फरक शैलीमा ‘फोस्फिन्स’

बजारमा चलेका संगीत र ट्रेन्डसँग भन्दा सामान्य शब्दमा सर्वसाधारणको भोगाइ गाउने ब्यान्ड हो, फोस्फिन्स । जीवन गुजाराका लागि फरक पेसा अँगालेका कारण पनि विशुद्ध संगीत निर्माण ब्यान्डको ध्येय हो ।
रीना मोक्तान

काठमाडौँ — नत दर्शकलाई उफ्रार्ने र नचाउने संगीत, न मन दुखाउने वा बहलाउने गीत । न चर्चाका लागि, न त पैसा कमाउनु नै छ । बजारमा के चलेको छ र कस्ता गीत ल्याउने भन्ने कुनै सरोकार नभएको ब्यान्ड हो, ‘फोस्फिन्स’ । पछिल्लो समय इन्डी विधा अभ्यास गरिरहेको ब्यान्ड हो यो । आफूले सिर्जना गरेका संगीत दर्शक/स्रोतामाफ पुर्‍याउन आफैं कन्सर्ट आयोजना पनि गर्छ फोस्फिन्स ।

फरक शैलीमा ‘फोस्फिन्स’

खासमा ‘फोस्फिन्स’ कस्तो संगीतमा जुट्छ त ? एक वर्षअघि युट्युबमा सार्वजनिक ‘यस्तै नै होला’ बोलको गीत सुन्दा भेउ पाइन्छ । शब्द निकै साधारण । त्यसमा समेटिएको भोगाइ भने आम नेपाली दर्शकको साझा अनुभव । लकडाउनको समयमा देशको राज्य प्रणालीसँग दिक्क भए ब्यान्डका सदस्य अभिषेक पोख्रेल । अनि त्यसैलाई शब्दमा उतारे ।

‘नेपालको सिस्टम नै त्यस्तै छ । सरकारी मात्रै नभई, निजीको पनि हालत उस्तै छ । खासमा यो देशमा सिस्टम नै छैन । त्यसैले आफूभित्रको फ्रस्टेसन अभिव्यक्त गर्न मैले यो गीत लेखें,’ अभिषेकले आफ्नो अनुभव सुनाए । गीत लेखिसकेपछि उनले ब्यान्डका अन्य सदस्य प्रज्वल अर्याल र अमन कर्णलाई सुनाए । दुई जना मिलेर गीतमा मेलोडी भरेपछि बन्यो, ‘यस्तै नै होला ।’


गीत जति सरल सुनिन्छ, यसको भिडियो भने निक कलात्मक र व्यंग्यात्मक छ । भिडियोमा देखाइएका व्यक्ति बिहान उठेर सरकारी कार्यालय पुग्छन्, फाइल बुझाउँछन् । कार्यालयका कर्मचारीले भने पछि आउनु भन्दै फर्काइदिन्छन् । फाइल बोक्नेहरूको भीडबीच उनी मुसुक्क हाँस्दै फर्किन्छन् । उनको कार्यालय जाने क्रम भने लामो समयसम्म चलिरहन्छ । अनि, कर्मचारीले उनलाई फर्काउने क्रम पनि । सरकारी कार्यालयको ढिलासुस्ती, राज्य संयन्त्रमाथि प्रहार गर्ने गीतको भिडियोले नै ‘फोस्फिन्स’ लाई नयाँ दर्शकसम्म पुर्‍याएको हो । खासमा फोस्फिन्स दर्शकमाझ चिनाउन यही गीतले भूमिका खेलेको हो भन्दा फरक पर्दैन ।

गीतको भिडियो यति व्यंग्यात्मक बन्ला भन्ने खासमा ब्यान्ड सदस्यले नै सोचेका थिएनन् । स्वतन्त्र (इन्डी) रूपले काम गर्नेहरूसँग भिडियोमा खर्च गर्ने खासै बजेट पनि हुँदैन । तर, जब निभाल बज्राचार्यले गीत सुने, खुब मन पराए । निभाल फ्याट्टै भने, ‘यो गीतको भिडियो दामी बनाउनुपर्छ ।’ त्यसैको नतिजा हो गीतको भिडियो । पुरानो समयलाई देखाउन प्रयोग गरिएको एस्पेक्ट रेसियो, वर्तमानलाई दर्शाउन रंगीन र वाइड फ्रेमिङको कलात्मक संयोजन त्यसको उदाहरण हो । ‘हामीले कहिल्यै पनि यस्तो भिडियो बन्ला भनेर सोचेका थिएनौं । त्यसपछि अब हामीलाई अर्को गीतको पनि भिडियो राम्रो बनाउनुपर्छ भन्ने चुनौती थपियो,’ ब्यान्ड सदस्य अमनले भने ।


