कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

पुस्ता जोड्दै नेपथ्य

नारायण खड्का

अस्ट्रेलिया — आफ्नै लय, ताल र प्रस्तुति । खासगरी देश, प्रकृति र जीवनबारेका सन्देश । यही शैली पछ्याउँदै पाकादेखि तन्नेरी पुस्ता जोड्न सफल छ, ‘नेपथ्य’ । खासगरी कन्सर्टका क्रममा देखिने ऊर्जाले युवालाई आकर्षित मात्र गर्दैन, तताउँछ पनि ।

पुस्ता जोड्दै नेपथ्य

सांगीतिक कार्यक्रमका लागि पछिल्लो समय अस्ट्रेलियामा रहेको नेपथ्यको क्रेज युवापुस्तामा पनि बढ्दो छ ।

छैटौं कार्यक्रमका लागि केही दिनअघि अस्ट्रेलिया आइपुगेको नेपथ्यले चार सहरमा आफ्नो प्रस्तुति दिइसकेको छ । उसका हरेक कन्सर्टमा युवाको क्रेज भने हेर्न लायक हुन्छ । अधिकांश सहरमा कार्यक्रमको टिकट नै ‘प्रि–सेल’ भएको थियो । अस्ट्रेलियामा भएका कार्यक्रम हेर्दा लाग्छ– नेपथ्य मात्र त्यस्तो ब्यान्ड हो, जसले हजुरबुबादेखि नातिसम्मको जेनेरेसनलाई संगीतमा बाँधिदिएको छ । नेपथ्यका हरेक कन्सर्टमा रमाउने अधिकतम स्रोतादर्शक भने नेपालबाट आएका युवा विद्यार्थी हुन्छन् ।

यसको खास कारण हो, ब्यान्डको समयसापेक्ष गीत, युग सुहाउँदो संगीत र दर्शकअनुसारको प्रस्तुति । ‘संगीत सिर्जना र प्रस्तुत गर्ने क्रममा समयानुकूल गायकसमेत परिस्कृत र परिमार्जित हुनुपर्छ,’ एडिलेडको आसपासका प्राकृतिक वातावरणमा दुई घण्टा पैदल हिँडेपछिको भेटमा नेपथ्यका लिड गायक अमृत गुरुङले कान्तिपुरसँग भने ।

गायन र प्रस्तुति जति दमदार छ, त्यति नै सरल स्वभावका छन् उनी । भेटघाटका लागि निर्धारण गरिएको समयभन्दा ४ मिनेट मात्र ढिलो आइपुगेका उनले क्षमायाचनाबाट कुराकानी सुर गरे । ‘याक–टु–ब्याक’ कन्सर्ट दिइरहेका उनको मुहारमा थकानको कुनै छनक देखिँदैनथ्यो । भन्छन्, ‘हाम्रो हरेक चाहना, इच्छा र कोसिस नै सबै उमेर तथा जेनेरेसनका स्रोतालाई बराबर मनोरन्जन दिनमै केन्द्रित छ ।’ आफ्नो संगीतले तीनपुस्ताका दर्शकस्रोतालाई समेट्न सकेकोमा उनी गर्व गर्छन् । ‘कुनै जेनेरेसनका लागि लक्षित गर्नेभन्दा पनि आफ्नोपन र मनदेखि गरियो भने संगीत सबैले मन पराउने बन्दो रहेछ,’ उनले आफ्नो अनुभव सुनाए ।

गुरुङ सांगीतिक प्रस्तुतिका लागि आफ्नो टोलीसहित अस्ट्रेलिया आएको यो छैटौं पटक हो तर पनि उनी हरेक पटक नयाँपन पाउँछन् । दर्शकको माया त छँदै छ, प्रकृतिमा समेत आफ्नोपन पाउन थालेको बताउँछन् गुरुङ । ‘फुर्सदमा गाउँघरमा डुलेर रमाउने, लय र संगीत बटुल्ने मान्छे भएकाले पनि होला मलाई हरेक प्रकृति प्यारो लाग्छ ।’


नेपालका ७७ वटै जिल्लाका सयौं गाउँ र हरेक कुनाकन्दरामा पुगेर संगीत बटुल्नेमध्येका एक हुन् गुरुङ । त्यसैले पनि उनले काठमाडौंजस्ता सहरमात्र नभएर गाउँगाउँमा देखिएको असन्तुष्टिलाई प्रत्यक्ष अनुभव गरेका छन् । त्यसैले पनि उनी समयसमयमा प्रयोगात्मक संगीत सिर्जना गरिरहेका हुन्छन् । उनले हालै निकालेको ‘भटभटे’ समेत त्यसैको उपज हो । ‘अहिले देखिएको सदन र सडक नै यही गीतजस्तो छ,’ उनी भन्छन् । जसरी भटभटे अनियन्त्रित र अव्यवस्थित छ, हाम्रो संसद् र सडक नै यस्तै भएको र यसले वर्तमानमा देखिएको उपेक्षा र निराशालाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ । आफूले सकभर गीतसंगीतमार्फत सकारात्मकता फैलाउने र देशको वस्तुस्थिति देखाउने प्रयास गरेको उनको दाबी छ । ‘संगीत सिर्जनाको लामो समयसम्ममा हामीले जे गर्‍यौं र गरिरहेका छौं, त्यसले जनतालाई एकअर्कासँग बाँध्ने काम गरेको जस्तो लाग्छ,’ उनले भने ।

