बिल गेट्सले मंगलग्रह परियोजनाको विरोध किन गरे ?

माघ २३, २०७९

एजेन्सी

वासिङटन — माइक्रोसफ्टका सहसंस्थापक तथा अर्बपति बिल गेट्सले स्पेसएक्सका मालिक इलन मस्कको मंगलग्रहमा जाने परियोजनाको चर्को विरोध गरेका छन् । उनले उक्त परियोजना पैसाको सदुपयोग नभएको र त्यसले राम्रो नतिजा नदिने भन्दै विरोध गरेका हुन् ।

‘मंगलग्रहमा जानु खासमा निकै महँगो छ । उक्त रकमले तपाईंले कैयौं खोप किन्न र मानिसहरूको जीवन बचाउन सक्नुहुन्छ,’ बीबीसीले लिएको एक अन्तर्वार्ताका क्रममा गेट्सले भनेका छन् । मंगलग्रहमा जानका लागि पैसा खर्च गर्नुभन्दा आवश्यकता परेका मानिसलाई खोप उपलब्ध गराउनु बढी महत्त्वपूर्ण भएको उनको भनाइ छ । ‘मंगलग्रहमा पुग्न धेरै खर्चिलो छ । तर हजार डलर पर्ने दादुराको खोप किनेर कसैको जीवन बचाउन सकिन्छ,’ उनले भने । 

कार निर्माण कम्पनी टेस्लाका मालिका मस्कले मंगलग्रहमा बस्ती बसाउने परियोजना अघि सारेका छन् । त्यसका लागि उनले ‘स्पेसएक्स’ कम्पनी सञ्चालन गरिरहेका छन् । त्यस्तै अर्का अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजोस पनि उक्त दौडमा छन् । ‘ब्लू ओरिजिन’ कम्पनीका प्रमुख बेजोसले सन् २०२१ मा छोटो समयका लागि अन्तरिक्षको यात्रासमेत गरेका थिए । त्यस्तै, अन्तरिक्षको दौडमा बेलायती अर्बपति सर रिचार्ड ब्रान्सन पनि छन् । अन्तर्वार्ताका क्रममा गेट्सले मस्कलाई आफूले ‘महान् दाता’ का रूपमा नलिएको समेत बताएका छन् । पछिल्लो समय गेट्स भने ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत विश्वव्यापी रूपमा समाजसेवामा सक्रिय छन् । 

मस्क समाजसेवामा लाग्ने विषयमा भने गेट्सले त्यस्तै सम्भावना नदेखेको बताएका छन् । ‘कुनै दिन मस्क महान् दाता हुन सक्लान् । तर मंगलग्रहमा जाने उद्देश्य राख्ने मस्कले मानिसहरूको जीवनका लागि पैसा खर्च गर्लान् जस्तो मलाई लाग्दैन,’ धनाढ्य दाताहरूको क्लबमा मस्क सामेल होलान् त ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने । यसअघि पनि गेट्स र मस्कबीच मतभेद भएको थियो । गेट्सले जलवायु परिवर्तनका असरहरू न्यूनीकरणका लागि सहकार्य गर्ने प्रस्ताव राख्दा मस्कले आफ्नो कम्पनी टेस्लाले त्यसका लागि सबैभन्दा बढी भूमिका खेलेको जवाफ दिएका थिए ।

युवा ग्यालरी

एजेन्सी

Link copied successfully