हेटौंडा — मकवानपुरमा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट खोप कार्यक्रमको सुरु गराएका हुन् । मन्त्री खतिवडा उक्त विद्यालयका पूर्व विद्यार्थी हुन् । मन्त्री खतिवडाले विद्यार्थीहरुलाई खोप लगाउन र परिवारमा जानकारी दिनसमेत आग्रह गरेका थिए । खोप नलगाएकाहरुले अनलाइन फाराम भरेर खोप लगाउन मन्त्री खतिवडाले अनुरोध गरे ।
कोभिड–१९ बाट सुरक्षित रहन खोप नै उत्तम भएको मन्त्री खतिवडाको दाबी थियो । भुटनदेवी माविका करिब ७ सय विद्यार्थीलाई मोडर्ना खोप लगाइने विद्यालयका प्रध्यानाध्यापक माधव दाहालले जानकारी दिए । ‘खोप लगाउने विद्यार्थीको अभिभावकलाई पनि जानकारी गराइएको छ,’ उनले भने ।
मकवानपुरमा ५५ हजार डोज मोडर्ना खोप आएको छ । जिल्लामा आएको ५५ हजार मध्ये ३५ हजार खोप हेटौंडा उपमहानगरले पाएको छ । स्थानीय तहले विद्यालयमै खोप केन्द्र बनाएर आइतबारबाट खोप लगाउन सुरु गरेको हो । खोप लगाउनको लागि अनिवार्य अन्य खोपजस्तै अनलाइनबाट फाराम भर्नुपर्ने हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई बताए । चौलागाईका अनुसार नगरका १०४ विद्यालयमध्ये आइतबार २० वटा विद्यालयमा खोप कार्यक्रम चलिरहेको छ ।
वाग्मती प्रदेशमा दुई लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तर्गत वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोडर्ना खोप लगाइने भएको हो ।
