गरिखाने जाँगर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिखाने जाँगर

युवाहरु भन्छन्– काम ठूलो–सानो हुँदैन । त्यसैले कामको सम्मान गरौं । श्रमको कमाइले कहिल्यै मन पोल्दैन ।
मधु शाही

काठमाडौँ — पाँच वर्षअघि हो, विराटनगरकी अनिता भट्टराईले काठका टुक्रा, टिनका पाता र गाडीका चक्का जोडेर कलात्मक शैलीमा ठेला बनाएको । पेसाले चित्रकार भए पनि दैनिक गुजारा चलाउन नसकेपछि फरक व्यवसाय थालेकी हुन् उनले ।

पेप्सीकोलास्थित फुटबल ग्राउन्ड छेवैमा ‘ठेला घर’ नाम राखेर उनले फास्टफुड व्यवसाय सुरु गरेकी थिइन् । श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि उनलाई कतिपयले जागिर दिन इन्कार गरे । त्यसै क्रममा उनी ठेला व्यवसाय गर्ने निर्णयमा पुगेकी थिइन् । सहकारीमा जग्गा धितो राखेर लिएको तीन लाख रुपैयाँ ऋणबाट उनले ठेला घर सुरु गरेकी थिइन् । अहिले त्यही ठेला व्यावसायिक रेस्टुराँ बनेको छ ।

मीनभवनस्थित आलोकनगरमा व्यवसाय सञ्चालन गर्दै आएकी भट्टराईलाई त्यही ठेलाले आर्थिक रूपमा बलियो बनाइदिएको छ । ‘खानसमेत गाह्रो थियो, ठेला सुरु गर्दा,’ उनले त्यति बेलाको अप्ठ्यारो सम्झिइन्, ‘अहिले थुप्रै युवालाई रोजगार दिने भएकी छु ।’ तर यहाँसम्म आइपुग्नुमा भने उनको कामप्रतिको सम्मान नै हो । ठेला चलाउँदा कतिपयले महिला भएकै कारण आलोचनासमेत गरेका थिए । तर, त्यसको परवाह नगरी उनी अघि बढिरहिन् । ‘मेरो सफलताको सूत्र भनेको कामको सम्मान गर्ने र आलोचना चिरेर अघि बढ्नु नै हो । घरमा पकाउन हुने, ठेलामा पकाएर बेच्दा इज्जत जाने ?’ उनको प्रश्न छ । ठेला घरमा उनले खानाको परिकारसँगै आफैंले चित्र पनि कोरेकी छन् । अनि चित्र कोर्ने स्टुडियो पनि सञ्चालन गरेकी छन् । ठेला घर र कलाको संयोजन अझै फराकिलो बनाउने योजना पनि बनाएकी छन्, उनले ।

बूढानीलकण्ठ–१० कपनका राधिका ढकाल र सुमन दाहालको दम्पतीले लसुन र अदुवाको पेस्ट बनाएर व्यापार गर्न थालेको करिब एक दशक भइसकेको छ । पछिल्लो तीन वर्षमा भने उनीहरूको उत्पादनले राम्रै बजार लिएको छ । आयुर्वेदिक शिक्षा अध्ययन गरेका दाहाल र पत्रकारितामा लामो अनुभव बटुलेकी ढकालले फरक व्यवसायमा हात हालेका हुन् । पछिल्लो समय युवाहरू सहर केन्द्रित छन् । हतार र छिटोको जमाना छ । सिलौटा र मिक्सर खोजेर अदुवा–लसुन पिस्ने समय पनि त छैन युवामा । त्यसैलाई बुझेर सुमनले दस वर्षअघि लसुन र अदुवाको पेस्ट बजारमा ल्याउने काम सुरु गरेका थिए । त्यसलाई साथ दिइरहेकी छन्, ढकालले । ‘दुई छोराछोरीलाई विद्यालय पुर्‍याएपछि दिनभर व्यवसायमै लाग्छु,’ उनी भन्छिन्, ‘मार्केटमा डिमान्टअनुसार प्रडक्ट पुर्‍याउनै सकिएको छैन ।’

