संघर्ष गर्दै पूर्वेली रंगमञ्च- कला - कान्तिपुर समाचार

संघर्ष गर्दै पूर्वेली रंगमञ्च

पर्वत पोर्तेल

झापा — झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँ विकासमा पछौटे छ । सदरमुकामबाट निकै टाढाको यो थलोमा ‘इलामले हेपेको, झापाले नदेखेको’ भन्ने कथन चर्चित छ । 


पूर्वाधार विकासका नजरले विकट मानिने यो गाउँमा नाट्यकलाले भने साख जोगाएकै छ । ‘बरु सडक र पुल बल्ल बन्न थाल्दै छन् । तर, नाट्यकलाले वर्षौं अघिदेखि नै फड्को मारेको हो,’ नाट्यकर्मी चेतन आङ्थुपोले सुनाए, ‘स्थानीय सरकारको अनुदारताबीच पनि नाटकमा संघर्षरत छौं ।’ पूर्वको केही सक्रिय नाट्य समूहमध्ये अग्रपंक्तिमै गनिने चुलाचुली रंगमञ्चसँग आफ्नै थिएटर भवनको भने अभाव छ ।

डेढ दशकदेखि नाट्यकर्ममा दुःखजिलो ढंगले रमाइरहेका चुलाचुलीको जस्तै व्यथा छ, पूर्वका दुई दर्जन जति नाट्य टोली पनि । प्रदेश १ का सुगम र दुर्गमका सबैजसो जिल्लाका कतिपय नाट्य समूह जेनतेन चल्दै छन् । कतिपय निष्क्रिय नै छन् । प्रादेशिक राजधानी विराटनगरमा काठमाडौंकै जस्तो सुविधायुक्त नाटक घर छ, सुशीला कोइराला नाटकघर । मोरङकै झोरहाट थिएटरको पनि आफ्नै संरचना छ । मुक्त रंगमञ्चको नाममा मोरङकै सुन्दर–हरैंचामा अत्याधुनिक थिएटर हल निर्माणाधीन छ । तर, अन्य जिल्लामा भने दुःखजिलो ढंगले रंगमञ्च चलिरहेका छन् । चुलाचुलीजस्ता देहाती रंगमञ्चका दुःखको त कुरा गरिसाध्य छैन । इलामकै सदरमुकाममा सक्रिय चेतना नाट्य समूहको हविगत पनि उस्तै छ । ‘हामी सहरमा त छौं तर एउटा गतिलो नाटकघर हामीसँग छैन,’ चेतनाका अगुवा नाट्यकर्मी सुरेश पोर्तेलले दुःखेसो पोख्छन् ।

नेपाली रंगमञ्चको विकासमा ‘लाहुरेको सहर’ धरानको भूमिकालाई कम आँक्न मिल्दैन । चर्चित सिनेमा ‘नुमाफुङ’ का निर्देशक नवीन सुब्बा नाटककै हुन् । ‘सर्वनाम’ थिएटरका संस्थापक अशेष मल्ल धरानबाटै उदाएका नाट्यकर्मी हुन् । कोभिड भित्रिनुअघि जुर्मुराएझैं गरेको धराने नाट्यकर्म फेरि मुर्झाएको छ । ‘नाटकमा चाहिने कथा, लेखक र निर्देशक हामीसँग पर्याप्त छन्,’ अगुवा नाट्यकर्मी गोपाल देवान सुनाउँछन्, ‘मात्रै नाट्यशालाको अभाव छ ।’

झापामा तीन नाट्य टोली छन् । दमकमा छ, कदम थिएटर । बिर्तामोडमा झापा नाटक घर र सीमान्त सहर काँकडभिट्टामा छ, परिवर्तन थिएटर । कदम र परिवर्तनको आफ्नै थिएटर हल छैन । कदमको त बन्दै छ । तर, परिवर्तन भाडाको कोठामा नाटक गर्दै आएको छ । कदम थिएटरका ‘नाटक घरको जगसम्म बसालिएको छ,’ कदमका नाट्य निर्देशक सिजन दाहाल भन्छन् । करिब डेढ दशकदेखि नाटकमार्फत समाज रूपान्तरण गर्दै आएको परिवर्तन थिएटरको नाटक घर छैन । मेची सामुदायिक भवनको दुई कोठामा यो टोलीले निरन्तर नाटक अभ्यास गर्दै आएको छ ।

