जीविकोपार्जनसँग जोडिएकाले पेट ठूलो कि चुनाव भन्नेमा स्थानीय बासिन्दा अन्योल
जुम्ला र लमजुङ — पातारासी गाउँपालिका–२ तल्फी गाउँका मणिकृष्ण बोहरा यार्चा टिप्न जाने सुरमा थिए । स्थानीय उम्मेदवारले चुनाव सकिएपछि मात्रै जान भनेकाले भोट हाल्ने कि यार्चा टिप्न जाने भन्ने अन्योलमा छन् उनी । प्रत्येक साल यार्चा टिपेर आम्दानी हुने एकदेखि डेढ लाख रुपैयाँ उनका लागि ९ जनाको परिवार पाल्न सहयोगी हुने गरेको छ ।
‘उम्मेदवारहरू चुनावपछि जानुस् भन्दै छन्, हामी दोमनमा छौं,’ उनले भने, ‘जेठ लागेपछि यार्चा कम पाइने हुनाले चुनावकै छेकमा चेप्टा पाटनतिर जानुपर्ला कि π’
२०७४ को स्थानीय तह चुनावमा पातारासीमा झन्डै दुई सय मत खसेन । त्यसबेला धेरैसो स्थानीय यार्चा टिप्न पाटनतिर लागेका थिए । यसपाला पनि त्यस्तै होला भनेर उम्मेदवारहरूले चुनाव सकिएपछि मात्रै यार्चा टिप्न जान अनुरोध गरिरहेका छन् ।
‘अहिले नै नजानुस् त भनेका छौं तर आधाजति गइसकेका रहेछन्,’ नेकपा माओवादीका नेता जन महताराले भने, ‘यार्चा टिपेर चुनावसम्म गाउँ फर्कन सबै दलले अपिल गरेका छन् ।’ हरेक मतको महत्त्व हुने भएकाले चुनाव नै प्रभाव पार्ने गरी यार्चा टिप्न नगइदिन अनुरोध गरिरहेको भन्दै उनले थपे, ‘जनजीविकासँग जोडिएको विषय भएकाले बाध्य बनाउने अवस्था छैन ।’ दलहरूले अनुरोध गरे पनि केही युवा नजिकैको चेप्टा पाटन पुगिसकेका छन् । उनीहरूमध्ये केही चुनावको अघिल्लो दिन गाउँ फर्किने सोचमा छन् । पातारासीमा ८ हजार ५४८ मतदाता छन् । यार्चाकै कारण यसपाला डेढ सयदेखि दुई सय मतदाता उपस्थित हुन नसक्ने स्थानीय नेताहरूको अनुमान छ ।
नेताहरूको भनाइमा स्थानीय भने विश्वस्त छैनन् । अघिल्लो निर्वाचनमा नेताहरूले आफूले चुनाव जिते पैसा कमाउन जोखिम मोलेर पाटन र कालापहाड जान नपर्ने बताए पनि अवस्था नफेरिएको रामकृष्ण बोहराले बताए । स्थानीयका अनुसार यार्चा टिप्ने क्रममा गत वर्ष ३ जनाले विभिन्न पाटनमा ज्यान गुमाए । दुई वर्षअघि बोहरा माथिबाट आएको ढुंगा लागेर घाइते भएका थिए । उनले भने, ‘यार्चा टिप्न पाटन जानु भनेको खाडी मुलुक र कालापहाड जानुभन्दा बढी पीडा हुन्छ तर पनि विकल्प छैन । नेताहरूले सोच्दैनन् ।’
जुम्लाको तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाको पाटनमा यार्चा पाइन्छ । जिल्लाका एक नगरपालिका र ७ गाउँपालिकाका ६० वडामध्ये ४० वडामा यार्चा टिप्ने गरिन्छ । जुम्ला सिँजाका उमेश बुढा दलहरूले वाचा पूरा नगर्दा स्थानीयको दुःख हट्न नसकेको बताउँछन् । ‘निर्वाचनका बेला युवाहरू पाटन नगइदिए हुन्थ्यो भन्छन् । जब निर्वाचनमा जित्छन्, कुनै पनि प्रतिबद्धता कार्यान्वयन गर्दैनन्,’ उनले भने । मुख्यमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भए पनि त्यसबाट नेताका नजिकका मान्छेले मात्रै फाइदा लिइराखेको उनको भनाइ छ । उनले भने, ‘त्यसैले चुनावभन्दा त्यही दुःख झेल्नुपर्ने पाटन नै युवायुवतीको रोजाइ बन्छ ।’
