नयाँदिल्ली — भारतीय अधिकारीहरूले कोभिड–१९ को तेस्रो लहर रोक्नका लागि तयारी सुरु गरिसकिएको जनाएका छन् । पुनेस्थित भारतकै पुरानो जिनोम सिक्वेन्सिङ केन्द्र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) का विशेषज्ञलाई पछिल्ला दिनमा भ्याइनभ्याइ छ ।
ओमिक्रोन भेरिएन्टको फैलावट तीव्र बनिरहेका बेला एनआईभीजस्ता प्रयोगशालामा दैनिक करिब सयवटा नमुनाको परीक्षण गर्ने गरिएको छ । पहिलाको तुलनामा हाल ५ गुना बढी नमुना परीक्षणका लागि पठाइने गरिएको एनआईभीकी एक वरिष्ठ वैज्ञानिक डा. वर्षा पोतदारले बताइन् । उनका अनुसार हावा नछिर्ने कोठामा विशेषज्ञहरूले संक्रमणबाट जोगिने पहिरन लगाएर परीक्षण गर्ने गर्छन् ।
‘परीक्षणको नतिजा छिटो दिन हामीहरूलाई यतिखेर निकै दबाब छ । हामीले यो काम छिटो गर्ने प्रयास गर्छौ, तर यो तत्काल हुने प्रक्रिया होइन,’ पोतदारले भनिन् । नमुनालाई सिक्वेन्सिङ गर्ने उपकरणमा राख्नका लागि तयार पार्न नै घण्टौं लाग्ने उनको भनाइ छ । परीक्षका लागि प्रयोग हुने उपकरणले निकाल्ने तथ्यांक सबैभन्दा पहिले कोभिड–१९ को प्रकारसँग तुलना गरिन्छ । र त्यसका आधारमा भेरिएन्टबारे टुंगो लगाउने गरिन्छ ।
यस वर्षको सुरुमा देखिएको डेल्टा भेरिएन्टबारे समयमै पर्याप्त विवरण नदिएको भन्दै भारतको निकै आलोचना भएको थियो । भारतबाट सुरु भएको डेल्टा भेरिएन्ट निकै छिटो समयमा नै विश्वभर फैलिएको थियो । ‘त्यसबाट हामीले निकै सिक्यौं,’ एनआईभीका निर्देशक डा. प्रिया अब्राहमले भनिन् । ‘हाम्रो प्रयास अब यसलाई सकभर फैलन नदिने रहन्छ । किनकि यससलाई जति फैलिने अवसर दिइन्छ, त्यति नै धेरै नयाँ भेरिएन्ट देखापर्ने सम्भावना बढ्छ ।’ तर जनसंख्याका कारण रोकथाम गर्न नसकिने उनको बुझाइ छ ।
‘हामी अमेरिका वा बेलायतजस्तो विकसित छैनौं । उनीहरूको जस्तो पूर्वाधारको पनि कमी छ । तर हामी सबै जना सचेत रहनुपर्छ,’ उनले भनिन् । भारतको आधाभन्दा धेरै वयस्क जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेकाले पनि स्वास्थ्यकर्मीहरू केही ढुक्क छन् । तर ठूलो जनसंख्या भएकाले भारतका करोडौं मानिसहरू अझै जोखिममा छन् । ओमिक्रोनका कारण तेस्रो लहर फैलिएको खण्डमा संक्रमितको चाप धान्न नसकिने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
‘दोस्रो लहरमा अस्पतालको क्षमता नपुगेको मात्र हैन, स्वास्थ्यसेवाको माग पनि निकै गुणा बढी भएको थियो,’ मुम्बईस्थित एक चिकित्सक स्वप्निल पारिख भन्छन्, ‘त्यसले हाम्रो स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउनुको विकल्प छैन ।’