पूर्वी पहाडको पाँचथरमा नौलो साहित्यिक बिहान, बेनाम नाट्य जमात, हाम्रो थिएटर, युगीन थिएटर, जागरण युवा क्लबजस्ता नाट्य समूह दर्ता भई कार्यरत छन् । यहाँको पनि अन्य जिल्लाको जस्तै साझा समस्या छ, नाटक घर अभाव । तर, नाट्यघर अभावबारे मोरङको विराट मैथिल नाट्यकला परिषद्का संस्थापक नाट्यकर्मी रामभजन कामतको फरक मत छ । ‘नाटक गर्ने कर्मलाई हल हुनु र नहुनुले कुनै फरक पार्दैन,’ कामत भन्छन्, ‘संरचनामा भन्दा पनि गुणस्तरीय नाटक निर्माणमा ध्यान दिन जरुरी छ ।’ उनका अनुसार पूर्वका कतिपय थिएटरहरूमा काम फिटिक्कै नगर्ने अनि भव्य भवन मात्रै खोज्ने गलत परिपाटी छ, यो कुराको अन्त्य हुन जरुरी छ । कोसीपारिको उदयपुरमा एउटा मात्रै नाट्य समूह छ– थिएटर नेपाल । यसलाई नाट्यकर्मी गोपाल किर्तीले नेतृत्व गरेका छन् । किर्तीका अनुसार यहाँका नाट्यकर्मीहरू धमाधम पलायनको बाटोमा छन् ।

प्रकाशित : माघ १९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

सुक्खायाम लम्बिँदा विद्युत् आपूर्तिमा असन्तुलन

विगतका वर्षमा हिउँदमा पनि छिटफुट वर्षा हुने र त्यसले केही न केही भरथेग गर्ने गरे पनि यसपालि सुक्खायाम लम्बिएकाले नदीहरुमा पानी भएन, त्यसको प्रभाव जलविद्युत् आयोजनाहरुमा पर्‍यो । २५ सय मेगावाटका आयोजनाबाट ८ सय मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ
कमल धिताल

सुक्खायाम लम्बिएसँगै यस वर्ष विद्युत् उत्पादन, आयात र आपूर्तिमा असन्तुलन पैदा भएको छ । क्षमताअनुसार विद्युत् उत्पादन हुन नसक्दा औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु भएको छ । भारतबाट पर्याप्त विद्युत् नआउँदा तथा स्वदेशी उत्पादनमा गत वर्षको तुलनामा करिब २ सय मेगावाटले कमी आएपछि उद्योगहरूमा बिजुली कटौती सुरु भएको हो ।

विद्युत् उत्पादन र वितरणमा भारी अन्तरका कारण वीरगन्ज र भैरहवामा रहेका औद्योगिक क्षेत्रमा बिजुली कटौती भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल सामान्य अवस्थामा करिब ८ सय मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । माग भने १२ सय मेगावाटसम्म हुन्छ । पिक आवरमा विद्युत्को माग बढेर करिब १७ सय मेगावाटसम्म पुग्ने गरेको छ ।

यस वर्ष हिउँदमा छिटपुट वर्षा नहुँदा बिजुली उत्पादन घटेर करिब ८ सय मेगावाटमा झरेको छ । गत हिउँदको तुलनामा यो २ सय मेगावाट कम हो । गत वर्ष सुक्खायाममा पनि वर्षा र हिमपात हुने गरेको थियो । यस वर्ष भने माघको अन्तिम हाराहारी आइपुग्दा पनि वर्षा तथा हिमपात नहुँदा यसले देशभरका जलविद्युत् क्षेत्रलाई असर गरेको छ ।