गत वर्ष कोभिडका कारण यार्चा संकलन हुन सकेन । जीविकोपार्जनसँग जोडिएकाले पेट ठूलो कि चुनाव भन्ने अवस्थाले स्थानीय पाटनतिर जान बाध्य छन् । ‘टिप्न गएको मान्छे नआउन पनि सक्छ,’ वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्रीले भने, ‘चुनावले भोको पेट भरिँदैन । नांगो शरीर ढाकिँदैन ।’ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले भने निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरिन् । ‘यो सिजनमा सबै मान्छे पाटनतिर जाने भएकाले भोट कम खस्न सक्छ भन्ने त सुनेको थिएँ । पालिका प्रतिनिधिले नै मतदातालाई पाटन जान रोक्नुपर्ने देखिन्छ,’ उनले भनिन् । चुनावको मुखमा यार्चा टिप्न जाने कि, चुनाव पर्खेर बस्ने भन्ने दोधार जुम्लामा मात्रै छैन । यस्तै परिस्थिति मनाङमा पनि छ । सबैतिर चुनावको रन्कोले छपक्कै छोपिसक्दा मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका स्थानीयलाई यार्चा टिप्ने चटारोले छोपेको छ । यार्चा टिप्ने मौसममै चुनाव परेकाले उनीहरूलाई दोहोरो झन्झट आइपरेको छ । यार्चा टिप्न लेक जाने, बीचैमा फर्केर मतदान गर्न आउने र फेरि फर्केर यार्चा टिप्न लेक पुग्ने ।
पिसाङका ६० घरका ४९ स्थानीय ४/५ घण्टा हिँडेर यार्चा टिप्न लेक पुगेका छन् । मतदानका लागि स्थानीय नफर्केलान् भनेर संरक्षण व्यवस्थापन समितिले उर्दी नै जारी गरी २४ गते फर्किन भनेको छ । यार्चा टिप्न कोप्चुङ लेक पुगेका माथिल्लो पिसाङका दीप तामाङले आफूहरू २४ गते फर्किने योजना बनाएको बताए । अहिले काटेको पुर्जीले चुनावपछि पनि काम गर्ने बताउँदै उनले भने, ‘२५ गतेदेखि टिप्न पाइँदैन, चुनाव सक्नासाथ फेरि लेक नै फर्किने हो ।’ लेक पुगेका स्थानीयलाई चुनाव सकेर फर्कंदा जेठ लाग्ने र त्यतिबेला यार्चा नपाइने डर पनि छ ।
पिसाङका याङडुङ गुरुङका अनुसार स्थानीय यार्चा टिप्न हिँड्न थालेपछि मंगलबार हतारहतार कांग्रेस र एमालेका उम्मेदवार आएर मत माग्न भ्याए । पिसाङस्थित समिति अध्यक्ष लाक्पा टसी लामाका अनुसार सोमबार र मंगलबार १ सय १० जना बाहिरी जिल्लाका र ४ स्थानीयले यार्चा संकलन गर्न पुर्जी काटेका छन् । मनाङको २ वटा लेकमा यार्चा संकलनका लागि अनुमति दिइएको हो । नार र ताचैको सीमा क्षेत्र नम्ग्यखर्कका साथै माथिल्लो मनाङको पिसाङ लेकमा यार्चा संकलनका लागि पुर्जी दिन थालिएको छ । यी दुवै ठाउँमा बाहिरी जिल्लाका बासिन्दालाई समेत प्रवेश खुला छ । पुर्जी काट्न चाहनेलाई अब चुनावपछि आउन भनिएको छ । मनाङमा हरेक वर्ष वैशाख दोस्रो सातादेखि जेठ अन्तिम सातासम्म यार्चा संकलन हुन्छ ।
यस वर्ष यार्चा संकलन पुर्जी दिने सन्दर्भमा एक्याप इलाका संरक्षण कार्यालय मनाङले चैत २३ गते निर्णय गरेको थियो । यार्चा संकलनका लागि नम्ग्य खर्क वैशाख १५ देखि खुला गरिएको छ । नम्ग्यखर्क व्यवस्थापन उपसमितिका अध्यक्ष याद घलेका अनुसार वैशाख २५ गतेसम्मका लागि यार्चा संकलनको समय दिइएको छ । चुनावका बेला एक साता संकलन कार्य बन्द गरिनेछ । ‘अहिले ६५ जनाभन्दा बढी लेकमा पुगेर यार्चागुम्बु संकलन गरिरहेका छन् । २६ गतेदेखि बन्द भएर चुनाव सकिएपछि जेठ २ गतेदेखि फेरि खुला गरिन्छ,’ घलेले भने ।
