नयाँ भेरिएन्टपछि सीमामा कडाइ

एन्टिजेन रिपोर्टमा नेगेटिभ भएकालाई मात्र नेपाल प्रवेश अनुमति, रिपोर्ट नभएकालाई हेल्थ डेस्कमा 

पुस ५, २०७८

माधव ढुंगाना, रुपा गहतराज

नेपालगन्ज, भैरहवा — भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि नेपालगन्जस्थित जमुनाह नाकामा सतर्कता बढाइएको छ । सीमामा निगरानी बढाउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । सीमामा चैतदेखि नियमित रूपमा एन्टिजेन परीक्षण हुँदै आएको छ ।विभागबाट मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको थियो । त्यसपछि अहिलेसम्म चार हजारको एन्टिजेन परीक्षण गरिएको हो ।

तीमध्ये दुई जनामा पोजिटिभ केस फेला परेको छ । नाकास्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मी चिरञ्जीवी ज्ञवालीले नियमित रूपमा एन्टिजेन परीक्षण जारी भए पनि संक्रमण पुष्टि संख्या कम रहेको बताए । ‘दैनिक ३ सय ५० जनाको एन्टिजेन परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘पोजिटिभ देखिएका दुईवटा स्वाबलाई तापक्रम मेन्टेन गरेर राखिरहेका छौं, दुई दिनभित्र काठमाडौं पठाउने तयारी छ ।’

एन्टिजेन परीक्षणहरू बढाउने विषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । ‘कामका लागि भारतबाट फर्किने नेपालीको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्न र फेला परेका संक्रमितलाई थप परीक्षणका लागि नमुना संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन नाकामा रहेका हेल्थ डेस्कलाई जानकारी गराएका छौं,’ उनले भने, ‘नाकामा जाँच गरिरहेका छौं तर यसलाई थप बढाएर लैजाने तथा सामाजिक दूरीको अभ्यास फेरि थाल्न जरुरी देखियो ।’ जिल्लामा अहिलेसम्म ६० हजार एन्टिजेन परीक्षण भएका छन् । नाकामा मात्र ५० हजार जनामा एन्टिजेन परीक्षण गरिएको छ । 

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमित फेला परेपछि नेपाल–भारत सीमा क्षेत्रमा रहेका दुवै देशका सुरक्षाकर्मीले कडाइ गरेका छन् । कामका लागि भारत गएर फर्किने नेपालीलाई कोरोना रिपोर्ट हेरेर मात्र अनुमति दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) मीनबहादुर विष्टले बताए । उनले भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि नाकामा कडाइ गरिएको बताए । ‘एन्टिजेन रिपोर्ट भएकालाई मात्र नेपाल प्रवेश गर्न दिन्छौं, नभएकालाई कोरोना जाँचका लागि हेल्थ डेस्कमा पठाउँछौं,’ इन्चार्ज विष्टले भने, ‘भारतबाट ओमिक्रोन भित्रिन नदिन केन्द्रबाट आएको निर्देशनअनुसार सतर्कता अपनाइएको हो ।’ 

नेपालगन्ज नाकाबाट पछिल्लो समय दैनिक २ सय नेपाली स्वदेश फर्किने गरेको प्रहरी तथ्यांक छ । तर, यो संख्या पहिलेको भन्दा धेरै हो । दसैं–तिहारपछि दैनिक सय नेपाली आउँथे । ‘अहिले स्वदेश फर्किनेको संख्या बढेको छ,’ सई विष्टले भने । नाकामा दुवैतर्फबाट आउजाउ गर्नेलाई कडाइ गरिएको छ । भारतबाट फर्किने सबै नेपालीको कोरोना जाँच गर्न थालिएको हेल्थ डेस्क इन्चार्ज गीता गिरी शाहीले बताइन् । उनका अनुसार पहिले समूहमा भएका एक जनाको मात्र जाँच गरे पनि पछिल्लो समय सबैको जाँच गर्न थालिएको बताइन् । ‘कसैलाई नछुटाएर जाँच गर्न निर्देशन छ,’ उनले भनिन्, ‘एकैसाथ धेरै जना आउँदा भीड व्यवस्थापन गर्न गाह्रो छ ।’ 

नयाँ भेरिएन्टको संक्रमण नियन्त्रण गर्न भैरहवा–सुनौली नाकामा पनि भारतबाट आउनेको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । तेस्रो मुलुकका नागरिकको आगमनमा पनि कोभिडविरुद्धको भ्याक्सिन लगाएको कार्ड तथा प्रमाणलाई अनिवार्य गरिएको छ । सशस्त्र प्रहरी बल डन्डा बीओपीका सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालले लामो समय भारतमा बसेर नेपाल फर्केका नेपाली नागरिक र काठमाडौं–पोखरालगायत टाढाको दूरी जाने हरेक यात्रुलाई ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको बताए । ‘पीसीआर रिपोर्ट नभएका यात्रुलाई सीमामै सोधखोज गरेर परीक्षण गर्न लगाइने गरिएको छ,’ उनले भने, ‘सामान किनमेल गर्न नजिकका स्थानबाट आवतजावत गर्ने यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै जाँच र लक्षण हेर्ने गरिएको छ ।’

उनका अनुसार सीमा नाकाबाट नेपालतर्फ आउने सबै यात्रुलाई कोरोना नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले प्रत्यक्ष कुराकानी गरेर कुन देशको नागरिक हो छुट्याइन्छ, पहिला नेपाली भाषामा कुराकानी गरिन्छ । भाषा नबुझेमा कुरा गरेर नै यात्रुको देशको पहिचान गरी त्यहीअनुरूप स्वास्थ्य सतर्कता अपनाउने गरिएको छ ।

भैरहवा–सुनौली सीमा नाकामा कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनासँगै रेडक्रससहितका संस्थाहरूबाट स्वास्थ्यकर्मी र स्वयंसेवक पनि परिचालन गरिएको छ । भारतबाट आएका मालवाहक गाडीका चालक र सहचालकलाई पनि सीमामा रोकेर पीसीआर रिपोर्ट हेर्ने गरिएको छ । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको बताए । ‘विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ,’ उनले भने, ‘केही मुलुकका नागरिकको आगमनमा लगाइएको रोकलाई कडाइका साथ पालना गरिएको छ ।’ उनका अनुसार रूपन्देहीमा १८ वर्षमाथिका ८० प्रतिशतले पहिलो खोप लगाएका छन् भने पूर्ण खोप लगाउने दर ५० प्रतिशतभन्दा माथि छ ।

कोरोना भाइरस

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully