मकवानपुर पहिरो : बेपत्ता भएका एकको जीवितै उद्धार, अझै ५ जना बेपत्ता 

श्रावण २३, २०८०

प्रताप विष्ट

हेटौंडा — अविरल वर्षात्‌ पछिको पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा बेपत्ता भएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयवासीले मंगलबार अपराह्न जीवितै उद्धार गरेका छन् ।

पहिरोले बगाएको घरभन्दा करिब चार किलोमिटर तल वाग्मती खोला किनार वगेरीमा पासाङलाई फेला पारिएको स्थानीयवासी शेरबहादुर माझीले बताए । घिसिङको शरीर भरी घाउचोट लागेको छ । स्थानीयवासीले उनलाई विस्कुट र जुस खान दिएका थिए । उनी बोल्न सक्ने अवस्थामा छन् । 'स्थानीयवासीले उपचारको निम्ति उनलाई स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै छन् । शरीरका विभिन्न भागमा घाउचोट छ,' माझीले भने । 

सिन्धुली हरिहरपुर—१ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए । मंगलबार बिहान ४ बजेतिर गएको पहिरोले अक्कलबहादुरको घर पहिरोले बगाएको थियो । पहिरो पुरिएको अवस्थामा अक्कलबहादुरको पत्नि ५५ वर्षीय शान्तिमायाको उद्धार गरिएको थियो ।

स्थानीय चौकीमा ल्याएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो । पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र करिब डेढ वर्षीया दिव्या पहरी छन् ।

बाढीपहिरो

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully