कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काम हुन्छ, ढुक्क हुनोस् भन्दै ग्यारेन्टी पनि बस्थे रायमाझी र रिजाल

काम नहुने र रकम फिर्ता नआउने देखेपछि पन्थीले २०७८ मंसिर २ मा अख्तियारमा इन्द्रजित राईसमेतलाई प्रतिवादी बनाएर उजुरी हाले, जसमा प्रमुख आयुक्त प्रेमकुमार राईको समेत नाम जोडिएको छ
घनश्याम खड्का

काठमाडौँ — ०७४ को एक दिन । भक्तपुर सिरुटार बस्ने गोकुल थापासँग प्रेमराज पन्थीको भेट हुन्छ । पोखराका राधाकृष्ण पोखरेलसँगको सम्पर्कपछि काठमाडौं नयाँ बानेश्वरका विदुर गौतममार्फत पन्थी थापासम्म पुगेका हुन्छन् । 

काम हुन्छ, ढुक्क हुनोस् भन्दै ग्यारेन्टी पनि बस्थे रायमाझी र रिजाल

तिनै थापाले २०७४ कात्तिक र मंसिरमा गौशालास्थित शिवम् होटलमा पन्थी र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको भेट गराउँछन् । थापा रिजालका पीए हुन् । ‘नेपालीलाई भुटानी बनाई अमेरिका लैजाने कुराकानी भइरहेको छ,’ रिजालले थापालाई त्यसबेला भनेका थिए, ‘गोकुलको सम्पर्कमा बस्नुहोस् ।’ थापाले पन्थीलाई न्युरोड लगी त्यही वर्षको पुस ११ मा प्रधानमन्त्रीलाई सम्बोधन गरी भुटानी शरणार्थी सम्बन्धमा लेखिएको चार पाना कागज देखाएर आश्वस्त बनाउँछन् । अनि पन्थी आफन्तसमेतको ३२ लाख बुझाउन तयार हुन्छन् ।

‘अमेरिका पठाउने कामका लागि एड्भान्समा प्रतिव्यक्ति २ लाखका दरले मेरा आफन्तहरू समेत १६ जनाले ३२ लाख २०७४ सालको चैत महिनामा गोकुल थापालाई बुझाएको,’ पन्थीले प्रहरीसँगको बयानमा भनेका छन् । २०७५ कात्तिकसम्म ‘कामको कुनै प्रोसेस नभएको र थापाको बानी व्यहोरा ठीक नलागेको’ भन्दै उनले रकम फिर्ता गर्न दबाब दिए । २२ लाख तत्काल र पछि भेषराज शर्मा लम्सालमार्फत १० लाख फिर्ता गरेको उनको स्वीकारोक्ति छ ।

त्यसै वर्ष फागुनमा लम्सालले पोखरा बोलाएर पन्थीलाई रिजाल आफ्नो काका भएकाले नआत्तिन भनेका थिए । रिजालसँग मोबाइल ह्यान्स फ्रिमा कुरा गर्दै पन्थीलाई अमेरिका जाने सपना देखाए । संवादमा उनले ‘भुटानीको नाममा नेपालीलाई अमेरिका लैजाने मुख्य मानिस केशव दुलाल नै हो’ पनि भनेका थिए । रिजालसँगको त्यो फोन संवादपछि पन्थी लम्सालप्रति नजिकिए । ‘रिजाल भनेको यूएनमा समेत लिंक भएको ठूलो मानिस हो, अमेरिका जान कुनै समस्या हुँदैन’ भनेर लम्सालले पटकपटक भरोसा दिलाए ।

