काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरुसँग अपिल गर्न चाहन्छु ।’
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’
प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सम्झौता हुने स्थिति रहेको बताए ।
महाभारत खानीखोलाजस्ता गाउँले क्रान्ति र परिवर्तनमा ठूलो भूमिका खेलेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने, 'महाभारत र खानीखोलाजस्ता विकट गाउँहरू क्रान्ति र परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको क्षेत्र भएको नाताले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने अधिकार यही क्षेत्रको हो । यो क्षेत्रमा तपाईंहरुले पनि आफ्ना विकासप्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म सबै धेरै पटक आएँ ।'
