कुवामा चौकीदारी

२०१६ सालमा बनाइएका यी कुवाबाट पानी चोरी हुन थालेपछि २०५५ देखि हिउँदपछिका झन्डै ६ महिना चौकीदार खटिन्छन्, दैनिक हरेक घरधुरीलाई ७० लिटर पानी वितरण गर्ने गरिएको छ
पानी दुःखकै कारण रेक्चावासीले बस्तुभाउ पाल्न छाडे 
विद्यार्थी शौचका लागि झाडीमा जाने
पानी अभावकै कारण मौसमी बसाइासराइ
ज्योति कटुवाल

सुर्खेत — चौकुने गाउँपालिका–५ रेक्चाकी ७० वर्षीया मैसरा देवकोटाको पानी खेप्दैमा जवानी सकियो । ‘हरदिन बिहान ५ देखि १० बजेसम्म इनार खुल्छ, हाम्रो दैनिकी पानी ओसार्दै सुरु हुन्छ,’ उनले भनिन्, ‘दिनभरि कुवामा लाइन लाग्दा जेनतेन २ गाग्री पानी भर्न पाइन्छ ।’

कुवामा चौकीदारी

१६ वर्षको उमेरमा विवाह गरेर चौकुनेकै भापरबाट रेक्चा आएकी उनलाई त्यसपछिका एक दिन पनि पानी बोक्न फुर्सद पाएको याद छैन । तैपनि ७० वर्षकी हुँदा पनि तिर्खा मेट्ने गरी अझै पानी पिउन नपाएको उनको अनुभव छ । ‘पानी बोक्न छुटेको दिन त जीवन नै छुट्छ कि भन्ने लाग्छ, हामी त पेटभरि पानी खान नपाएरै मर्ने भयौं । यस्तै अवस्था रह्यो भने छोराछोरीले पनि धीत मर्ने गरी तिर्खा मेट्न पाउँदैनन् होला,’ उनले भनिन्, ‘न नेता चिन्या, न सहर देख्या न त राम्रो खान लेख्या रैछ, हाम्रो जीवन त राउट्या जसो भयो ।’

रेक्चा गाउँ अहिले काकाकुल छ । यहाँका स्थानीयले झन्डै ५ दशकदेखि पानीकै लागि ठूलो सास्ती भोगिरहेका छन् । गाउँमा १० वटा कुवा छन् । तर सबैजसो कुवामा खडेरीका कारण फागुन अन्तिमदेखि पानीको सतह घट्दो छ । यतिबेला कुवा रुँघ्न चौकीदार राखिएको छ जसले पानी वितरण गर्छन् । स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन् । कुवामा सर्प, भ्यागुता, किरा, फट्याङ्ग्रा मरेका भए पनि त्यहाँको पानी उपभोग गर्नुको विकल्प नभएको उनले बताइन् । पुर्खौदेखि पानीका लागि ठूलो सास्ती व्यहोरिरहेको उनको गुनासो छ ।

रेक्चाकै ७८ वर्षीय जगतबहादुर बुढाले पानीकै अभावमा महिना दिनसम्म नुहाउन र कपडा धुन नपाइने दुखेसो पोखे । ‘हाम्रा लागि त मुख्य पेसा नै पानी बोक्ने भएको छ,’ उनले भने, ‘हिउँदको ६ महिना लेदो छानेर पानी उपभोग गर्नुपर्ने बाध्यता छ ।’ उनले पानी धेरै खर्च हुन्छ भनेर अधिकांश गाउँलेले भातको सट्टा धेरैजसो रोटी खाने गरेको बताए । रेक्चा पञ्चायत हुँदादेखि नै खानेपानी योजनाका लागि काठमाडौंसम्म पुगे पनि बेवास्ता भएको बताए । ‘चुनावमा सबैजसो उम्मेदवारले जसरी पनि गाउँमा पानी पुर्‍याउँछौं भनेर भोट पाउँछन्,’ उनले भने, ‘तर जितेर गएपछि फर्केर कहिल्यै गाउँमा आउँदैनन् ।’

