरीहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित वाग्मती नदीको बीच बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

अझै उनका बुबा अक्कलबहादुर स्याङतान‚ श्रीमान् जीवन पहरी,  ४ वर्षीय मिलन र करिब डेढ वर्षीया छोरी दिव्या पहरीसहित चार जना  बेपत्ता छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ  ।

मंगलबार बिहान अक्कलबहादुरको घर पहिरोले बगाएर ७ जना बेपत्ता पारेको थियो । अक्कलबहादुरकी पत्नी सन्तमायाको उद्धारपछि उपचारको क्रममा मृत्यु भएको छ । पाहुना आएका पासाङ घिसिङको भने मंगलबार नै उद्धार गरिएको थियो । अहिले उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । 

बाढीपहिरो

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully