सरकारले कोभिडजन्य फोहोर बिक्रीमा पूर्ण रोक लगाएको छ तर अधिकांश ठूला अस्पतालले आम्दानी स्रोत भन्दै संक्रमण फैलाउन सक्ने यस्ता फोहोर बेचिरहेका छन्
काठमाडौँ — सिरिन्जले पाँचवटा ठूला बाल्टिन भरिएका छन् । ब्लड ब्याग, ग्लोब्स, मास्क, गज, कपासजस्ता कोभिड वार्डबाट संकलित फोहोर प्लास्टिकमा थन्क्याइएको छ । भाइलहरू बोरामा कोचिएका छन् भने केमिकल जथाभावी राखिएको छ । यो दृश्य राष्ट्रिय ट्रमा सेन्टरको हो, जहाँ वीर अस्पतालले कोभिडजन्य फोहोरमैला व्यवस्थापन गर्दै आइरहेको छ । वीरमा कोभिड संक्रमित फोहोर व्यवस्थापन गर्न आधुनिक ‘माइक्रोओभन’ जस्ता प्रविधि छैनन् ।
फोहोर निर्मलीकरण गर्ने दुइटा ‘अटोक्लेभ’ मेसिनमध्ये एउटा तीन महिनादेखि थन्किएको छ । अर्को बेलाबेला बिग्रिइरहन्छ । अमेरिकी सहयोग नियोग (यूएसएड) ले दिएको नयाँ मेसिन पनि तीन महिनादेखि जडान गरिएको छैन । ट्रमा सेन्टरकै सिरिन्ज पनि दुइटा ड्रममा भरिइसकेका छन् । यहाँको अटोक्लेभ सातायता बिग्रिएको छ ।
पाटन अस्पतालमा चारवटा अटोक्लेभ मेसिनमध्ये दुइटा वर्षौंदेखि बिग्रिएका छन् । नयाँ खरिद गरेको दुईमध्ये एउटा दुई महिनादेखि मर्मत हुन सकेको छैन । कोभिड र ननकोभिड वार्डबाट संकलित फोहोर एकै ठाउँमा मिसाइएको छ । पाटन र टेकुको सहिद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले सुईबाहेक ग्लोब्स, भाइललगायत अन्य कोभिडजन्य फोहोर बिक्रीमा पठाउने गरेका छन् । थापाथलीको प्रसूति गृहले पनि कोभिडजन्य फोहोर बिक्रीमा पठाइरहेको छ ।
नयाँ बानेश्वरको सिभिल अस्पतालले कोरोनाविरुद्धको खोपको भाइल र सिरिन्ज माइक्रोओभनमार्फत व्यवस्थापन गर्छ । तर, कोभिड वार्डबाट निस्केको स्लाइन पाइप, गज, कपास, पानीका बोतल, औषधिका बट्टा भने केमिकल प्रयोगको भरमा सिधै विक्रेतालाई पठाउने गरिएको छ । सिभिलमा कीटाणु नष्ट गर्ने अटोक्लेभ मेसिन छैन । माइक्रोओभनले फोहोर स–साना टुक्रा बनाउने भएकाले पुनः प्रयोग गर्न मिल्दैन । महाराजगन्जको त्रिवि शिक्षण अस्पतालले भने कोभिड फोहोर बिक्रीमा रोक लगाएको छ ।
सरकारले स्वास्थ्य संस्थालाई कोभिडजन्य फोहोरमैला बिक्रीवितरणमा पूर्ण रूपमा रोक लगाएको छ । ल्यान्डफिल साइट पुगेका नकुहिने फोहोरसमेत पुनः प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश ठूला अस्पतालले आम्दानी स्रोत भन्दै कोभिडजन्य फोहोरसमेत बिक्री गर्ने गरेका छन् । ‘कोभिड–१९ महामारी आपत्कालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिका–२०७७’ को दफा ५ ले त कोभिडजन्य फोहोरमैला पुनः प्रयोगमा नै बन्देज लगाएको छ ।
फोहोरबाट कोभिड संक्रमण हुन सक्छ/सक्दैन भन्ने ठोस प्रमाण नभेटिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितबाट निस्कने फोहोरलाई संक्रामक मानेको छ । जथाभावी विसर्जन गरी खुला छाडेमा अर्को महामारी फैलाउन सक्ने डब्लूएचओको निर्देशिकामा उल्लेख छ । शुक्रराज अस्पताल टेकुकी फोहोरमैला/आईसीयू इन्चार्ज उषा देवकोटा र प्रसूति गृहकी भवानी खड्काले केमिकल राखेर २४ घण्टापछि अटोक्लेभ गरेपछि कीटाणु नष्ट हुने भएकाले बिक्रीमा पठाउन मिल्ने दाबी गरे ।
जनस्वास्थ्यविद् डा.विन्ज्वला श्रेष्ठ सिरिन्जबाट कोभिड मात्र नभई एचआईभी, हेपाटाइटिस, कुष्ठरोग, टाइफाइड, जन्डिसजस्ता रोग पनि सर्ने खतरा रहेको बताउँछिन् । ‘कोभिडजन्य फोहोर ढलमा मिसिएमा हैजा फैलिन सक्छ । केमिकल मिसिएको माटोबाट उब्जनी हुने खाद्यान्नसमेत हानिकारक हुन्छ,’ उनले भनिन्, ‘अस्पतालले मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले पनि अनुगमन गर्नुपर्यो ।’
कोभिडजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिकाअनुसार कोभिड तामामा ४ घण्टा, कपडा तथा काठमा १ दिन, सिसा र फोहोर पानीमा २ दिन, प्लास्टिक तथा स्टिलमा ४, मेडिकल मास्कको बाहिरी सतहमा ७ दिनसम्म जीवित रहन सक्छ । फोहोर व्यवस्थापनमा लापरबाहीकै कारण गत वर्ष जेठमा संक्रमित फोहोरबाट काठमाडौं महानगरका ३१ जना सफाइकर्मी एकै पटक संक्रमित भएका थिए ।
निर्देशिकाले कोभिड संक्रमित फोहोरको वर्गीकरण ६ किसिमले गर्नुपर्ने औंल्याएको छ । नकुहिने, कुहिने, प्याथालोजिकल (साल, ट्युमर), धारिलो वस्तु, अन्य संक्रामक (कपास, गज, ब्लड ब्यागलगायत) र प्रयोग गरिएका व्यक्तिगत सुरक्षा सामग्री छुट्याउनुपर्छ । जैविक खतरा लेखिएको झोलामा सुरक्षित राख्नुपर्छ । नकुहिने कागज, प्लास्टिक, बोतल, धातु वस्तु अटोक्लेभ गर्नुपर्छ । सुई भने अनिवार्य रूपमा काट्ने मेसिन प्रयोग गरेर अटोक्लेभ वा क्लोरिनको झोलमा डुबाएर खाल्टोमा फाल्नुपर्छ । अति संक्रमित फोहोरमैलाको व्यवस्थापन २४ घण्टाभित्रमा गरिसक्नुपर्छ । फोहोरमैलाको रेकर्डसमेत राख्नुपर्नेमा अधिकांश अस्पतालहरूले त्यसो गर्दैनन् ।
वीरमा दैनिक हजार जनाभन्दा बढीले भ्याक्सिन लगाउने गरेका छन् । फोहोर व्यवस्थापनमा लामो समयदेखि अस्तव्यस्त हुँदा पनि सुधार गर्न न वीर प्रशासनले चासो दियो न स्वास्थ्य मन्त्रालयले नै । वीर अस्पताल प्रमुख भूपेन्द्रकुमार बस्नेतले मेसिन बिग्रिने/मर्मत गर्ने क्रम निरन्तर चलिरहने सामान्य प्रक्रिया रहेको बताए । आफूहरूले कोभिडजन्य फोहोर व्यवस्थापन गरिरहेको उनले दाबी गरे पनि अस्पतालको दृश्यमा त्यस्तो देखिन्न ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले डब्लूएचओको निर्देशिकाअनुसार नै फोहोर व्यवस्थापन गर्दै आइरहेको दाबी गरे । ‘सुई ठेकेदारले लैजान्छ,’ उनले भने, ‘मेसिन बिग्रिने/मर्मत गर्ने नियमित प्रक्रिया हो ।’ फोहोरमैला व्यवस्थापनसम्बन्धी निर्देशिकामा विभिन्न अध्यनमा राजधानीको मलमूत्रमा समेत कोभिड भाइरसको अंश भेटिएको छ ।
कोभिड महामारीका कारण फोहोरमैला व्यवस्थापन चुनौती थपिएको छ । शंकास्पद, लक्षण देखिएकाबाट उत्पादित फोहोरमैला सुरक्षित किसिमले व्यवस्थापन भइरहेको छैन । क्वारेन्टिन, आइसोलेसन, होल्डिङ क्षेत्र, संक्रमित घरधुरीबाट उत्पादित फोहोर सिधै संकलककहाँ पठाइएको छ । गाउँघरतिर भने वन क्षेत्रमा त्यसै फालिएको छ । संक्रमण बढ्दा फोहोर उत्पादन पनि बढ्छ । फोहोरमैला विशेषज्ञ महेश नकर्मी थोरै फोहोरले पनि संक्रमण फैलिने बताउँछन् । ‘सकेसम्म संक्रमित फोहोरमैला उत्पादन स्रोतमै घटाउनुपर्छ । यसमा स्थानीय तहको भूमिका प्रमुख रहन्छ, बिरामी वा घरधनीले पनि जिम्मेवारी निभाउनुपर्यो,’ उनले भने ।
कोभिड फोहोरमैला व्यवस्थापन निर्देशिका अनुसार संक्रमित फोहोर संकलन, ढुवानी तथा व्यवस्थापन छुट्टै गर्नुपर्छ । तर, स्थानीय तहले यसमा बेवास्ता गरेका छन् । काठमाडौं महानगरका प्रवक्ता ईश्वरराज डंगोल भन्छन्, ‘होम आइसेलेसन र क्वारेन्टिनबाट निस्कने फोहोर ७ दिनपछि मात्र उठाउन भनेका छौं । अटोक्लेभ गरिसकेपछि कीटाणु नष्ट हुने भएकाले अस्पतालको फोहोर छुट्टै ढुवानी गर्न आवश्यक छैन ।’
स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीको नेतृत्वमा अनुगमनमा जान निर्देशन दिइसकेको बताए । अधिकारीले भने २५ बेडसम्मको अस्पतालको अनुगमन स्थानीय तहले गर्नुपर्ने र तीन सयभन्दा माथिका बेडको मन्त्रालयले गर्ने तयारीमा रहेको बताए । ‘चाँडै नै अनुगमन गरेर निमय पालना नगर्नेलाई कारबाहीका लागि सिफारिस गरिनेछ,’ उनले भने ।
