म्युजिकल फिल्म ‘गल्ली’- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्युजिकल फिल्म ‘गल्ली’

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक यश कुमार अहिलेको समयलाई हेर्ने जमानाका रूपमा व्याख्या गर्छन् । उनले संगीतमा करिअर देख्दै गर्दा श्रोताले सर्जकका गीतहरू सुन्थे । त्यतिबेला एल्बम बिक्थ्यो । एल्बमका सारा गीत श्रोतालाई कण्ठस्तै हुन्थ्यो ।

अहिले एल्बमको जमाना हरायो । गीतलाई सुन्ने मात्र होइन, हेर्नमा पनि प्रयोग गरिन थालियो । त्यसैले होला, अहिले भिडियोबिनाका गीत सार्वजनिक नै हुँदैनन् । दर्शक/श्रोतालाई पनि भिडियो हेर्ने बानी पर्न थाल्यो । यो हेर्ने समयसँगै अगाडि बढ्न यशले पनि हेर्ने गीत सार्वजनिक गरेका छन् ।

‘गल्ली’ बोलको म्युजिक भिडियोमा पाँच वर्ष जेल सजाय भोगेर आफन्त, प्रेमीकहाँ फर्किएको एक व्यक्तिको कथा समेटिएको छ । गीतमा संवाद छन्, कथा छ । त्यसैले निकेश खड्का निर्देशित म्युजिक भिडियोलाई ‘म्युजिकल फिल्म’ का रूपमा युट्युबमा सार्वजनिक गरिएको छ । यश कुमारसँगै मेचु धिमालको स्वर रहेको गीतको भिडियोमा कलाकार रेश्मा घिमिरे, आयुष बराइली, स्वयं यशको अभिनय छ । गीतको भिडियोमा नवीन श्रेष्ठको साउन्ड डिजाइन, दिवेश राईको अरेन्ज, प्रदीप श्रेष्ठको पार्श्व संगीत, विकास धमलाको सम्पादन, हरि हुमागाईंको छायांकन छ । ‘एउटा समय थियो जति बेला गीत सुनेर मूल्यांकन गरिन्थ्यो । गीत सुनेकै भरमा हिट हुन्थ्यो । तर, अहिलेको समय परिवर्तित छ । गीत सुन्ने मात्र होइन, हेरिन्छ,’ गीत सार्वजनिक गर्ने क्रममा यशले भने । सुन्ने जमानामा यशका थुप्रै गीत हिट भए, अब हेर्ने जमानामा उनका म्युजिकल फिल्मलाई कतिले मन पराउलान् हेर्नै बाँकी छ ।

प्रकाशित : माघ २०, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्

विल्सनको जन्म

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८५६ मा आजकै दिन (फेब्रुअरी ३) मा अमेरिकी राष्ट्रपति वुड्रो विल्सनको जन्म भएको थियो । भर्जिनिया राज्यको स्टाउन्टनमा जन्मिएका विल्सन अमेरिकको २८ औं राष्ट्रपति हुन् । उनी सन् १९१३ देखि १९२१ सम्म अमेरिकाको राष्ट्रपति थिए । 

पहिलो विश्वयुद्धको समयमा अमेरिकाको नेतृत्व गरेका विल्सनले ‘लिग अफ नेसन्स’ को स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए । जसका कारण उनले सन् १९१९ को नोबेल शान्ति पुरस्कार जितेका थिए ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरेपछि उनले कानुन पढेका थिए । कानुनले राजनीतिमा नेतृत्वदायी भूमिका खेल्ने भन्दै उनले भर्जिनिया विश्वविद्यालयमा कानुन अध्ययन गरेका थिए । त्यसपछि केही समय वकालत अभ्यास गरेका उनले १८८६ मा जोन हप्किन्स विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी विद्यावारिधि गर्ने एकमात्र अमेरिकी राष्ट्रपति हुन् ।

विल्सनको दोस्रो कार्यकालमा अमेरिकी संविधानको १९ औं संशोधन गरिएको थियो । उक्त संशोधनमार्फत अमेरिकी महिलालाई मताधिकार दिइएको थियो । राष्ट्रपति बन्नुअघि उनी न्यु जर्सीको गभर्नर थिए ।

प्रकाशित : माघ २०, २०७९ ०६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×