रोनाल्डोको जन्म- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
आजकै दिन

रोनाल्डोको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८५ मा आजकै दिन (फेब्रुअरी ५) मा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म भएको थियो । हाल साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्ने रोनाल्डो क्लबका कप्तानसमेत हुन् ।

रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् । त्यसपछि उनले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थाले । सन् २००९ देखि भने उनले रियल म्याड्रिड क्लबबाट खेल्न थालेका थिए । २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् । रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगका १ सय ८३ खेलमा १ सय ४० गोल र ४२ असिस्ट गरिसकेका छन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि १ सय ९० खेल खेलेका उनले एक सयभन्दा बढी गोल गरिसकेका छन् । २०१५ मा उनी पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो ।

त्यसैगरी, आजकै दिन सन् १९९२ मा ब्राजिली फुटबलर नेयमरको जन्म भएको थियो । ३० वर्षीय नेयमरले विभिन्न तीनवटा क्लबका तर्फबाट सयभन्दा बढी गोल गरिसकेका छन् ।

प्रकाशित : माघ २२, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धन प्रगतिशील चरित्रको छैन : एस

कान्तिपुर संवाददाता

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको हातमा रहेको बताएका छन् । 

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोर्‍याउने/नडोर्‍याउने जिम्मा दाहालकै रहेको निष्कर्ष निकालिएको हो ।

‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं । माओवादी विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं,’ प्रतिवदेनमा भनिएको छ, ‘संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि सरकार गठनका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब माओवादी र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालको हातमा रहेको छ ।’

प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादीको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको जनाइएको छ । अध्यक्ष नेपालले शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि उसमा घमण्ड बढेको उल्लेख छ । प्रतिवदेनमा नयाँ गठबन्धन बन्नुपछिको ४ कारण बताएका छन् । जसमा निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादीको सत्ता केन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख छ ।

अहिलेको सरकारलाई खिचडीको संज्ञा दिँदै नेपालको प्रतिवेदनमा भनिएको छ, ‘यो गठबन्धन खिचडी प्रकृतिको छ । यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी र गणतन्त्रको विरोधी एवं हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयताविरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन् ।’

प्रतिवेदनमा यो गठबन्धन प्रगतिशील चरित्रको नभएको आरोप लगाइएको छ । ‘यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट छैन । त्यसैले यो विचारहीन र अराजनीतिक चरित्रको छ । यसलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धन भन्नु उपयुक्त हुन्छ,’ नेपालले भनेका छन्, ‘आजको अवस्था हिजो दुई/दुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम हो । तिनै केपी ओली वर्तमान सत्ता गठबन्धनले निर्माण गरेको राजनीतिक संयन्त्रको प्रमुख बनेका छन् ।’

केन्द्रीय कमिटीको पाँचौं बैठकमा प्रस्तुत गरिएको २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी दिनमा गर्नुपर्ने पार्टीको कामबारे समेटिएको छ । एसले कांग्रेसलाई पुँजीवादीहरूको प्रतिनिधि, एमालेलाई दक्षिणपन्थी अवसरवादी, माओवादीलाई ढुलमुले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिक्रियावादीको सेवक, राप्रपालाई सामन्ती, नोकरशाही र पुँजीवादी चरित्र, जसपालाई प्रजातान्त्रिक समाजवादी, जनमतलाई पूर्वपृथकतावादी अहिले गणतन्त्र र संघीयताको पक्षधर र नागरिक उन्मुक्ति पार्टीलाई चरित्र स्पष्ट नभएको भनी आरोप लगाएको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×