कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

एमालेले गर्‍यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

एमालेले गर्‍यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

मंगलबार भएको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता भएका हुन् ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

'राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो,' विज्ञप्तिमा भनिएको छ, 'उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भिरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।'

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।

निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि रायमाझीको विषयमा निर्णय लिन एमालेमाथि दबाब पर्दै आएको छ ।

आरोपित रायमाझीलाई भने नभेटिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए ।

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गएभन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २७, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?