निजी र केही भाडाको गरी ७ रोपनी जग्गामा अर्गानिक फार्म पनि चलाएका छन् उनीहरूले । पछिल्लो समय झापा, इलाम, दमक, नेपालगन्ज, विराटनगरलगायत सहरीया क्षेत्रमा पेस्टको माग बढेको उनको भनाइ छ । विद्यार्थीहरू रहने/बस्ने क्षेत्रमा बढी माग रहेको उनी बताउँछिन् । ‘कीर्तिपुरमा त मागअनुसार दिनै सकिएको छैन,’ उनी भन्छिन् । श्रमको कमाइले कहिल्यै मन नपोल्ने ढकालको बुझाइ छ । त्यसैले उनी युवा पुस्तालाई कामको सम्मान गर्न र व्यवसाय गर्न हौसला दिन्छिन् ।

ढकालले भनेजस्तै ललितपुर महानगरपालिका–२८ खेतीपाखा बस्ने भरतप्रसाद घिमिरे र मैयादेवीको जोडी कामको सम्मान गर्छन् । भैंसी पालन गरेकी मैयादेवीको रमाउने र कमाउने थलो गोठ हो । उनका पति भने बजारमा दूध पुर्‍याउनुमा खुसी छन् । स्नातक तह उत्तीर्ण गरेका उनीहरू भैंसीपालन सुरु गर्नुअघि जागिरे थिए । दुवै जनाले पढाउँथे ।

सुरुमा हरिसिद्धिमा ७ रोपनी जग्गा भाडामा लिएर माछा, कुखुरा पाल्न थालेका थिए, उनीहरूले । त्यतिबेला घरमा दूध खानका लागि एउटा भैंसी पाले । घरमा खपत भएर बचेको दूध भरतले बेच्न थाले । ग्राहक घरमै दूध लिन आएपछि उनलाई कुखुरा र माछा पालनभन्दा राम्रो ठानेर यो व्यवसायमा लागेका हुन् । पढेलेखेको मान्छे गोठालो भएको भन्दै कुरा काट्नेहरू पनि अहिले भरतको प्रगति देखेर लोभिएका छन् ।

त्यस्तै, पछिल्लो समय कलात्मक परिश्रम पस्किएर तरकारी व्यवसायमा नाम कमाएका अर्का युवा व्यापारी हुन्, कृष्ण अधिकारी । सिन्धुली दुधौली नगरपालिका धनसरीका २३ वर्षे कृष्ण तरकारी व्यवसायी हुन् । अहिले उनलाई सामाजिक सञ्जालमा नचिन्ने कमै छन् । उनी अचेल टिकटकबाट ‘तरकारी ब्वाई’ को नामले भाइरल छन् ।

चाबहिलस्थित गणेश मन्दिर छेउमा तरकारी व्यापार गर्ने कृष्णको तरकारी बेच्ने तरिका अलिक फरक र आकर्षित छ । उनको कला भनेकै तरकारी व्यापार गराउन सक्नु हो । कुन तरकारीको के फाइदा ?, तरकारीका आयुर्वेदिक तत्त्व, सौन्दर्यको राजदेखि पकाउने तरिकासमेत उनले मुखैबाट ग्राहकलाई बताउने गर्छन् । मीठो हाँसो, रमाइलो बोली र मन लोभ्याउने प्रस्तुतिले उनको पसलमा ग्राहक आकर्षित छन् । ‘तरकारी बेच्ने कला हेर्नकै लागि ग्राहक मेरो पसलसम्म आइपुग्छन्,’ उनी भन्छन्, ‘मीठो नबोले त यहाँ पिठो पनि बिक्दैन ।’

गरिबीको अवस्थामा गुज्रिएका कृष्ण ४ वर्षअघि काठमाडौं आए । गरिबीले उच्च शिक्षा पढ्न सकेनन् । जीविको धान्न काठमाडौं आउँदा उनीसँग एकसरो लुगाबाहेक केही थिएन । सुरुमा घरमा टायल लगाउने काम थाले । मजदुरी गरे । जागिर खोज्न चारैतिर भौंतारिए । दिनको तीन सय रुपैयाँ मात्रै कमाउँथे । एक दिन उनी आफैंले केही गर्ने मनसाय बनाए । तर, के गर्ने ? लगानी छैन । ‘कतै जागिर नपाएपछि डोकोभरि साग बोकेर मूलपानीमा व्यापार थालें,’ उनले विगत सम्झिए ।

