रोनाल्डोको जन्म

माघ २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८५ मा आजकै दिन (फेब्रुअरी ५) मा पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म भएको थियो । हाल साउदी अरबको अल नासेर क्लबबाट फरवार्डका रूपमा खेल्ने रोनाल्डो क्लबका कप्तानसमेत हुन् ।

रोनाल्डोले स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल करिअर सुरु गरेका हुन् । त्यसपछि उनले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट खेल्न थाले । सन् २००९ देखि भने उनले रियल म्याड्रिड क्लबबाट खेल्न थालेका थिए । २०१८ बाट युभेन्ट्सका लागि खेल्न थालेका रोनाल्डो तीन वर्षपछि म्यानचेस्टर युनाइटेड पुगेका थिए । 

व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप र यूईएफए नेसन्स लिगसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् । रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगका १ सय ८३ खेलमा १ सय ४० गोल र ४२ असिस्ट गरिसकेका छन् । 

पोर्चुगलको राष्ट्रिय टिमबाट भने उनले १८ वर्षको उमेरमा २००३ मा खेल्न थालेका थिए । देशका लागि १ सय ९० खेल खेलेका उनले एक सयभन्दा बढी गोल गरिसकेका छन् । २०१५ मा उनी पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो । 

त्यसैगरी, आजकै दिन सन् १९९२ मा ब्राजिली फुटबलर नेयमरको जन्म भएको थियो । ३० वर्षीय नेयमरले विभिन्न तीनवटा क्लबका तर्फबाट सयभन्दा बढी गोल गरिसकेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully