काठमाडौँ — नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले रायमाझीले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार छन् । तर अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
‘त्यसमा हामीले लामो छलफल गरिराख्न परेन । नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरू खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ,’ गुरुङले भने ।
प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए ।
तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गएभन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।
यसैगरी बैठकले यही वैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेन्डाहरू पनि तय गरेको छ । भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमहरुसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नेछन् ।
त्यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरूले वार्षिक कार्ययोजना बनाउने छ । हालसम्म केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयहरु पनि बैठकले अनुमोदन गर्ने एजेन्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
सम्बन्धित समाचार
