कपिलवस्तु — स्थानीय तहको निर्वाचनमा सहभागी हुने महासचिव नेत्रविक्रम चन्दको प्रस्ताव नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा अल्पमतमा परेको छ । शिवराज नगरपालिकास्थित अञ्चलपुरस्थित निर्माणाधीन पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औं पूर्ण बैठकमा पार्टीले जनताको भावना बुझ्न स्थानीय निर्वाचनमा भाग लिनुपर्ने भन्दै महासचिव चन्दले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
शुक्रबारदेखि जारी बैठकमा केन्द्रीय सदस्य, स्थायी कमिटी र केन्द्रीय सल्लाहकारले धारणा राख्ने क्रम बिहीबार सकिएको छ । ७ दिनमा ६८ केन्द्रीय सदस्य, ४ जना स्थायी कमिटी र ४ जना सल्लाहकारले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् । बैठकमा स्थायी कमिटी सदस्यले पहिलो चरणमा धारणा राखेका थिए । स्थायी कमिटी सदस्य सन्तोष बुढामगर र खड्गबहादुर विश्वकर्माले निर्वाचनमा सहभागी हुनुपर्ने चन्दको प्रस्तावमा समर्थन जनाएका छन् । स्थायी कमिटी सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला भने बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।
महासचिव चन्दले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् । उनीहरूले अहिलेको अवस्थामा चुनावी परिणाम जनताको पक्षमा नआउने भन्दै निर्वाचनलाई स्वीकार गरिए क्रान्ति र जनताविरुद्ध धोका हुने बताएका छन् । २८ जनाले भने चन्दको प्रस्तावमा समर्थन गर्दै चुनाव उपयोग गरेर जानुपर्ने धारणा राखेका छन् । आठ जनाले भने पार्टीलाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् ।
सल्लाहकार तीन जनाले पनि निर्वाचनमा सहभागी हुन नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । सल्लाहकार चित्रबहादुर आले, असारे काका र दीर्घ पाण्डेले निर्वाचनमा जान नहुने धारणा राखेका छन् । शंकर खड्काले निर्वाचन बहिष्कार वा उपयोग गर्नेभन्दा पनि अन्य कुनै विधि खोज्नुपर्ने धारणा राखेका छन् । हेम खतिवडा भने बैठकमा अनुपस्थित छन् ।
बैठकमा महासचिव चन्दले बोल्न बाँकी छ । उनले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ शुक्रबार दिने बताइएको छ । चुनाव उपयोग गरेर जाने प्रस्ताव जस्ताको तस्तै पारित हुने सम्भावना कम रहेको एक सदस्यले बताए । बैठकमा एमसीसी, पार्टी संगठन र महाधिवेशनका विषयमा छलफल बाँकी रहेकाले बैठक अझै एक/दुई दिन लम्बिने केन्द्रीय सदस्य भेषराज भुसालले बताए ।
