एमाले महाधिवेशन

दिनभर कुरेको कुर्‍यै प्रतिनिधि

नयाँ नेतृत्वको नाम सुन्ने आसमा अधिकांश प्रतिनिधिले कुरेरै दिन कटाए । दिन ढल्किँदै गर्दा कतिपय भने दिक्दार मान्दै घुमफिरमा लागे । केहीले पुराना साथीसँग भेटेर गफिँदै आफूलाई व्यस्त बनाइराखे ।
रमेशकुमार पौडेल

चितवन — एमालेको १० औं महाधिवेशनका लागि सौराहामा रहेका प्रतिनिधि बन्दसत्र सुरु नहुँदा आइतबार दिनभर कुरेको कुर्‍यै भए । शनिबारका लागि बन्दसत्र तोकिए पनि सर्वसम्मत नेतृत्व छनोट गर्ने भन्दै आइतबारका लागि सारिएको थियो । नयाँ बिहानीसँगै सकारात्मक खबर पाउने अपेक्षामा प्रतिनिधिहरू बन्दसत्रका लागि तोकिएको होटल सेभेनस्टार पुगे पनि उनीहरूका सामु कुर्नु र समय कटाउनुको विकल्प रहेन ।

दिनभर कुरेको कुर्‍यै प्रतिनिधि

साँझ ७ बजेबाट बन्दसत्र सुरु हुने बताइएपछि साँझपख प्रतिनिधिहरूको जमघट बढ्न थाल्यो तर यसपल्ट पनि उनीहरू निराश बने । पूर्वनिर्धारित कार्यक्रमअनुसार नेतृत्व चयनका लागि मतदान भए मताधिकार सुरक्षित गर्ने वा सर्वसम्मत भए ताली बजाएर घर फर्किन्थे तर दिनभर त्यो अवसर जुरेन ।

उता सहमतिमै नेतृत्व छान्ने कसरतमा केन्द्रीय नेताहरू दिनभर बन्दसत्र स्थलभन्दा झन्डै ५ सय मिटर पर राप्ती किनारमा रहेको होटल फार्क सफारीमा छलफलमै व्यस्त रहे । त्यहाँबाट आउने नाम सुन्न आतुर प्रतिनिधिहरूले प्रतीक्षामै दिन बिताए । दिन ढल्किँदै गर्दा कतिपय भने दिक्दार मान्दै घुमफिरमा लागे । केहीले पुराना साथी (कमरेड) सँग भेटेर गफिँदै आफूलाई व्यस्त बनाई राखे ।

बैतडीबाट प्रतिनिधिका रूपमा आएकी होमा भट्ट बन्दसत्र सुरु हुने साइत जुर्ला जस्तो नदेखेपछि घुम्न निस्किइन् । उनी चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु हेर्न साथीहरूसँगै जंगल सफारीमा निस्किइन् । कैलालीका नरबहादुर खड्का भने घुम्न गएनन् । बन्दसत्र सुरु हुने आसमा दिनभर कुरेरै बसे । साँझपख राप्ती तटसम्म भने पुगे । अर्का प्रतिनिधि लोकबहादुर डाँगीले बन्दसत्र सुरु हुने समय कुर्दा अत्यास लागेको बताए । ‘तर धैर्य गर्‍यौं । बन्दसत्र सुरु भएपछि उहाँहरूले जुन नामावली पेस गर्नु हुनेछ, त्यसले हललाई उत्साहित गराउनेछ भन्ने ठूलो आशा राखेका छौं । नेताहरू दिनभर त्यसैका लागि जुटेका छन् भन्ने हामीले ठानेका हौं,’ डाँगीले भने । काठमाडौंबाट आएकी इन्दिरा पन्तलाई भने प्रतिनिधिहरूलाई दिनभर खाली राखेकामा चित्त बुझेको थिएन ।

समसामयिकदेखि सैद्धान्तिक विषयमा प्रशिक्षण कार्यक्रम राखेको भए फलदायी हुने उनको भनाइ थियो । ‘नेताजीहरू सहमतिबाट नेतृत्वकर्ताको सूची बनाउन व्यस्त हुनुभयो, त्यो राम्रो नै हो । तर कामविहीन प्रतिनिधिहरूका लागि पनि केही गर्न सकेको भए समयको सदुपयोग हुन्थ्यो,’ उनले भनिन् । विधान अधिवेशनले पारित गरेका दस्ताबेज र प्रतिवेदनका बारेमा प्रशिक्षण दिएको भए ठीक हुने उनले बताइन् । ‘पार्टीका आन्तरिक र समसामयिक विषयहरू छन् । जस्तै कोभिडको असरका बारेमा पनि कुरा गर्न सक्ने जनशक्ति हामीसँग उपलब्ध छन् । नेताजीहरू छलफलमा व्यस्त रहँदा प्रतिनिधिहरूका माझमा यस्ता विषयमा प्रशिक्षण दिन सकिन्थ्यो,’ उनले विकल्प सुनाइन् ।

संखुवासभाका भविश्वर गुरुङले बन्दसत्र सुरु नहुँदा समय कटाउन पुराना साथीहरू खोज्दै हिँडेको सुनाए । ‘पहिला अखिलमा राजनीति गरियो । अधिवक्ता भएका कारण बार एसोसिएसनमा पनि बसियो । महाधिवेशन साथीभाइहरू भेट्ने अवसर पनि हो । दिउँसो बन्दसत्र सुरु भएन । त्यसैले प्रतिनिधि भएर आएका संगठनका पुराना साथीहरू खोजें । भेटियो पनि । भलाकुसारी गरेर दिन कटाएँ,’ गुरुङले भने ।

बन्दसत्र सुरु हुने आसमा प्रतिनिधिहरूले दिन बिताए पनि यो समय त्यसै खेर नजाने दाबी महाधिवेशन आयोजक समितिमा रहेका रामचन्द्र मण्डलको थियो । ‘नेताजीहरू छलफलमा जुट्नुभएको हो । छलफल नसकिएर बन्दसत्र सुरु हुन सकेन । छलफल सर्वसम्मत नेतृत्व कसरी बनाउन सकिन्छ भनेर भएको हो । त्यसैले सार्थक कामका लागि नै समय खर्चिएको हो,’ नेता मण्डलले भने ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?