अमनको कुरामा प्रज्वलले थपे, ‘नेपाली गीत बनाउने हाम्रो योजना थिएन । तर, जब यो गीतमा दिवस गुरुङको निर्माण जोडियो, भिडियो एकदमै राम्रो भयो । यो भिडियो त पछि गएर क्लासिक नै बन्छ होला ।’ खासमा यो गीतभन्दा अगाडि ‘एक्लै हुँदा त झन्’ को भिडियो बनाउने तयारीमा थियो ब्यान्ड । तर, कोभिडले तीन वर्ष वर्ष निष्क्रिय बनाइदियो ब्यान्डलाई । ‘यस्तै नै होला’ बजारमा आएपछि भने उनीहरू ‘एक्लै हुँदा त झन्’ को भिडियो निकाल्न हौसिए । ‘गो फन्ड मी’ मार्फत खर्च जुटाएर बनाएको यो गीतको भिडियो उत्तिकै बेजोडको छ ।

‘फोस्फिन्स’ ले अहिलेसम्म गरेका २० गीतमा दुई नेपाली गीत छन् । ब्यान्डले खासमा नेपाली गीत गर्ने योजना बनाएको थिएन । अंग्रेजी गीत गरेरै उनीहरू विश्वमा पुग्न चाहन्थे, चाहन्छन् । ‘हाम्रो ब्यान्ड विश्वमै चिनाउने योजना छ । हामी त सुरुमा यो नेपाली ब्यान्ड होइन भन्ने कुरा स्थापित गर्न चाहन्थ्यौं । तर, हाम्रो दुर्भाग्य हामी नेपालमा जन्मियौं । त्यसैले हामीले नेपाली गीत गर्नैपर्ने रहेछ । कारण हाम्रो पहिलो दर्शक त नेपाली नै हुने भए नि त,’ अमन छेउमा रहेका अभिषेक र प्रज्वललाई हेर्दै भने, ‘विदेशमै गए पनि नेपाली हाम्रो पहिलो दर्शक हो नि त । त्यसैले अंग्रेजी गीतका लागि थुप्रै आर्टिस्ट हुनुहुन्छ । तर, नेपाली दर्शकलाई रिलेट गर्न नेपाली चाहिन्छ भनेर २ वटा नेपाली गर्‍यौं ।’

अहिले ब्यान्डले पाँचवटा नेपाली गीत मात्रै भएको नयाँ इपी (३० मिनेटभन्दा कम) सार्वजनिक गर्दै छ । ‘हुन त हामीलाई सुन्ने दर्शक मिक्स हुनुहुन्छ । कोही विदेशी पनि हुनुहुन्छ, नेपाली पनि हुनुहुन्छ । नेपालीमा पनि अधिकांश काठमाडौंका हुनुहुन्छ । त्यसैले अन्यत्रका दर्शकमा पनि पुगौं भनेर हामीले नयाँ इपीमा काम गरेका हौं,’ अमनले थपे । ब्यान्डले यसअघि १४ गीत समेटिएको एल्बम (सलन डेज) निकाले । ९० को दशकका यस्तै थुप्रै गीत समेटिएका एल्बम निस्कन्थ्यो । २/३ वर्ष मिहिनेत गरेर ‘फोस्फिन्स’ ले एल्बम निकाल्यो । एल्बममा समय, ऊर्जा र अर्थको लगानी भयो । तर, सोचेको प्रतिक्रिया पाएनन् । नेपाली गीतको इपीले भने ‘नेपाल टुर’मा लैजान्छ कि भन्ने आशा ब्यान्डको छ ।


