वाग्मतीमा २ लाख बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने

पुस ४, २०७८

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा दुई लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तर्गत वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोर्डना खोप लगाइने भएको हो । यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको वाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए ।

आइतबार मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान सुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् ।

खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न वाग्मती प्रदेशका सबै स्वास्थ्य ईकाईहरूलाई स्पष्ट निर्देशन दिइएको मन्त्री निमा लामाले बताए । उनले खोप सञ्चालन हुने जिल्लाका स्वास्थ्य ईकाईहरूले स्थानीय तह र विद्यालयहरूसंग समन्वय गरी लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउने बताए ।

खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।

कोरोना भाइरसकोरोना खोप

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully