समाज बदल्न जुटेका कर्णालीका ‘हीरा’


सुर्खेत‚ मुगु — मुगु सदरमुकाम गमगढीस्थित माथिल्लो बजारमा दुईतले नीलो रङको घर छ । घरको भुइँतलामा सधैंजसो अनेक थरीका आवाज गुन्जिरहन्छन् । कहिले गीत, कविता त कहिले स्थानीय भाकामा देउडा । हरेक साता अनौठा र चाखलाग्दा संवाद सुनिने यो थलो हो, कर्णाली थिएटर ।

दैनिकजसो स्थानीय कलाकारको हूल जम्मा भएर नाटकका योजना तयार गरिन्छ । समूहमा अहिले १४ जना कलाकार छन् । नेतृत्व गरिरहेका छन्, हीराबिजुली नेपालीले ।
गमगढीमा नाटक घर नभए पनि हीराले आफ्नै खर्चमा निजी घर भाडामा लिएर थिएटर चलाइरहेका छन् । नाटकघरमा स्थानीय कलाकारले कला–संस्कृति र परम्परासित गाँसिएका विषयमा छलफल गर्छन् । ‘कर्णालीमा जनचेतना, परिवर्तन र जातीय विभेद अन्त्यका लागि करोडौं लगानी भए,’ उनी भन्छन्, ‘तर उपलब्धि भएन, आखिर कला–संस्कृतिले नै मान्छेको संवेदनामा प्रभाव जमाइरह्यो, त्यसैले हामीले परिवर्तन देखेनौं ।’
२०६५ सालमा उनको समूहले काठमाडौंमा ‘कर्णाली दख्खिन बग्दो छ’ नाटक मञ्चन गर्यो । सुनील पोखरेलको परिकल्पना र निर्देशनमा मञ्चित नाटकले कर्णालीको जीवनको दुःख–कष्ट, चामलका लागि लाइन बस्नुपर्ने बाध्यतादेखि नागरिकता बनाउन भोग्नुपर्ने सास्ती, तुइनको कष्ट उजागर गरेको थियो । बालविवाह, छुवाछूत, छाउपडीजस्ता कुरीतिलाई नाटकबाट उजागर गर्न पहिलो पटक हीराले नै पहल गरे । ‘कर्णालीमा कलात्मक अभियानको सुरुवात गर्न त्यति सहज पनि थिएन,’ कर्णाली दख्खिन बग्दो छ, सुइना कर्णाली, गर्भ छिटालगायत नाटकमा जीवन्त अभिनय गरिसकेका उनी भन्छन्, ‘गलत संस्कार मात्रै बदल्न सके कर्णालीको विकास धेरै माथि पुग्छ ।’ उनले २०६४ सालदेखि नै नाटकमा अभिनय गर्न थालेका हुन् ।
छायानाथ रारा नगरपालिकास्थित भामबाडामा जन्मिएका हीराले २०६१ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी सकाएपछि काठमाडौं जाने इच्छा जाग्यो । तर सानै उमेरमा बाबु गुमाएका उनको कुरा धेरैले काटे । ‘कतिपयले कुरा काटे । तर मसँग केही गर्छु भन्ने जोस थियो, त्यो पूरा गर्न मुगुमा बसेर सम्भव थिएन, त्यसैले राजधानी हिँडे,’ उनले भने । तर सहरमा टिक्न गाह्रो भएपछि उनी फर्किए–आफ्नै जन्मथलो भामबाडा ।
सानैदेखि नाटकप्रति रुचि राख्ने उनले गाउँकै मीन भामलाई सम्पर्क गरे । भामले उनलाई नाटकमा काम गर्न पुनः काठमाडौं बोलाए । ‘बोल्न र नाटक खेल्न सुरुमा त निकै गाह्रो थियो, तर पनि फेरि गाउँ फर्किन नपरोस् भनेर साहसका साथ काम गर्न थालें,’ उनले भने । उनले २०७५ सालमा काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ‘गर्भ छिटा’ नाटक देखाए । ठकुरी समाजको रुढिवादी परम्परालाई पस्किन हीराकै लेखन र निर्देशनमा तयार गरिएको नाटकमा प्रमुख भूमिका उनकी पत्नी विष्णुमाया परियारको थियो । नाटक लोकप्रिय भएसँगै हीरा पनि चिनिन थाले र सामाजिक–सांस्कृतिक अभियानलाई निरन्तरता दिए । उनले मुगुमा २०७८ सालमा स्थानीय लोकबाजा महोत्सवको आयोजना गरे भने बर्सेनि लोपोन्मुख फोटो, भिडियो र चित्रकला प्रदर्शनी गरिरहेका छन् ।
कलाका विभिन्न आयाममार्फत कर्णालीको कुसंस्कार र कुरीति हटाउन खोजिरहेका हीराको सामाजिक रूपान्तरण अभियानको प्रमुख माध्यम नाटक नै हो । ‘रंगमञ्च भनेको समाज र देशलाई प्रतिबिम्बित गर्ने स्थल हो,’ उनी भन्छन्, ‘नाटकको कुरा नबुझ्नेलाई नै विभिन्न भूमिका दिएर नाटक गराइरहेको छु, जसले समाजलाई क्रमशः रूपान्तरित गराइरहेको छ ।’
उनकै पहलमा दुर्गम जिल्लाहरू मुगु, हुम्ला र जुम्लामा रंगमञ्चको विकास भएको छ । नाट्य संस्था खुलेका छन् । गाउँमा पनि नाटक हेर्ने चलनको विकास भएको नेपाली बताउँछन् । गत फागुनमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा बाह्र नेपाली नाटक मञ्चन भए । जसमा हीराको गर्भ छिटाको मञ्चन गरिएको थियो ।
हीराको अब एउटै सपना छ– कर्णालीमा व्यावसायिक नाटकघर बनाउने । त्यसका लागि उनले प्रदेश राजधानी वीरेन्द्रनगरमा जग्गाको जोहो गरिसकेका छन् । उनको काममा सघाएका छन्– सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. नवराज केसीले । करिब ५० लाख रुपैयाँ लागत अनुमान गरिएको नाटकघरका लागि दाता र प्रदेश सरकारलाई गुहारिरहेको उनले बताए । ‘नाटकघरमार्फत कर्णालीका कलाकारलाई व्यावसायिक र आत्मनिर्भर बनाउने सपना छ,’ उनले भने, ‘सानैदेखि दुःख–कष्ट भोगेरै हुर्किएको हुँ, अब पनि कठिन अवस्थाकै सामना गरेर कर्णालीमा नाटकघर खोलेरै छाड्छु ।’
प्रकाशित : माघ २४, २०७९ ०८:०१