‘अमेरिका जानेहरूले निज (टेकनाथ रिजाल) ले सहीछाप गरेको कार्ड बनाउनुपर्छ भनेकाले म, मेरो पूरै परिवार, ससुरालीतर्फका सबै ५०/५५ जना र अन्य ३५०/४०० जनाको फरक (नक्कली) नामबाट भुटान ह्युमन राइट्स अर्गनाइजेसनको मेम्बरसिप कार्ड बनाएको हो,’ पन्थीले प्रहरीलाई भनेका छन् । रिजालले पठाएको ९ र १० पानाको नामावली र भुटानको ठेगाना भएको लिस्ट रुजु गराएर त्यही नामबाट क्रमैसँग नक्कलीे नाम र ठेगानासहितको फोटो टाँस गरी कार्ड बनाएको पन्थीको भनाइ छ । त्यसमा रिजालले सही गरेका छन् । त्यसपछि लम्सालले अमेरिका जान एड्भान्स भनेर पन्थीमार्फत कसैसँग दुई लाख र कसैसँग तीन लाख गरी करिब ५० जनाबाट एक करोड १९ लाख ५० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए । त्यसमध्ये ३० लाख उनले सानु भण्डारीको नाममा रहेको हिमालयन बैंकको खाता नं. ०३६०८२२६२३००१६ मा जम्मा गर्न लगाए । कैलाश विकास बैंक, एनसीसी बैंक र माछापुच्छ्र्रे बैंकमा भएका आफ्ना खातामा लम्सालले पटक–पटक गरी ८९ लाख ५० हजार जम्मा गराइदिन लगाएका थिए ।

२०७६ जेठमा लम्सालले पन्थीलाई सुकेधारास्थित दुलालको कोठामा लगे । दुलालले रिजालले दस्तखत गरेका भुटान ह्युमन राइट्स अर्गनाइजेसनको परिचयपत्रको बन्डल दिए । ‘सो कार्डबाट मैले मेरा मान्छेका कार्ड छानेर मोबाइलबाट फोटो खिचेपछि सोको प्रतिहरू निजै केशवप्रसाद दुलालले राखे,’ पन्थीले भनेका छन् । लम्सालले ‘मन्त्री, सचिव सबैसँग कुरा भइसक्यो, अब बायोमेट्रिक गर्नुपर्छ’ भन्दै जनही थप १० लाख तिर्न भनेका थिए । पन्थीले २०७६ साउनको तेस्रो सातातिर लम्सालको निर्देशनअनुसार पशुपतिनाथको डाँडामा कार्डवालाहरूलाई राखी १० लाख रकम जम्मा गर्न सक्नेको मात्र बायोमेट्रिक हुन्छ भनेका थिए । त्यही महिनाको २६ गते लम्साल, भण्डारी र दुलाललगायतले न्युरोड लगी २८ जनाबाट रकम लिएका थिए । तर, लामो समयसम्म काम नभएपछि पन्थीले दुलाल र लम्सालसँग ताकेता गर्न थाले । पन्थीले रकम फसेका अरूलाई समेत बोलाएर टंक गुरुङको ललितपुर झम्सीखेलस्थित रेस्टुरेन्टमा भेटी पैसा मागे ।

‘हामीले दुलालसमेतलाई भेट्ने गरेको टंक गुरुङको रेस्टुरेन्टमा टोपबहादुर रायमाझी, निजका पीए लीला जीसी, दुलाल, भण्डारी, लम्साल, सन्देश शर्मासमेत र गृह मन्त्रालयका कर्मचारी हौं भन्ने मानिससमेत बसी घण्टौं मिटिङ बस्ने गरेको,’ पन्थीले प्रहरीलाई भनेका छन्, ‘मिटिङबाट बाहिर निस्कँदा तपाईंहरूको काम पक्का हुन्छ भन्ने गरेका थिए ।’ त्यसपछि पन्थीले सिधै रायमाझीसँग सम्पर्क बढाउन थाले । ‘एभरेस्ट होटल बानेश्वरको चौथो तलामा एक पटक रायमाझीलाई भेट्दा निजले मलाई कुनै टेन्सन नलिनु काम पक्का हुन्छ भनेको,’ पन्थीले जाहेरीमा उल्लेख गरेका छन्, ‘रायमाझीलाई सांग्रिला होटलमा भेट्दा इन्द्रजित राई र सानु भण्डारी पनि एकै टेबलमा बसेका थिए ।’