डोकोबाट व्यापार थालेका कृष्णले अहिले ५० हजार रुपैयाँ भाडा तिरेर तरकारी बेच्ने हैसियत बनाएका छन् । दैनिक ९० हजारदेखि एक लाख रुपैयाँसम्मको तरकारी बेच्ने गरेको उनले बताए । ‘काम सानो–ठूलो हुँदैन,’ उनी भन्छन्, ‘इमानदारितापूर्वक गर्नुपर्छ, सफलता निश्चित छ ।’ दैनिक १८ घण्टाभन्दा बढी समय तरकारी व्यापारमै बित्छ ।

प्रकाशित : माघ २०, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिम मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

कलेन्द्र सेजुवाल

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको जेलमुक्ति प्रक्रिया अघि नबढ्दा सुदूरपश्चिम प्रदेश सरकारको भविष्य संकटतर्फ धकेलिएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री नियुक्त भएको ३ साता बित्दा पनि विश्वासको मत लिन सकेका छैनन्, जब कि सत्ता गठबन्धनका अन्य मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् ।

नाउपाले विश्वासको मतका लागि जेलमा रहेका रेशमसहित ७ नेतालाई रिहा गर्नुपर्ने सर्त राखेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नाउपाका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ । नाउपाले सुदूरपश्चिमको यही संख्यालाई रेशम रिहाइका लागि बार्गेनिङ गर्ने हतियार बनाएको छ । ‘हामीले रेशम चौधरीलाई अहिल्यै तुरुन्तै छाडिदिनुस् भनेका छैनौं, जेलमुक्तिको प्रक्रिया थाल्नुहोस् मात्र भनिरहेका छौं,’ नाउपाका सुदूरपश्चिम प्रदेशसभा संसदीय दल नेता रामेश्वर चौधरीले भने, ‘तर प्रधानमन्त्री र एमाले अध्यक्षले हाम्रो मुद्दालाई निकै हल्का रूपमा लिनुभएको छ, यस्तो अवस्थामा विश्वासको मत कसरी दिन सकिन्छ ?’ सुदूरपश्चिम प्रदेश सरकारको भविष्य केन्द्र सरकारको हातमा रहेको उनको भनाइ छ ।

विश्वासको मत लिन नसक्दा सुदूरपश्चिम सरकार विस्तारसमेत हुन सकेको छैन । मुख्यमन्त्री रावलले माओवादी केन्द्रबाट खगराज भट्ट र एमालेबाट सन्तोषकुमारी शर्मालाई मन्त्री बनाएर बिनाविभागीय हैसियतमै राखेका छन् । संविधानको धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलसँग अब डेढ साता मात्र समय छ । विश्वासको मत लिने समय घर्किंदै गर्दा मुख्यमन्त्री रावलको बेचैनी पनि बढ्दै गएको छ । ‘विश्वासको मत पाउने कि नपाउने भन्ने कुरा उहाँको हातमा छैन, त्यसैले जति नै बेचैनी भए पनि चुपचाप बस्नुको विकल्प छैन,’ सुदूरपश्चिमका एक एमाले सांसदले भने ।