साविक दैलेखमा पर्ने रेक्चा गाउँ पञ्चायतमा कैलालीको सुगुरखाल, घाटगाउँ, बिजौरा, गुटु, विद्यापुर, बेतान, लगाम र रेक्चा समावेश थिए । झन्डै ५ सय ६० वर्ष पुरानो यो बस्तीमा आफूले थाहा पाउने बेलादेखि नै खानेपानी समस्या रहेको कुवाका चौकीदार ६८ वर्षीया पदमसिंह बुढाले बताए । उनका अनुसार भारतको कुमाउ गडुवालबाट जुम्ला हुँदै अछामबाट सरेको यो बस्तीमा राज्यको आँखा पुग्न सकेको छैन । बस्तीमा १ सय २६ घर छन् । उनका अनुसार अहिलेका कुवाहरू पनि २०१६ सालमा बनाइएका हुन् । पानी चोरी हुन थालेपछि २०५५ सालबाट कुवामा चौकीदार राखिएको हो । हिउँदपछिका झन्डै ६ महिना कुवामा चौकीदार खटिन्छन् । दैनिक सबै घरधुरीलाई ७० लिटर पानी वितरण गर्ने गरिएको छ । ‘अहिले त स्थानीयले थुक–तेल लगाएर भए पनि पानी बचाएर राख्ने गर्छन्,’ उनले भने, ‘पानीकै अभावमा गाउँमा एक बाली मात्र अन्न पाक्छ, पानी नहुँदा गाउँलेले बस्तुभाउ पाल्न छोडिसके ।’

७१ वर्षीय गम्बरसिंह बुढाका अनुसार ३ दशकअघिसम्म गाउँमा दलित, जिमवाल, मुखियाको र मगरको गरी ४ वटा कुवा थिए । आफ्ना बाजेहरूले खनेको कुवाबाट अहिलेसम्म पनि पानी उपभोग गरिरहेको उनले बताए । ‘तिर्खाएका बटुवा पनि घर नआइदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘परिवारका सदस्यले त अड्कलेर पिउँछौं, पाहुना आए उनीहरूका लागि पानीको जोहो गर्नै मुस्किल हुन्छ ।’ उनका अनुसार पानी अभावले गाउँका सबैजसो शौचालय प्रयोगविहीन छन् । कक्षा ८ सम्म रहेको जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत झन्डै १ सय १० विद्यार्थीले घरबाटै पानी बोकेर ल्याउँछन् । विद्यालयकी प्रधानाध्यापक तुलसी बारघरेले पानी अभावमा विद्यालयको शौचालय पनि प्रयोगविहीन बनेको बताइन् । उनका अनुसार अहिले विद्यार्थीहरू नजिकैका झाँडीहरूमा शौच गर्न जाने गरेका छन् । ‘खानेपानी नै नहुने ठाउँमा कसरी शौचालय प्रयोग गर्ने ?,’ उनले भनिन्, ‘विद्यालयमा पढ्ने अधिकांश बालबालिकाको कामै साँझ–बिहान पानी भर्ने हुन्छ, धेरैजसो विद्यार्थी होमवर्क नगरेरै स्कुल आउँछन्,’ उनले भनिन्, ‘पानीकै चिन्तामा कतिले हाफ टाइमपछि विद्यालय छाड्छन् ।’

भीमबहादुर बुढाको १० जनाको परिवार छ । उनको परिवारको भागमा दैनिक दुई गाग्री पानीको भाग पर्छ । ‘२ गाग्री पानीले १० जनालाई खाना पकाउनै मुस्किल हुन्छ, पिउने पानी पनि भाग लगाएर उपभोग गर्छौं,’ उनले भने, ‘हामीले कुवाबाट घर पुर्‍याएको एक थोपा पानी पनि जमिनमा खस्न दिन्नौं, हातखुट्टा धोएको र नुहाएको पानी पनि ठूलो भाँडामा संगालेर गाईबस्तुलाई दिन्छौं ।’ उनले रेक्चाका ७ टोलका स्थानीयले ६ महिनासम्म प्यास लाग्ला भनेर बस्तुभाउलाई नुनसमेत नदिने गरेको बताए । महिनावारी भएपछि महिलाहरूले सफासँग नुहाउनसमेत नपाउने उनको भनाइ छ । ‘घरमा भाग लागेको पानी खाने कि नुहाउने भनेर आफैं रोज्नुपर्छ,’ उनले भने, ‘नुहाउनका लागि झन्डै २ घण्टा हिँडेर नजिकैका बस्तीमा पुग्नुपर्छ ।’