सुक्खा मौसम बढेका कारण हाल जलविद्युत् आयोजनाहरूको कुल उत्पादन क्षमता एकतिहाइमा झरेको हो । विगतका वर्षमा हिउँदमा पनि छिटपुट वर्ष हुने र त्यसले केही न केही भरथेग गर्ने गरे पनि यसपालि सुक्खायाम लम्बिएकाले नदीहरूमा पानी नभएपछि त्यसको प्रभाव जलविद्युत् आयोजनाहरूमा परेको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।

हिउँदमा वर्षा नभएकै कारण यस वर्ष कुल जडित क्षमताको एकतिहाइ मात्रै बिजुली उत्पादन भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

प्राधिकरणका अनुसार हाल देशभरका जलविद्युत् आयोजनाको क्षमता करिब २५ सय मेगावाट छ । यति बेला भने त्यसको एकतिहाइ अर्थात् ८ सय मेगावाट हाराहारीमा मात्र उत्पादन भएको घिसिङको भनाइ छ । ‘यही कारण देशका विभिन्न स्थानमा रहेका औद्योगिक क्षेत्रमा छिटपुट विद्युत् कटौती भएको हो,’ उनले भने ।

बुधबार देशभरका लागि विद्युत्को उच्चतम माग १६ सय ५० मेगावाट थियो । प्राधिकरण र यसका सहायक कम्पनी तथा निजी क्षेत्रबाट उत्पादित बिजुलीको क्षमता आठ सय मेगावाटमा झरेकाले औद्योगिक क्षेत्रमा बिजुली कटौती गर्नुपरेको घिसिङको भनाइ छ । ‘बिजुलीको उच्चतम माग भएका बेला प्राधिकरणले तामाकोसी, कालीगण्डकीलगायतका विद्युत्गृह पूर्ण क्षमतामा चलाउँदा करिब १२ सय मेगावाट उत्पादन हुन्छ,’ उनले भने, ‘तर यो चौबीसै घण्टा उत्पादन हुने परिमाण होइन ।’ त्यसैले भारतबाट प्रतिदिन करिब ४ सय मेगावाट बिजुली आयात गर्ने गरिएको घिसिङले बताए ।

स्वदेशी उत्पादन र आयातसमेत गरेर पनि माग धान्न नसकेपछि औद्योगिक क्षेत्रमा केही घण्टा बिजुली कटौती गर्नुपरेको उनको भनाइ छ । गत वर्षको हिउँदको तुलना गर्दा पनि यस वर्ष विद्युत् उत्पादन करिब दुई सय मेगावाटले घटेको उनको दाबी छ । ‘समयमा वर्षा नभएको र हिमालमा पनि हिउँ रित्तिने क्रम बढेकाले यस वर्ष थप समस्या पर्न सक्छ,’ उनले भने, ‘यसले गर्दा पिक आवरमा बिजुलीको माग धान्न समस्या परेको छ । अन्य समयमा भने खासै समस्या छैन ।’

हाल बिजुलीको उच्च माग करिब १७ सय मेगावाटसम्म पुगेका बेला आयात र उत्पादन गरी ५० देखि एक सय मेगावाट अपुग हुने गरेको घिसिङ बताउँछन् । वीरगन्जको रक्सौल क्षेत्रमा प्रसारण लाइनको समस्या छ । सुनसरीको दुहबीमा पनि प्रसारण लाइनकै समस्या रहेको उनले जनाए । यसले वीरगन्ज तथा भैरहवा औद्योगिक करिडोर क्षेत्रका उद्योगमा बिहान–बेलुका गरी चार घण्टासम्म विद्युत् कटौती भएको उनको भनाइ छ । वीरगन्ज क्षेत्रको विद्युत् कटौती रक्सौलको प्रसारण लाइनको समस्या समाधान भएपछि विद्युत् कटौती हुने क्रम हट्ने घिसिङको दाबी छ ।