संविधान निर्माणका क्रममा मधेस र थरुहटका मुद्दा सम्बोधन नभएको भन्दै सुरु भएको आन्दोलन हिंसात्मक हुँदा २०७२ भदौ ७ मा टीकापुर घटना भएको थियो, जसमा सात प्रहरी र एक बालकको मृत्यु भएको थियो । घटनाको अर्को दिन थारूहरूका घर जलाइएका थिए भने ५८ जनामाथि मुद्दा चलाइएको थियो । मुद्दा चलाइएका मध्ये ३१ जना अहिले पनि फरार छन् । बाँकी २७ जनामध्ये कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट सजाय सुनाइएका ७ जना अहिले जेलमा छन् । रेशमसहित ६ जनाले जन्मकैद र एक जनाले १० वर्षको सजाय भोगिरहेका छन् । थारूहरूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै यो समुदायमा रोष छ । जिल्ला अदालतले तीन वर्षको सजाय तोकेकामध्ये एक जना (लक्ष्मण थारू) लाई उच्च अदालतले जन्मकैद हुने फैसला सुनाएको छ । उच्च अदालतको आदेश आउनुअघि नै जिल्ला अदालतले तोकेको तीन वर्षको सजाय पूरा गरेका उनी जेलमा छैनन् । रेशमसहित सातै जनाले सर्वोच्चमा पुनरावेदन गरेका छन्, जुन विचाराधीन छ । मंगलबार मुद्दाको पेसी तोकिएकामा सर्वोच्च अदालत प्रशासनले स्थगन गरेको छ ।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले टीकापुर घटनामा जेल सजाय भोगिरहेका ७ जनासहित मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी गत मंसिर २५ मा अध्यादेशमार्फत मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्ने निर्णय गरेको थियो । तर राष्ट्रपतिले अध्यादेश जारी नगर्दै नयाँ संसद्को अधिवेशन सुरु भएपछि प्रक्रिया रोकिएको छ । देउवा सरकारले अध्यादेशमार्फत जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्था संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन रहेका’ मुद्दा पनि फिर्ता लिन सक्ने कानुनी व्यवस्था गर्न खोजेको थियो ।

संसदीय दलका नेता चौधरीले देउवा सरकारले ल्याएको अध्यादेशलाई विधेयकका रूपमा संसद्मा लानुपर्ने नाउपाको एकसूत्रीय माग रहेको बताए । ‘हाम्रो मुद्दा सम्बोधन होस् भनेरै प्रतिपक्षीमा बसेर भए पनि सरकारलाई समर्थन र विश्वासको मत दियौं । प्रदेश सरकार निर्माणका लागि पनि समर्थन दिएका छौं,’ उनले भने, ‘अर्कातर्फ कांग्रेसले मुख्यमन्त्री दिँदा पनि स्विकारेनौं, बरु सत्ता गठबन्धनकै सभामुख र उपसभामुख उम्मेदवारलाई मतदान गर्‍यौं । तर सरकार अझैसम्म हाम्रो माग सुन्न तयार छैन ।’

विश्वासको मत लिने वातावरण मिलाउनका लागि मुख्यमन्त्री रावल र संसदीय दलका नेता चौधरी केही दिनअघि काठमाडौं आएका थिए । रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितलाई भेटेर नाउपाको माग सम्बोधन गर्न आग्रह गरेका थिए । एमालेकी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलकी उपनेता एवं मन्त्री सन्तोषकुमारी शर्माले विश्वासको मतका लागि केन्द्रीयस्तरमै कुराकानी भइरहेको बताइन् । ‘मुख्यमन्त्रीज्यू आफैं काठमाडौं गएर शीर्ष नेताहरूलाई भेट्नुभयो, तर अझैसम्म निष्कर्ष निस्किएको छैन,’ उनले कान्तिपुरसँग भनिन्, ‘यस विषयमा हामीले प्रदेशमा जति संवाद र छलफल गरे पनि समाधान निस्किने अवस्था छैन ।’

गत निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अधिकांश समय रेशमलगायत नेतालाई छुटाउने दौडधुपमै बितिरहेको छ । संसद्मा समेत उनले आफ्नो पार्टीको मूल मुद्दालाई जोडतोडका साथ उठाएकी छन् । मंगलबार साँझमात्र उनले एमाले अध्यक्ष ओलीलाई उनको निजी निवास बालकोटमा भेटेकी छन् । ‘सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिनका लागि अझै एक साता समय छ, त्यहाँसम्म हाम्रो पार्टीमा पनि छलफल गरौंला,’ ओलीसँगको भेटपछि उनले कान्तिपुरसँग भनिन्, ‘तर पछिल्लो समय सरकारले हाम्रो माग सम्बोधन गर्ने सम्भावना बढेको छ, हामी केही उत्साही छौं ।’ प्रधानमन्त्री दाहालसँग पनि यस विषयमा कुराकानी भइरहेको उनले बताइन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले अदालतबाट जेल सजाय पाएका नाउपाका रेशमसहित नेतालाई रिहा गर्ने विषयमा सरकार सकारात्मक भए पनि प्रक्रियाको विषयमा कुरा नमिलेको बताए । ‘उहाँहरूले छिटो छाड्नुपर्‍यो भन्नुहुन्छ तर विद्यमान ऐन संशोधन नगरी छाड्न सकिने अवस्था देखिँदैन,’ उनले भने, ‘यही विषयमा छलफल भइरहेको छ, हेरौं के हुन्छ ?’

