पूर्वगृहमन्त्री खाँणका निजी सचिव केसी पनि पक्राउ

वैशाख २७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो ।

पक्राउ परेका खाँण र केसीलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकु पुर्‍याएको छ । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि प्रहरीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । 

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिवको समेत नाम लिएका थिए । आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

केसी खाँण गृहमन्त्री हुँदा निजी सचिव थिए । 

कान्तिपुर

Link copied successfully