फुड ब्लगिङ करिअरसँगै व्यवसाय


काठमाडौँ — कोभिड महामारीका कारण देशव्यापी लकडाउन गरिएपछि फुड ब्लगर अभिषेक रिमालले टिमुर–आलुको रेसिपी पोस्ट गरे । होटल म्यानेजमेन्ट पढेका उनलाई अप्रत्याशित रूपमा कमेन्ट आयो । दैनिक सयवटासम्म परिकारका फोटो र भिडियो फलोअर्सले उनलाई पठाए ।

टिमुर आलुको रेसिपीले पाएको प्रतिक्रियाले हौसिएका उनी त्यसपछि झनै राम्रा रेसिपी दिन थाले । ‘यो नै मेरो सबैभन्दा भाइरल भएको परिकार हो । भोइस ओभर धेरैले मनपराइदिनुभएको छ,’ उनी भन्छन् ।
२६ वर्षीय अभिषेकले सन् २०१७ बाट फुड ब्लगिङ सुरु गरेका हुन् । केही खानेकुरा खाए फोटो खिचिहाल्नुपर्ने बानीले सुरुमा उनले इन्स्टाग्राममा पोस्ट गर्ने सोच बनाएका थिए । नाम जुर्यो ‘फुड्स डट नेपाल’, जसलाई हाल एक लाखभन्दा बढीले पछ्याइरहेका छन् । हाल उनका रेसिपी भिडियोमा राम्रै भ्युज आइरहेको हुन्छ । ‘मेरो मुख्य उद्देश्य पकाउन गाह्रो मान्नेलाई सजिलो तरिकाले रेसिपी बनाएर देखाउने हो । यदि कोही ब्लगिङमा रुचि राख्छन् भने कन्टेन्टमा ध्यान दिन आवश्यक छ,’ उनी भन्छन्, ‘जबर्जस्ती फलोअर्स बढाउँछु भनेर लाग्यो भने काम छैन, काममा रमाउनुपर्यो, डेडिकेसन चाहियो ।’
‘युवाले करिअर बनाउने अवसर पाएका छन् भने रेस्टुरेन्टलाई पनि फाइदा नै भएको छ’ : सन्तोष साह (मास्टर सेफ)
‘लिल फुडी’ भनेर चिनिने १९ वर्षीया सारिका न्यौपाने पनि नयाँ परिकार खान र पकाउन निकै मन पराउँछिन् । कक्षा १० सकिएपछि रहरै रहरमा उनले फुड ब्लगिङ थालेकी हुन् । आफूले खाएका खानेकुराको फोटो पोस्ट गर्दै जाँदा बिस्तारै फलोअर्सको इन्गेजमेन्ट बढ्दै गयो । फुड ब्लगिङ र पढाइलाई सँगसँगै लग्दा समय मिलाउन गाह्रो भइरहे पनि निरन्तरता दिइरहेको उनले बताइन् । उनका अनुसार ब्लगिङमा धेरैले चासो र सिको गरिरहेका हुन्छन् तर राम्रो फोटो तथा भिडियोका लागि मिहिनेत निकै पर्छ ।
इटहरीकी २१ वर्षीया सजिना राई कलिनेरी आर्टस पढ्दै छिन् । आफूलाई ‘होम कुक’ भन्न रुचाउने उनले लडकाउनका बेला ब्लगिङ सुरु गरेकी हुन् । नेपालको मौलिक खाना पकाउन र सिकाउनका लागि पेज सुरु गरेको उनको भनाइ छ । इन्स्टाग्राममा ‘सजु फुड डायरी’ पेज खोलेकी उनका विशेषगरी पोर्क तथा भेज रेसिपी रुचाइएका छन् । कुनै बेला सम्झनाका लागि मात्र खानेकुराका फोटो खिच्ने उनी अब अरूलाई खानेकुरा बनाउन सिकाउँछिन् । ‘भविष्यमा सीमित विशेष परिकार मात्र समेटेर रेस्टुरेन्ट खोल्ने सोच छ,’ उनले भनिन् ।
