असावधानीले चुँडिन्छन् कोपिला

डुबेर मृत्यु भएका १५ सय घटनामा २० वर्षभन्दा कम उमेरका मात्रै ५२.७ प्रतिशत
विश्वमा सबैभन्दा बढी १–४ वर्षका र ५–९ वर्षका बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ
विद्या राई

काठमाडौँ — डोजरले काटेको सडकका कारण पानीको कुलो भत्किएपछि बझाङ तलकोटका गाउँलेको खेतबारीमा सिँचाइ बन्द भयो । समस्या समाधानका लागि गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सिँचाइ पोखरी बनाइदिए ।

असावधानीले चुँडिन्छन् कोपिला

बर्खाको आकाशे पानी डम्म जमेपछि अब बालीनाली हराभरा बन्छ भन्नेमा गाउँले दंग थिए । पोखरी बन्दै गरेकाले तारबार भने गरिएको थिएन ।

२०७७ साउन ४ को साँझ त्यही पोखरीमा पौडी खेल्न गएका थिए, रुपेशबहादुर रोकायका छोरा ९ वर्षीय सुमन र छिमेकीका छोरा ८ वर्षीय सर्जन रोकाया । पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल लैजाँदै थिए, बाटैमा मृत्यु भयो । हाल तलकोट गाउँपालिका–३ का अध्यक्षसमेत रहेका रोकाय पोखरी बनाउनेको लापरबाहीले गर्दा छोरो गुमाउन पुगेको बताउँछन् । ‘अन्त पानीको स्रोत भए यो हालत हुन्थेन कि ∕ यही सिँचाइ प्रयोग गर्नुपर्छ, अन्त पानी नभएपछि के गर्नु ?’ उनले भने ।

पानीका मुहान सुक्न थालेपछि सिँचाइ र खानेपानीका लागि स्रोत बढाउन स्थानीय सरकारको नेतृत्वमा फाल्तु पानी र आकाशे पानी संकलन गर्न कृत्रिम पोखरी बनाउने क्रम बढेको छ । तर व्यवस्थित तारबार नलगाउने र असावधानीले गर्दा यस्ता पोखरीमा बढीजसो बालबालिकाले ज्यान गुमाइरहेका छन् । २०७७ मंसिर २८ मा तेह्रथुमको छथर गाउँपालिका–६ सुदाप च्याङलुङ गाउँमा कृत्रिम पोखरीमा डुबेर तीन बालिकाले ज्यान गुमाए । तरकारीमा सिँचाइका निम्ति बनाइएको प्लास्टिक पोखरीमा डुबेर ६, ७ र ८ वर्षका बालिकाको मृत्यु भएको थियो । ०७९ चैत पहिलो साता काठमाडौंको तारकेश्वरमा घरछेउ शौचालयमा राखिएको ड्रमको पानीमा डुबेर अर्का एक वर्षीय बालकको मृत्यु भयो ।

पानीमा डुबेर हुने मृत्युसम्बन्धी अनुसन्धान गरेकी भगवती सेढाईं पानीको अभाव र तापक्रम वृद्धिले यस्ता घटना बढिरहेको बताउँछिन् । ‘जलवायु परिवर्तनले पानीका मुहान सुक्दै छन्, ठूला भाँडामा पानी जम्मा गर्ने, राम्ररी नछोप्ने गर्दा त्यसैमा बच्चा डुब्ने गरेका छन्,’ उनले भनिन्, ‘धारामा पानी नआउने भएपछि आमासँगै खोला गएका बच्चा पानीमा खेल्दाखेल्दै डुबेर मर्ने घटना पनि छन् ।’