त्यसपछि पन्थीलाई गिरोहले २०७७ असोज पहिलो साता जोरपाटीमा बोलायो । त्यहाँको एक रेस्टुरेन्टमा दुलाल, रामबहादुर थापाका छोरा प्रतीक सँगै थिए । सो बेला प्रतीकले ‘तपाईंहरूको काम अब अगाडि बढ्छ, रकम जम्मा गरेर केशव दुलाललाई दिनू’ भनेको पन्थी सम्झन्छन् । उनले चिरञ्जीवी आचार्यमार्फत आएको एक करोड र रामशरण केसीमार्फत आएको डेढ करोड रातो र सेतो रङको जेब्रा झोलामा हालेर नक्सालको नीलगिरि रेस्टुरेन्टमा प्रतीक र दुलाललाई भेट्न पुगे । ‘दुवैले नगद भएको झोला पार्किङमा रहेको कारमा राखिदिनू भनेकाले म र रामशरण केसीले डिक्की खोली राखिदिएको हो,’ पन्थीको बयान छ । तर पनि काम नभएपछि रायमाझीलाई सिधासिधा सोध्ने क्रम बढाएका थिए । त्यसै क्रममा संसद् विघटन भयो । एक दिन पन्थीका अघिल्तिर भण्डारीले रायमाझीलाई काम छिटो अघि बढाउन दबाब दिए । रायमाझीले ‘फेरि हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ’ भन्ने जवाफ दिए ।

काम पनि नहुने र रकम पनि नआउने देखेपछि पन्थीसहित २४ जनाले २०७८ मंसिर २ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इन्द्रजित राईसमेतलाई प्रतिवादी बनाएर उजुरी हाले । त्यसमा प्रमुख आयुक्त प्रेमकुमार राईको समेत नाम जोडिएको छ । उजुरी त्यसै दिन दर्ता भए पनि त्यसबारे कुनै कारबाही अघि बढेन ।

यता, पन्थीलगायत पीडितहरूले भण्डारी र दुलालमाथि दबाब बढाउन थाले । त्यसैक्रममा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गृह मन्त्रालय सम्हाल्न आएका बालकृष्ण खाणको नाम लिएर दुलालले ‘खाण हाम्रै मान्छे हुन्’ भन्दै ‘गृह सचिव टेकनारायण पाण्डेसँग कुरा भइसकेको छ, अब रकम फिर्ता गर्ने होइन अमेरिका पठाउने काम गर्छौं’ भनेर फकाए । उनले पाण्डे र खाणलाई भेटाउन गृह मन्त्रालयमै पन्थीसहितका मानिसलाई निकै पटक लिएर पुगे ।

‘सीडीओलाई कसरी मिलाउने, ४ सय २९ जनाभित्र कसरी मान्छे पार्ने, प्रक्रिया र प्रतिवेदन कसरी मिलाउने जस्ता विषयमा उनीहरूबीच कुरा हुन्थ्यो,’ पन्थीले भनेका छन् । सचिव पाण्डेलाई भेट्न भण्डारी र दुलालसँग जाँदा उनीहरूले मोटो रकम पाण्डेको गाडीमा राखिदिने गरेको पन्थी बताउँछन् । ‘दुलालले सचिव पाण्डेसँग फोन गरी फोन ह्यान्स फ्रिमा राख्ने गरेका थिए,’ पन्थी भन्छन्, ‘त्यसरी कुरा हुँदा पाण्डेले जसरी पनि काम गरिदिन्छु भन्ने गरेका थिए ।’

