अब गुगलको पनि एआई टुल- विज्ञान र प्रविधि - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब गुगलको पनि एआई टुल

एजेन्सी

क्यालिफोर्निया — प्रविधिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स एप ‘च्याट जीपीटी’ को चर्चा चुलिइरहेका बेला गुगलले पनि त्यस्तै टुल ल्याउने भएको छ । आगामी दिनमा गुगलका सबै उत्पादनमा च्याट जीपीटीकै शैलीमा उत्तर दिने च्याट बट तयार गरेको र त्यसबारे परीक्षण भइरहेको सीएनबीसी न्युजले जनाएको छ ।

गुगलले पछिल्लो समय परीक्षण गरिरहेको एआई टुल ‘एपरेन्टिस बार्ड’ हो । यसले पनि प्रयोगकर्ताले सोधेका प्रश्नको उत्तर च्याट जीपीटीकै शैलीमा दिने दाबी गरिएको छ ।

‘लाम्डा’ प्रविधिमा तयार हुन लागेको ‘एपरेन्टिस बार्ड’ पनि च्याट जीपीटीको जस्तै एआईमा आधारित छ । तर प्रयोगकर्ताका लागि भने च्याट जीपीटीभन्दा यो थप प्रभावकारी हुने बताइएको छ । किनकि, यसले हालसालै भएका घटना तथा त्यससम्बन्धी विवरणसमेत उपलब्ध गराउने गुगलको दाबी छ । र, प्रयोगकर्ताको सहजताका लागि गुगलले आफ्नो होमपेजको स्वरूप परिवर्तन गरी ‘एपरेन्टिस बार्ड’ पनि समावेश गर्ने जनाएको छ । पछिल्लो समय च्याट जीपीटीका प्रयोगकर्ता बढेसँगै यसले गुगललगायतका सर्च इन्जिनलाई नै विस्थापित गर्न सक्ने आकलन गर्न थालिएको थियो । जसका कारण गुगलले आफ्नै एआई टुल ल्याउन जुटेको जनाइएको छ । तर यसको प्रभावकारिता च्याट जीपीटीको तुलनामा कस्तो हुन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ ।

प्रकाशित : माघ १९, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिका-मेक्सिको युद्ध अन्त्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १८४८ मा आजकै दिन (फेब्रुअरी २) मा मेक्सिको–अमेरिका युद्धको अन्त्य भएको थियो । अमेरिका र मेक्सिकोबीच ‘ग्वाडालुप हिडाल्गो सन्धि’ मा हस्ताक्षर गरेसँगै उक्त युद्ध अन्त्य भएको थियो । सन् १८४६ मा सुरु भएको मेक्सिको–अमेरिका युद्ध खासगरी विदेश भूमिमा लडिएको थियो । 

युद्धमा मेक्सिकोले करिब एक तिहाइ भूमि गुमाएको थियो । हालका अमेरिकी राज्यहरू क्यालिफोर्निया, युटा, नेभादा, एरिजोना र न्यु मेक्सिकोका लगभग सबैजसो क्षेत्र युद्धका क्रममा मेक्सिकोले गुमाएको हो । अमेरिकाले सन् १८४५ मेक्सिकोको टेक्सास आफ्नो देशमा गाभेको थियो ।

त्यसलगत्तै अमेरिकाले टेक्सास–मेक्सिको सीमामा थप विवाद चर्काएपछि दुई देशबीच तनाव सुरु भएको हो । टेक्सासले दक्षिणपश्चिमी भूभाग रियो गान्डेसम्म भएको दाबी गरेको थियो । तर मेक्सिकोले करिब १ सय ६० किलोमिटर टाढा नुएसेज नदीसम्म मात्र सीमा भएको बताएको थियो ।

त्यसैबीच, सन् १८४५ को जुलाईमा अमेरिकी राष्ट्रपति जेम्स के. पोल्कले नुएसेज नदीबाट पश्चिमतर्फ अमेरिकी सेना तैनाथ गरेका थिए । पोल्कले १८४६ को जनवरी १३ रियो गान्डेतर्फ सैनिक अघि बढाउन जर्नेल जाचरी टेलरलाई आदेश दिएका थिए । मेक्सिकोको फौजले पालो अल्टोस्थित नदी पार गरेपछि मे ८ मा दुई देशका फौजबीच युद्ध सुरु भएको थियो ।

राष्ट्रपति पोल्कले कंग्रेसमा बोल्दै ‘मेक्सिकोले देशको भूभागमाथि अतिक्रमण गरेको’ दाबी गरेका थिए । त्यसलगत्तै अमेरिकाले मे १३ मा मेक्सिकोविरुद्ध युद्ध घोषणा गरेको थियो । त्यसपछि दुई वर्षसम्म चलेको युद्धका क्रममा अमेरिकाले १३ लाख वर्गकिलोमिटर भूभाग मेक्सिकोबाट आफूमा गाभेको हो । पछि, सन् १८४८ को फेब्रअरी २ मा मेक्सिकोको ग्वाडालुप हिडाल्गो सन्धि भएपछि दुई देशबीच युद्ध अन्त्य भएको हो ।

प्रकाशित : माघ १९, २०७९ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×