०७५ साउनमा सेढाईं र बालबालिकामा हुने चोटपटक रोकथामबारे पुष्पराज पन्तले गरेको अनुसन्धानले नेपालमा डुबेर मृत्यु हुने बालबालिका उच्च जोखिममा रहेको देखाएको छ । ‘नेपालमा डुबेर मृत्यु हुने अवस्था’ मा आधारित अनुसन्धानमा तीन वर्ष सन् २०१३ देखि २०१५ सम्ममा १ हजार ५ सय ७ घटनाको विश्लेषण गरिएको छ । त्यसमा २० वर्ष मुनिकाको डुबेर मृत्यु हुने प्रतिशत ५२.७ छ । अनुसन्धाताद्वयले बाढी, पहिरोजस्ता विपद्मा परेर मृत्यु भएकाको विवरण उल्लेख गरेका छैनन् । ‘ती विपद् भनेको रोकथाम गर्न अलि गाह्रो हुने खालका हुन्, जर्नलको अनुसन्धानको विषय चाहिँ सचेतना जगाउनका लागि छनोट गरिएको हो,’ सेढार्इंले भनिन् । अध्ययनले देशभर सबैभन्दा बढी ४६.४ प्रतिशत तराईमा डुबेर मृत्यु हुने देखाएको थियो । बच्चा खेल्दै जाँदा कुलो, नहर, पोखरी र इनारमा परेर पर्ने गरेका छन् । इनारको बिर्को लगाइदिन, जम्मा गरेको पानीको भाँडो राम्ररी छोप्न र पोखरीमा बार लगाउन सेढाईंले सुझाव दिइन् । नेपालमा हरेक वर्ष सरदर ४/५ सय जनाको डुबेरै मृत्यु हुने गरे पनि राम्ररी अध्ययन नभएको उनको भनाइ छ ।

नेपालमा उपलब्ध तथ्यांकले डुबेर मृत्यु हुने २० प्रतिशतजति १० वर्षमुनिका बालबालिका देखाएको अर्का अनुसन्धाता पन्तले बताए । ‘सञ्चारमाध्यमका अनुसार ७ वर्षमा ३४ जना शिशु र पाँच वर्षका बालबालिकाले बाल्टिनजस्ता भाँडामा राखिएको पानीमा डुबेर ज्यान गुमाएका छन्,’ उनले भने, ‘रेखदेखमा कमी र जोखिमको पूर्वानुमान नहुँदा यस्ता घटना भइरहेका छन् ।’ उनका अनुसार डुबेपछि बच्चा आफैं निस्कन सक्दैनन् । थाहा पाएर उद्धार स्थलसम्म पुग्दा ढिला भइसकेको हुन्छ । उपचारका लागि लैजाँदालैजाँदै वा उपचार गर्दागर्दै मृत्यु भइसक्छ । उपचार पाइहाले पनि बालमस्तिष्कमा परेको चोटपटकले जीवनभर मानसिक तथा शारीरिक असर देखाउँछ । यसकारण घटना हुनै नदिनु उत्तम उपाय भएको उनी सुझाउँछन् ।

संसारभर सबैभन्दा बढी १–४ वर्षका र यसपछि ५–९ वर्षका बालबालिकाको डुबेर मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले जनाएको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को चैत २६ गतेसम्म डुबेर मृत्यु हुने बालबालिकामा सबैभन्दा कम उमेर तीन महिनादेखि १२ वर्षसम्मका ८ सय ५९ जना छ । जसमा डुबेर मृत्यु हुने ९ वर्ष र सोभन्दा मुनिका बालबालिकाको संख्या मात्रै ६ सय ६९ जना छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशमा यो दर ९ वर्ष र सोभन्दा मुनिका सबै भन्दा बढी क्रमशः २ सय जना र १ सय ७५ जना छ ।

विश्वमा हरेक वर्ष लगभग २ लाख ३६ हजारको डुबेर मृत्यु हुने गरेको छ । नेपालमा भने यसबारे पर्याप्त अध्ययन छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्का भने आफूहरूले जनचेतना प्रवाहका विभिन्न कार्यक्रम गरिरहेको बताउँछन् । ‘आगलागीको सिजन आएपछि सलाई, लाइटर, ग्यास केटाकेटीले नभेट्ने ठाउँमा राखौं भनेर चेतनामूलक सन्देश प्रवाह गरिरहेका हुन्छौं,’ उनले भने, ‘सामान्य असावधानीले ड्रममा डुबेर वा खाल्डामा परेर ज्यान जाने गर्छ । यस्ता घटना हुन नदिन आम नागरिक सचेत हुन जरुरी छ ।’

राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेल भौतिक संरचना निर्माणमा सावधानी नअपनाउँदा वा उत्तरदायित्व नलिइँदा यसको क्षति अबोध बालबालिकामा परिरहेको बताउँछन् । ‘हानिनोक्सानी, जोखिम, असुरक्षाबाट जोगाउनु, बालबालिकाको संरक्षण गर्नु राज्यको दायित्व हो तर नीतिगत व्यवस्था कार्यान्वयनको अपर्याप्तता छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १८, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?