गत पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नाउपा सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा भने रेशमलगायत नेताको जेलमुक्तिको सर्त राखेर तटस्थ बसेको थियो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँगको वार्तापछि माघ ३ मा भएको तेस्रो पटकको चुनावमा सभामुखमा माओवादीका भीमबहादुर भण्डारीलाई मतदान गरेको थियो । ‘केन्द्र सरकारलाई समर्थन र विश्वासको मत दिनेदेखि सुदूरपश्चिम प्रदेशको सभामुख निर्वाचनसम्म आइपुग्दा शीर्ष नेता (प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली) ले माग पूरा गर्ने वचन दिनुभएको थियो तर अहिलेसम्म कुनै प्रगति नदेखिएर निराश भएका छौं,’ संसदीय दलका नेता चौधरीले भने ।

प्रतिनिधिसभामा नाउपाबाट श्रेष्ठसहित अन्य ३ जना लालवीर चौधरी, गंगाराम चौधरी र अरुणकुमार चौधरी सांसद छन् । तीमध्ये श्रेष्ठ रेशमकी पत्नी र लालवीर बुबा हुन् । तत्कालको अवस्थामा दाहाल नेतृत्वको सरकारलाई नाउपाको समर्थन हुनु र नहुनुमा खासै फरक पर्दैन । सरकार निर्माणका लागि समर्थन गरेका अन्य ६ दलबाटै सुविधाजनक बहुमत पुगेको छ । स्वयं नाउपासमेत दाहाल सरकारलाई समर्थन र विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बसिरहेको छ ।

नाउपाका सुदूरपश्चिम संसदीय दल नेता चौधरीले तात्कालिक अवस्थामा सत्ताभन्दा टीकापुर घटनाका ‘राजबन्दी’ लाई जेलमुक्त गर्नु आफूहरूको पहिलो प्राथमिकता रहेको बताए । ‘जनताले हामीलाई सरकारमा जानका लागि नभई टीकापुर घटनाका राजबन्दीलाई उन्मुक्ति दिलाउन जिताएर पठाएका हुन्,’ उनले भने, ‘त्यसैले हामीले पार्टीको नामअनुसारको काम गर्नुपर्नेछ ।’

जेलमुक्तिको मुद्दा छाड्ने हो भने नाउपाले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ । तर उसले प्रदेशमा कांग्रेससँग समीकरण बनाएर संघीय सरकारसँग सम्बन्ध बिगार्न चाहेको छैन । संघीय सरकारले नचाहँदा मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन प्रक्रिया अघि नबढ्ने र त्यसबाट पार्टीको मूल माग पूरा नहुने नाउपाको बुझाइ छ । ‘हामीलार्ई कांग्रेसले सुदूरपश्चिममा सरकारको नेतृत्व दिने प्रस्ताव गरिरहेको छ, हिजो देउवा सरकारले हाम्रो माग पूरा गर्ने गरी अध्यादेश ल्याउन खोजेकाले हामी कांग्रेसप्रति नकारात्मक छैनौं,’ नाउपाका एक सांसदले भने, ‘तर संघीय सरकारसँग संघर्ष गरेरभन्दा सौहार्द सम्बन्ध बनाएरै जेलमुक्तिको सरोकार सम्बोधन होस् भन्ने हाम्रो चाहना छ ।’

प्रकाशित : माघ २०, २०७९ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×