पानी अभावले बस्ती छाड्दै

काकाकुल बनेको रेक्चाका बासिन्दा पानीको अभाव बढ्दै गएपछि बस्ती नै छोडेर हिउँदमा गाउँपालिकाको केन्द्र गुटुलगायत आसपासका बस्तीमा सर्ने गरेका छन् । अहिले पनि करिब ३० परिवार गुटुमा मौसमी बसाइँसराइ गरेर गएको वडा सदस्य तपेन्द्र बीसीले बताए । उनका अनुसार पानी मात्र होइन गाउँमा स्वास्थ्य, शिक्षा, बिजुली र सडकको पनि ठूलो समस्या छ । ‘वैशाख र जेठमा पानीको ठूलो समस्या हुन्छ, गाउँ आसपासका मुहानहरू पनि सुक्दै जान्छन्, राम्रोसँग वर्षा नहुँदा सबै काकाकुल हुन्छन्,’ उनले भने, ‘७० लिटर पानीले २ छाक टार्नुपर्ने बाध्यता छ ।’ नेताहरूले हरेक चुनावमा एकघर एक धारा भन्दै भोट मागे पनि जितेर गएपछि नहेर्ने गरेकाले राजनीतिप्रति स्थानीयको वितृष्णा बढेको उनको भनाइ छ ।

गाउँमा उर्वर जमिन भए पनि हिउँदमा बारी बाँझो हुने गरेको उनको भनाइ छ । ‘हिउँदमा बस्तुभाउको तिर्खा मेटाउन नसक्ने भएपछि गुटुमा लगेर उनीहरूले बस्तभाउ पाल्ने गरेका छन्,’ उनले भने, ‘एक दिनमा पाएको ७० लिटर पानीले पिउने, खाना पकाउने, भाँडा धुनेलगायत सबै काम भ्याउनुपर्छ । कपडा धुन, नुहाउन र पशुचौपायलाई दिने कसरी पुर्‍याउने ?’ स्थानीयलाई आकाशको पानी संकलन गर्न प्रत्येक घरमा ठूला ड्रम वितरण गरिएको उनले जानकारी दिए ।

पूर्वगाविस सचिव गोपाल बीसीले औलो लाग्दैन भनेर पुर्खाहरू तराई नझरेको बताए । उनका अनुसार रेक्चामा वल्लो गाउँ, पल्लो गाउँ, ज्यापाली, खारगाडी, हाडकाँध, खेल र ढुगालोटलगायत ७ वटा टोलहरू छन् । उनले अधिकांश स्थानीयहरू वर्षायामका ६ महिनामा मात्र गाउँमा बसोबास गर्ने गरेको बताए । शिक्षा, स्वास्थ्य, खाद्यान्न, सडकलगायत समस्याले गाउँलाई झेलेको उनको भनाइ छ । ‘पानीका लागि धेरै स्थानमा हातपाउ जोडियो,’ उनले भने, ‘बस्तीमा जथाभावी कुवा खन्न पनि मनाही छ, पानीघाटबाहेक अन्य स्थानमा कुवा बनाए मानिसको मृत्यु हुन्छ भनेपछि त्यही क्षेत्रमा मात्र कुवा छ ।’

पानी बोक्न घोडा

स्थानीय बलबहादुर बुढा क्षेत्रीले पानी बोक्न नसक्दा ५० हजार रुपैयाँमा एउटा घोडा किनेका छन् । उनी हरेक दिन बिहान घोडा लिएर १ घण्टाको बाटोमा पानी लिन पुग्छन् भने भारीसँग दुई घण्टामा घर पुग्छन् । बस्तीबाट टाढा भएकाले आफूले बोक्न नसकेका कारण घोडा किनेको उनको भनाइ छ । ‘७० लिटर पानी लिन एक घण्टा लगाएर कुवामा पुग्यो, आधा पानी घोडालाई दिनुपर्छ,’ उनले भने, ‘आधा आफूलाई ।’ महिना दिनसम्मको कपडा जम्मा गरेर घोडा बोकेर उनी धारापानी र गुटु धाउने गरेको उनले बताए । उनका अनुसार गाउँमा पानी ओसार्नकै लागि ११ जनाले घोडा किनेका छन् ।