घिसिङले केही दुई–चार घण्टा मात्रै भने पनि उता व्यापारीहरू भने प्राधिकरणले १२ घण्टासम्म आफ्ना उद्योगहरूमा विद्युत् कटौती गर्ने गरेको दाबी गर्छन् । प्राधिकरणले अघोषित रूपमा उद्योगहरूमा बिजुली कट्दा झन् समस्या थपिएको उनीहरूको भनाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता प्राधिकरणले बिनाजानकारी विद्युत् कटौती गरेका कारण उद्योगहरूको लागतमा २५ प्रतिशत अतिरिक्त भार थपिएको बताउँछन् । ‘हामीलाई कहिले लाइन आउँछ र जान्छ जानकारी हुन्न । यसले कामदारलाई दिनरात उद्योगमै बसाउनुपरेको छ । यसले उद्योगहरूको उत्पादन लागत बढेको छ,’ उनले भने । प्राधिकरणमा समस्या लिएर गए पनि समाधानका लागि पहल नभएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य कृष्णप्रसाद शर्मा पनि प्राधिकरणले अघोषित लोडसेडिङ गरिदिँदा उद्योगहरू समस्यामा परेका दाबी गर्छन् । ‘एकातिर बैंकको ब्याजदर थेग्नै नसक्ने अवस्था छ, अर्कोतिर उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्,’ उनले भने, ‘त्यसमाथि पनि प्राधिकरणले मनलाग्दी किसिमले विद्युत् कटौती गर्दा हामी सबैतिरबाट मारमा पर्‍यौं ।’ बजार राम्रोसँग चलायमान नभएको र विद्युत् कटौतीको समस्या थपिएपछि उद्योगी थप मारमा परेको शर्मा बताउँछन् । लुम्बिनी क्षेत्रका उद्योगमा आठ देखि १२ घण्टासम्म लोडसेडिङ हुने गरेको उनको दाबी छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने उद्योगीहरूले हल्ला फैलाए जस्तो विद्युत् कटौती नरहेको बताउँछन् । ‘हामीले केही घण्टा विद्युत् कटौती गरेको पक्कै हौं,’ उनले भने, ‘तर उहाँहरूले भने जस्तो सधैं होइन ।’ केही क्षेत्रमा उच्च मागका बेला बिजुली कटौती भए तापनि अन्य समयमा सहज रहेको र घरायसी प्रायोजनको बिजुली कटौती नगरिएको उनले जनाए । हाल १४४ मेगावाट क्षमता रहेको कालीगण्डकी जलविद्युत् आयोजनाको उत्पादन करिब ७० मेगावाटमा झरेको छ । प्राधिकरणको महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो । तर यस आयोजनाबाट अहिले ८० मेगावाट बिजुली उत्पादन भइरहेको छ । ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना पनि ३० मेगावाटमा सीमित भएको प्राधिकरणले जनाएको छ । भारतीय ऊर्जा विनिमय (आईईएक्स) मा बिडिङमा नपरेको अवस्थामा बिहान र बेलुकाको समयमा बिजुली कटौती गर्नुपरेको भट्टराईले बताए । दिउँसोका लागि सौर्य ऊर्जाले केही सहायता गरे तापनि उच्च मागका बेला केही समस्या रहेको उनी स्विकार्छन् ।

सुक्खायाम सुरु भएसँगै नेपालका जलविद्युत् आयोजनाको कुल जडित क्षमता एक तिहाइमा झर्दा भारतबाट भने डे अहेड मार्केटमा बिडिङमार्फत सीमित परिमाणको मात्र बिजुली आयात हुने गरेको छ । त्यही बिजुली पनि आयात नभएका बेला बिहान–बेलुका गरी आठ घण्टासम्म लाइन कटौती हुने गरेको र अरू समयमा समस्या नरहेको भट्टराईको भनाइ छ । प्राधिकरणले कुलेखानी पहिलो, दोस्रो र तेस्रोको कुल १०६ मेगावाटलाई प्रणालीमा आवश्यक परेका बेला सञ्चालन गर्दै आएको छ । यस वर्ष सुक्खायाम बढेको हुँदा विद्युत् वितरण प्रणलीमा झन् समस्या बढ्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । ‘यो समस्या अब पर्याप्त पानी नपेरसम्म समाधान हुँदैन,’ उनले भने, ‘हिमाल पग्लनका लागि हिउँ छैन, पानी नपरेसम्म यो समस्या बढ्छ ।’

प्रकाशित : माघ १९, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×