सचिवले नै त्यसरी कुरा गरेपछि काम हुने विश्वास पन्थीमा पलायो । त्यसपछि उनले बायोमेट्रिकका लागि मोरङको सुन्दर हरैंचास्थित गोकर्ण रिसोर्टमा २०७९ भदौ २९ मा दुलाललाई भेटेर थप १४ लाख र रामशरण केसीले २३ लाख बुझाए । रिसोर्टमै २३ जनाको बायोमेट्रिक गराए । यसरी मान्छे खोजेर ल्याइदिएबापत पन्थी र उनको परिवारलाई अमेरिका जान लाग्ने खर्च नलाग्ने आश्वासन दुलालले दिएका थिए ।

रायमाझी तथा रिजालले प्रत्यक्ष भेटेरै पन्थीलाई आश्वासन दिने गरेका थिए । तर पनि काम हुने छाँट नदेखेपछि पन्थीहरूले योजनाकारमध्येका एक इन्द्रजित राईलाई उनकै कार्यकक्षमा पुगेर हात हाले । राईका सुरक्षा अधिकृत दुर्गाबहादुर रानाका अनुसार भण्डारी, दुलाल र रायमाझी राईको कार्यकक्षमा बरोबर आइरहन्थे । ‘२०७७ साउन/भदौतिर उनीहरूबीच राईकै कार्यालयमा हात हालाहालको स्थिति आएको,’ प्रहरीसँगको बयानमा राईले भनेका छन्, ‘मसमेत गई छुट्याएर भण्डारी, दुलाल र रायमाझीलाई कार्यकक्ष बाहिर लगेको हो । त्यतिबेला राईले अबदेखि यिनीहरूलाई भित्र पस्न नदिनू भन्ने आदेश दिएका थिए ।’

दुलाल र भण्डारीको खटपट राईसँग परे पनि त्यसलाई थामथुम पार्दै रायमाझीले पन्थीहरूलाई ढाडस दिएर थप रकम उठाउने काम गरे । त्यसलाई थप विश्वासिलो बनाउन परेका बेला भेटेर र नक्कली कागजात जुटाउन सहयोग गरेर रिजाल पनि ठगी तथा मानव तस्करीको धन्धामा लागिरहे ।

शेरबहादुर देउवा सरकारमा आएपछि गृहमन्त्री भएका खाण र गृह सचिव बनाइएका पाण्डेले पनि उही क्रम जारी राखे । तर, भण्डारी र दुलालहरूलाई पन्थीसहितका पीडितले विश्वास गरिरहन सकेनन् ।

पन्थीको उजुरीपछि पक्राउ परेका भण्डारीले प्रारम्भिक बयानमै टोपबहादुर रायमाझीलाई २ करोड दिएको पोल खोले । ‘सो रकममध्ये केही निजको छोरा सन्दीपको बैंक खातामा समेत पठाइदिएको’ उनले भनेका छन् । प्रहरीले भण्डारीको ललितपुर महानगरपालिका–४ स्थित घरमा गत वैशाख ६ मा खानतलासी गर्दा ‘नबिल बैंक’ लेखिएको हरियो र रातो रङमिश्रित डायरी फेला पार्‍यो । जसले उच्चपदस्थहरूको डरलाग्दो संलग्नतालाई एकपछि अर्को गर्दै उजागर गरिदियो ।

डायरीको पाना २९ मा ‘सन्दीप रायमाझी भाइलाई दिएको रकम विवरण’ शीर्षक छ । त्यसमा २०७४ वैशाख ४ देखि त्यसै वर्षको चैत ३० सम्म पटकपटक गरी ६९ लाख ६५ हजार ५ सय रुपैयाँ दिएको उल्लेख छ । अर्को पानामा ‘टोपबहादुर मामालाई दिएको विवरण’ मा २०७३ चैत १० देखि २०७४ जेठ १० सम्म ३ पटक गरी ५ लाख ४५ हजार दिएको उल्लेख छ । अर्को पानामा ‘भुटानी शरणार्थी रकमबाट खर्च भएको विवरण’ शीर्षकमा २०७६ असार १९ गते ‘सन्दीप भाइलाई दिएको’ भनी २० लाख रुपैयाँ उल्लेख छ । त्यसै शीर्षकअन्तर्गत सन्दीपलाई पैसा दिएको भोलिपल्ट ‘टोप मामालाई नगद दिएको पाँच लाख’ लेखिएको छ । त्यसको ८ दिनपछि ‘टोप मामालाई’ थप तीन लाख दिएको देखिन्छ ।