चौकुने गाउँपालिकाले चार वर्षअघि कर्णाली नदीबाट लिप्ट गरेर रेक्चामा ल्याउने भन्दै १ करोड ७२ लाख रुपैयाँमा ठेक्का आह्वान गर्‍यो । तर अझैसम्म पनि कामले गति लिएको छैन । रेक्चामा रहेका १९ वटा कुवामा १० वटा जीर्ण अवस्थामा छन् । जीर्ण कुवाहरू मर्मत हुन नसक्दा केही भत्किएका छन् भने केही सुकेका छन् । ‘हाम्रा बाबुबाजेले पानीका लागि गरेको दुःख अहिलेसम्म पनि नसकिने भयो,’ उनले भने, ‘कर्णालीबाट लिप्ट गरेर रेक्चामा पानी आउँछ भनेर आश्वासन दिए तर ४ वर्षसम्म योजनाको पाइप बस्ती छेउमै अलपत्र अवस्थामा फालिएको छ ।’ पानी चोरी हुने डरले स्थानीयले ६ महिनाका लागि चौकीदार राख्ने गरेका छन । प्रत्येक घरपरिवारले एक पाथी गहुँ र मकै दिने सर्तमा चौकीदार राखेका हुन् ।

चौकीदार जगत शाहीले बिहान ५ बाट १० बजेसम्म सामान्य अवस्थामा पानी वितरण गर्ने गरिएको बताए । उनले विवाह, व्रतबन्ध र मृत्यु संकारमा भने अरूको पानीको भागभाग कटाएर अनि बढी दिने गरेको बताए । उनका अनुसार २०५५ सालयता पानी प्रतिघर ७० लिटरका दरले बाँड्ने चलन गरिएको हो ।

राष्ट्रिय जनगणना–२०७८ का अनुसार कर्णालीका ३५.६४ बासिन्दाको पहुँचमा मात्र खानेपानी सुविधा छ । त्यसमा पनि करिब झन्डै ९६.५ प्रतिशत परिवारमा पानीको स्वच्छता परीक्षण हुन सकेको छैन । ३ लाख ६६ हजार ३७ घरधुरीमध्ये १ लाख ३० हजार ४ सय ६५ घरमा मात्र व्यवस्थित खानेपानी योजनामार्फत खानेपानी सुविधा पुगेको छ । बाँकी २ लाख ३५ हजार घरमा वैकल्पिक स्रोतबाट खानेपानी उपभोग गर्नुपर्ने बाध्यता छ भने ४ हजार २ सय ७६ घरपरिवारले अझै पनि बाह्रै महिना खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । पोषणविज्ञ हरि देवकोटाले सुरक्षित खानेपानीको उपलब्धताले सरसफाइ र स्वस्थ जीवनयापनमा टेवा पुगी झाडापखाला, हैजा, टाइफाइड, आउँजस्ता पानीजन्य रोगब्याधि नियन्त्रण गर्न सहयोग पुग्ने बताए । उनका अनुसार यसबाट बाल मृत्युदर र मातृ मृत्युदर घटाउन साथै औसत आयु बढाउन सहयोग पुग्छ । ‘यहाँका बासिन्दा स्वच्छ पानी त पिउन पाउँदैनन्,’ उनले भने, ‘अरू सुविधा त परैको कुरा भयो ।’ बजेट अभावमा कर्णालीमा झन्डै १ हजार ६ सय खानेपानी योजना अलपत्र परेको प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीमा झन्डै २६ प्रतिशत हिमक्षेत्र छ । जहाँका १ हजार ४ सय ५९ हिमनदीहरूले १ हजार २३ वर्गकिमि क्षेत्रफल ओगटेका छन् । प्रदेश योजना आयोगका अनुसार नेपालको सबैभन्दा लामो नदी कर्णालीको ५ सय किमि लम्बाइमध्ये झन्डै ६० प्रतिशत भाग कर्णालीमा छ । तर कर्णालीबाट बगेको पानी सबै खेर गइरहेको छ । कर्णाली प्रदेशमै २ सय ६४ किलोमिटर लामो भेरी नदी, ६८ किलोमिटर लामो तिला नदीको पानी पनि खेर गइरहेको जल तथा ऊर्जा आयोगका सहसचिव कलानिधि पौडेलले बताए । उनका अनुसार प्रदेश सरकारले उपयुक्त जलनीति बनाएर कर्णालीको पानीको संरक्षण गर्न जरुरी छ ।

प्रकाशित : जेष्ठ १९, २०८० ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?