तपाईं पनि खानाको सौखिन हुनुहुन्छ भने सामाजिक सञ्जालमा फुडसम्बन्धी पेज पक्कै पछ्याउनुभएको होला । त्यसका लागि इन्टरनेट प्रयोगकर्ताले सबैभन्दा धेरै रुचाएको प्लेटफर्म हो, इन्स्टागाम्र । इन्स्टाग्राममा नेपालीहरूले फुडसम्बन्धी सयौं पेज बनाएका छन् । पछिल्लो समय व्यावसायिक रूपमै फुड ब्लगिङमा लाग्ने युवाको संख्या बढिरहेको छ ।
जसरी धेरै रेस्टुरेन्ट तथा खाने ठाउँ खुल्दै गएका छन्, त्यसरी नै ग्राहकहरू ‘कहाँ मिठो खाने’ भनेर अन्योलमा पर्न सक्छन् । घुम्न गएको नयाँ ठाउँमा त्यहाँको विशेष परिकार खोज्नेहरू पनि छन् । तिनका लािग फुड ब्लगरहरूले निकै सहयोग गरेको बताउँछन्, ‘नेपाल डट फुड’का सिद्धार्थ घिमिरे । नेपालको पहिलो फुड ब्लगर भनेर चिनिने उनी इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका फुड ब्लगर हुन् । उनीसँग करिब ३ लाख फलोअर्स छन् । ‘नेपालको हरेक ठाउँका खानाको आफ्नै विशेषता छ, जसलाई फुड ब्लगरले चिनाइरहेका छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय फुड ब्लगरको भिडियो हेर्ने जमात पनि बढ्दो छ ।’
आफ्नो रुचिले फुड ब्लगिङमा हात हालेका धेरैले करिअरकै रूपमा पनि यसलाई अघि बढाएका छन् । हाल विभिन्न रेस्टुरेन्ट तथा ब्रान्डले प्रमोसनका लागि पनि फुड ब्लगरलाई अप्रोच गर्छन् । फलोअर्स तथा इन्गेजमेन्टका आधारमा पेड प्रमोसनको अफर आउने एक फुड ब्लगरको भनाइ छ । एक फुड ब्लगरले सामान्यतः १५ हजारसम्म र अधिकतम ५० हजारदेखि १ लाखसम्म पेड प्रमोसनबाट कमाउँछन् ।
फुड ब्लगर सिद्धार्थका अनुसार राम्रो मिहिनेत गर्ने हो भने नेपालमा यसको भविष्य पनि राम्रो छ । ‘अहिले कति धेरै नयाँ रेस्टुरेन्ट खुलिरहेका छन् । विदेशमा बसेर आएकाहरूले यसमा राम्रो लगानी गरिरहेका छन्,’ उनी भन्छन्, ‘फुल टाइम नै यसमा करिअर बनाउन सक्छन् ।’ विदेशमा फुड ब्लगरहरूको राम्रो करिअर बनिरहेको अवस्थामा नेपालमा पनि उनीहरू व्यावसायिक बन्दै गएको उनले बताए । तर, यसका लागि कन्टेन्ट र प्रस्तुति एकदम फरक हुनुपर्ने उनको अनुभव छ ।