डायरीको अर्को पानामा इन्द्रजित राई र उनका छोरा नीरजलाई दिएको रकमको विवरण छ । जसअनुसार भण्डारीले २०७६ असार २ गते नीरजलाई ५० लाख र २३ गते ३५ लाख दिएको देखिन्छ । अर्को पानामा ‘नीरज सरलाई फेरि नगद दिएको’ र ‘इन्द्रजित सरलाई ६५ लाख दिएको’ भण्डारीले टिपोट गरेका छन् । त्यस्तै, दुलालको मोबाइलमा प्रहरीले पाण्डेसँग भाइबरमा गरेको कुराकानीको विवरणबाट थप प्रमाण फेला पार्‍यो । ‘आरसीयूले बेलडाँगी क्याम्पमा सिन्धुपाल्चोकतिरका मान्छेहरूको फोटो खिचेको छ, बुझ्नुपर्‍यो हजुर’ भनेर पाण्डेलाई म्यासेज पठाएको देखिन्छ जसमा उनले ‘हस्’ भनेर जवाफ दिएका छन् ।

मोबाइलमा यो प्रकरणका अनेक फोन कल, म्यासेज र कल रेकर्डिङ फेला पर्दै गयो । एउटा रेकर्डिङमा ‘प्रेम राई, बादल, टोपबहादुर रायमाझीलाई ५ करोड दिएको, मिलाएर १ हजार ६ सय २९ जनाको फाइल पास गराउनुपर्छ । यो कुरा बाहिर आयो भने बर्बाद हुन्छ । दुलालको दुक्की तिर्की मान्छेहरू यसमा छन् । यो प्रोजेक्ट जसरी नि पास गर्नुपर्छ । यो सबै काम मैले गर्ने हो, मबाहेक कसैले पनि सक्दैन,’ भनिएको छ । त्यस्तै, ‘टोप मामा’ नाम भएको अडियो फाइलमा ‘भट्टराई भाइ, सम्पूर्ण रकम बुझिलिएँ’ भनेको सुनिन्छ । यो टोपबहादुरकै आवाज भएको प्रहरीको जिकिर छ । उनको मोबाइलमा पाण्डेसँग भएको हिसाबकिताबका स्क्रिन सट र कुराकानीका थप विवरण पनि प्रहरीले फेला पारेको छ ।

अभियोगपत्रमा प्रहरीले सबभन्दा माथिल्लो पंक्तिमा सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापा बसेर राज्यविरुद्धको अपराधको योजना बुनेको जिकिर गरिएको छ । त्यसलाई कार्यान्वयन गर्न सन्देश शर्मा, आङटावा शेर्पा, नीरज राई, टंककुमार गुरुङ र सागर राई सक्रिय रहेको उल्लेख छ । त्यस्तै, यो राज्यविरुद्धको अपराधमा भएको षड्यन्त्रलाई नीतिगत रूपमा प्रभाव पार्न कार्यदल बनाउने काममा टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, नरेन्द्र केसी, टेकनाथ रिजाल र शमशेर मियाँ संलग्न भएको प्रहरी निष्कर्ष छ ।

यति ठूलो संगठित मानव तस्करी र राज्यविरुद्धको अपराधमा संलग्न उच्चपदस्थ यी मात्रै हुन् कि त्योभन्दा माथि पनि अरू कोही छ ? राज्यले अनुसन्धानको पाटो जारी राख्नुपर्नेछ ।

प्रकाशित : जेष्ठ १४, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?