अस्ट्रेलियामा कन्सर्ट गर्नुअघि नेपालमा ‘मानवताका लागि संगीत’ नामक देशव्यापी कार्यक्रम सकेको थियो, नेपथ्यले । आफ्नो देशका अधिकांश सहर पुगेको ताजा अनुभवलाई समेत नेपथ्यले यहाँको कन्सर्टमा भरपूर प्रयोग गरेको छ । संगीतमात्र नभएर जीवनमा जे गर्दा पनि समयानुकूल गर्नुपर्ने आफ्नो उद्देश्यका कारणसमेत संगीतलाई अहिलेसम्म एकनासले अघि ल्याउन सफल भएको नेपथ्यको ठम्याइ छ । ‘गीतसंगीत, बाजा र स्वरको संगम मात्र नभएर यसमा आफ्नोपनासमेत हुन आवश्यक हुन्छ,’ गुरुङले भने, ‘संगीतलाई यात्रा, भ्रमण र प्राकृतिक वातावरणसँगको सम्बन्धले समेत परिष्कृत गर्ने गर्छ ।’ आफू पर्यावरण र भौगोलिकतासँग अत्यन्तै नजिक रहेका कारण संगीतमा पनि त्यही अनुभव मिसिने गरेको गुरुङ बताउँछन् ।


कन्सर्टका क्रममा गुरुङ दर्शकलाई सधैं नेपाल जान, आफ्नो गाउँघरतिर डुल्न र प्रकृतिसँग रमाउन आग्रह पनि गर्छन् । खासगरी युवा तथा अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो भाषा र संस्कृति जीवित राख्न अनुरोध गर्छन् । आखिर किन त ? ‘भाषाले एकआपसमा जोड्ने काम गर्छ भने भ्रमण र प्रकृतिले मानिसलाई जीवनको वास्तविक अर्थ बताउँछ,’ उनी प्रस्ट पार्छन् । योसँगै युवालाई आफ्नो जीवन आफ्नो किसिमले बाँच्न सल्लाह पनि दिन्छन् उनी । आफ्ना सपना बच्चाले पूरा गरिदिउन् भन्ने सोच राख्न नहुने उनको बुझाइ छ ।

नेपथ्यले यस पटकको अस्ट्रेलियामा अन्य समयको तुलनामा धेरै युवा दर्शकमात्र पाएन कि कन्सर्ट भएका हरेक हल हाउसफुल भएका थिए । डार्बिन र एडिलेडजस्ता थोरै नेपालीहरू बसोबास गर्ने स्थानमा समेत एक हजार बढी दर्शक आउनु नेपाली संगीतकर्मीका लागि सुखद सन्देश हो । एडिलेडमा भएको कार्यक्रममा त अहिलेसम्मकै धेरै करिब १५ सय दर्शक सहभागी भएका आयोजक गिरीश इभेन्टका गगन गिरीले बताए । अघिल्लो वर्षसमेत आफैंले नेपथ्यको कन्सर्ट गराएका उनले यसवर्ष दर्शकमा देखिएको थप ऊर्जा र क्रेज नेपाली संगीतका लागि सकारात्मक भएको बताए । ‘हामीले गुणस्तरीय र नेपालीपनलाई छुने संगीत प्रस्तुत गर्ने हो भने दर्शक पाउनु ठूलो कुरा रहेनछ,’ उनको अनुभव छ ।


नेपथ्य अस्ट्रेलियाको जुन कुना वा सहरमा पुग्छ, त्यही अविरल माया पाउँछ । गुरुङ मात्र नभएर सांगीतिक टोलीमा रहेका १३ जना सदस्य नै नेपथ्यले अस्ट्रेलियामा पाएको माया देखेर दंग छन् । ‘सायद यही माया, प्रेम र सम्मानले नै हुनुपर्छ विदेशमा समेत नेपाली कला, संस्कृति, संगीत र परम्परा अझै उत्तिकै जीवित र सग्लो छ,’ ब्यान्डका सदस्यहरू भन्छन् ।

३३ वर्षअघि संगीत सुरु गरेको नेपथ्यले आफ्ना बाबुआमाबाट लुकेर संगीतमा लाग्नुपर्ने वा गीत गाउनुपर्ने बाध्यतामा रहेका युवालाई मुक्त गरिदिएको थियो । जसका कारणसमेत नेपाली संगीतमा युवाहरूको सक्रियता बढेको मानिन्छ ।

तीन दशकभन्दा लामो समयमा नेपाली सांगीतिक दुनियाँमा धेरै गायक, गायिका र संगीतकर्मी जन्मिए । तीमध्ये कतिपय सफलताको चुचुरोमा पुगेर बिलाए, कतिपय विदेश पलायन भए । तर नेपथ्यको सांगीतिक यात्रा देशमा मात्र हैन, विदेशमा समेत फैलिँदो छ, उही लय, ताल र उचाइमा ।

प्रकाशित : माघ २५, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?