खानेकुराको प्रवर्द्धन र रेस्टुरेन्ट व्यवसायको सफलतामा पनि ब्लगरले टेवा पुर्याएको सिद्धार्थको बुझाइ छ । भन्छन्, ‘विदेशीहरूले हामी ब्लगरहरूकै भिडियो हेरेर खान गइरहेका हुन्छन् । देशैभर फुड ब्लगर बढेका छन् । उनीहरूले आफ्नो ठाउँको खाना चिनाएका छन् ।’ नेपालमा विदेशी पर्यटक आउँदा कतिपयले उनलाई सम्पर्क गरी राम्रो खाने ठाउँको खोजी गर्छन् । मिठो तथा मौलिक खाना पाउने ठाउँको लिस्ट बनाएको र त्यसका आधारमा सिफारिस गर्ने गरेको उनको भनाइ छ । फोटो तथा भिडियो खिच्न र एडिट गर्न ४ जना मान्छे राखेका उनले छिट्टै फुड शोको तयारीसमेत गरेका छन् । जसमा नेपालका विभिन्न ठाउँमा गएर कुकहरूको अडिसन लिइने र विजेतालाई रेस्टुरेन्ट नै खोल्दिने योजना रहेको उनले सुनाए ।
त्यसो त फुड ब्लगरले गर्ने सिफारिसमा प्रश्न पनि उठ्ने गरेको छ । फ्रिमै खाने अनि पैसा पनि पाउने भएकाले फेक रिभ्यु दिएको र आफूहरू खान जाँदा त्यस्तो नपाउने गुनासो कतिपय ग्राहकले गर्छन् । ‘उनीहरू फुड क्रिटिक होइनन्, किन रिभ्यु दिनुपर्ने ?’ एक ग्राहकले भने ।
यस्ता प्रश्नमा लिल फुडीकी सारिका पेड प्रोमसनबाट पैसा लिनु भनेको आफ्नो दुःखको पैसा लिएको जवाफ दिन्छिन् । फोटो हेर्दा नै खाउँखाउँ लाग्ने देखाउन र एडिटिंगमा निकै मिहिनेत पर्ने उनको भनाइ छ । ‘हामीले कस्तो लाग्यो भन्ने आधारमा नै रिभ्यु दिने हो । फोटो तथा भिडियो एडिटमा मिहिनेत लाग्छ । त्यसको बापत थोरै लिने हो,’ उनी भन्छिन् ।
नेपाल डट फुडका सिद्धार्थ फुड ब्लगरहरूले जहाँ जाँदा पनि फ्रिमै खान खोज्छन् भन्ने आफूहरूलाई लाग्ने आरोपमा सत्य नभएको बताए । ‘रेस्टुरेन्टहरूले पनि स्ट्रगल गर्दै आइरहेका हुन्छन् । ठूला ब्रान्डले राम्रो अप्रोच गर्न सक्लान् । हामीले मन लागेको खानेकुरा पैसा तिरेर नै खान्छौं । बोलाएर मात्र खान जाने होइन,’ उनले भने ।
फेक रिभ्यु गर्नुपर्ने भएर हाल पेड प्रोमसनभन्दा घरमै पकाएका रेसिपी देखाइरहेको बताउँछिन्, सजु फुड डायरीकी सजिना । ‘कुनै सानो रेस्टुरेन्ट छ भने म पैसा नलिकन पनि रिभ्यु गर्दिन्छु, उनीहरूलाई सपोर्ट हुन्छ,’ उनी भन्छिन्, ‘पैसा लिएर गरेको रिभ्युमा नराम्रोलाई पनि राम्रो भन्नुपर्ने हुन्छ ।’
मास्टर सेफ सन्तोष साह भने फुड ब्लगिङमा युवाको क्रेजलार्ई सकारात्मक मान्छन् । विभिन्न नयाँ विभिन्न परिकारको प्रवर्द्धन गर्न उनीहरूले सहयोग गरिरहेको सन्तोषको बुझाइ छ । ‘उनीहरूले मौलिक खाना प्रवर्द्धनमा सकारात्मक काम गरेका छन्, खाने संस्कृति सिकाएका छन्,’ उनले भने, ‘उनीहरूले करिअर बनाउने अवसर पाएका छन् भने रेस्टुरेन्टलाई पनि फाइदा भएको छ ।’
प्रकाशित : माघ २४, २०७९ ११:२०