तस्बिरहरू : सन्जोग मानन्धर/कान्तिपुर

प्रज्वल र अभिषेक सानैदेखिका साथी । यसअघि सँगै बजाउने र गाउने गर्थे । पछि अभिषेक एक्लैले संगीत गर्न थाले । प्रज्वल पनि सोलो करिअरतिरै लागे । सन् २०१६ तिर अचानक प्रज्वलले ‘इज इट टू लेट’ भनेर अभिषेकलाई मेसेज गरे । गर्ने भनिएको योजना पूरा गर्न हामी ढिला भयौं र ? भन्ने आशयको मेसेज पाउनासाथ अभिषेकले रिप्लाइमा लेखे, ‘नो इट्स नेभेर टू लेट’ । त्यहींबाट उनी दुईले फेरि सँगै गाउने/बजाउने निर्णय गरे । अनि सुरु भयो, फोस्फिन्स । तर, समय बित्दै जाँदा ब्यान्ड आफूहरूले मात्रै अगाडि बढाउन सकिन्न भन्ने निर्क्योलपछि जोडिए, अमन । खासमा ब्यान्डमा अरू सदस्यहरू पनि थपिएका भए पनि समयसँगै पाखा लागे ।

अनि बाँकी भए, अभिषेक अमन र प्रज्वल । कहिलेकाहीं गीतमा निखार ल्यान दिवस गुरुङलाई भन्छन् । ‘हाम्रो ब्यान्डको सबैभन्दा बलियो पक्ष भनेको अभिषेक र प्रज्वलको लेखन र गायन नै हो । प्रज्वलको लेखन कवितात्मक छ । अभिषेक लभ–सङ पनि गरिरहेको हुन्छ । तर, उसले लेखेको ह्याप्पी सङ पनि स्याड हुन्छ । गायनमा दुई जनाको केमेस्ट्री गजब्बको हुन्छ,’ अमनले दुई ब्यान्ड सदस्यको तारिफ गरे । उनको कुरा सक्न नपाउँदै अभिषेकले थपे, ‘अमनले हाम्रो गीतमा छुट्टै किसिमको धुन भरिरहेको हुन्छ । ब्यान्ड स्टेजमा कस्तो हुनुपर्छ, अरूका अगाडि कस्तो देखिनुपर्छ भनेर उसले निर्देशन गरिरहेको हुन्छ ।’

फोस्फिन्सले सन् २०१७ देखि नै सांगीतिक प्रस्तुति थालेको हो । त्यतिबेला कन्सर्ट गरेपछि प्रत्येकको हातमा पर्थ्यो २/४ हजार मात्र । त्यसपछि कन्सर्ट आफैं आयोजना गर्न थाले । सुरुमा अभिषेकको घरको छतमा दुई दर्शकका लागि प्रस्तुति दिए । ‘हाम्रो कन्सर्ट छुटाएका २ जना हाम्रा संगीतका प्रशंसकलाई हामीले निःशुल्क त्यस्तो प्रस्तुति दियौं । फोस्फिन्सको दर्शकसँगको सम्बन्ध त्यति निकट हुन्छ । त्यसैले पैसाका लागि भन्दा पनि दर्शकले दिएको मायाको बदलामा हामी संगीत उनीहरूलाई सुनाइरहेका हुन्छौं,’ अमनले भने ।

उनीहरूलाई ‘बिटिएस’, ‘ब्ल्याकपिंक’ जस्तो व्यावसायिक संगीत समूह बनेर विश्वमा पुग्नु छैन । म्याकडी मार्को, ग्रेगोरी इलन इजाकोभ जस्तै व्यावसायिक र अन्डरग्राउन्ड संगीतको बीचमा बसेर विश्वमा पुग्ने लक्ष्य भने लिएका छन् । ‘हाम्रा गीत सबैलाई मनपर्छ भन्ने छैन । हाम्रा गीत पनि त फरक छन्,’ प्रज्वलले भने । सबैले गीत मन पराइदिए हुन्थ्यो भन्ने पनि नठान्ने अभिषेकको भनाइ छ । उनीहरूले भनेजस्तै फोस्फिन्सका गीत दर्शकको मुखैमा झुन्डिने किसिमका भने छैनन् । संगीत पनि बेग्लै स्वादका, सुमधुर अनि शान्त । फेरि, उनीहरूलाई भाइरल हुनु पनि त छैन ।

‘हाम्रो गीत हामी कसैलाई सुन, सेयर गर भनेर पनि भन्दैनौं । नेपालमा अहिले सबै जनालाई भाइरल हुनु छ । छोटो समय चर्चामा आउनु छ । तर हामीले त्यस्तो कहिल्यै सोचेनौं,’ अमनले भने । व्यावसायिक क्षेत्रमा फरक बन्नु यो ब्यान्डका लागि चुनौती हो । तर, जीवन चलाउन ब्यान्ड सदस्यले फरक पेसा अँगालेका कारण पनि विशुद्ध संगीत निर्माण नै उनीहरूको ध्येय हो ।

प्रकाशित : माघ २३, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?