१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
एमाले महाधिवेशन

चुनाव प्रतीक्षामा राम-लक्ष्मण

सय मेसिन तयार राखेको प्राविधिकको समूह निर्वाचन नहुने संकेतले अलमलमा 

चितवन — मतपत्रमा छाप लगाएर बाकसमा खसाल्ने परम्परागत प्रविधिलाई इलेक्ट्रिक भोटिङ मेसिनले सजिलो पारेको छ । निश्चित समयावधि मतदान गर्‍यो, नतिजा आउन मतपत्र गणना जत्तिको ढिला हुँदैन । एमाले महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयनका लागि इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग हुने भनेर बोलाइएपछि राम–लक्ष्मण रिमालसहित ४१ जनाको प्राविधिक टिमको मनोबल नै उच्च थियो । 

चुनाव प्रतीक्षामा राम-लक्ष्मण

काठमाडौंबाट चितवनका लागि भोटिङ मेसिन लिएर जाँदा राम–लक्ष्मणले बेग्लै उत्साह महसुस गरेका थिए । सोमबार बल्ल चुनावी कार्यक्रमको सूचना निस्कँदा मतदान हुने/नहुने अनिश्चित छ । मध्यरात भोटिङ मेसिन तयार राखेको प्राविधिक टिम अलमलमा छ । ‘पूरै तयारीमा सिस्टम तयार बनाएर राखेका छौं । उम्मेदवारको अन्तिम नामावली दिएपछि फोटोसहित मेसिनमा राख्छौं’ लक्ष्मणले भने, ‘मतदान भइसकेपछि परिणाम आउँदासम्म १५ घण्टा समय लाग्नेछ ।’

चितवन सौराहास्थित महाधिवेशन स्थलमा राम–लक्ष्मणको टिम त्यही मतदान कुरिरहेको छ । तर एमालेको नवौं महाधिवेशनजस्तो अन्तिम अवस्थामा आएर मेसिनको प्रयोग नहुने सम्भावना यसपटक पनि प्रबल छ । त्यसैले भोटिङ मेसिन तयार राखेर पर्खिरहेको समूह केही हतास र निराश देखिएको छ ।

एमालेकै काठमाडौंको भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनमा राम–लक्ष्मणले बनाएको इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी भएको थियो । त्यसबेला माधवकुमार नेपाल पक्षले नमानेको स्मरण गर्दै लक्ष्मणले यसपटक त्यस्तो नहोस् भन्ने कामना गरे । ‘त्यस बेला तयारी गरेर पनि हाम्रो मेसिन प्रयोग हुन पाएन,’ उनले भने, ‘यसपटक पनि अनिश्चितता जस्तो अवस्था देखिएको छ ।’

नवौं महाधिवेशनमा नेपाल समूहले मेसिनप्रति शंका व्यक्त गरेको थियो । त्यसपछि राम–लक्ष्मण टिमले मेसिनको विश्वसनीयताबारे स्पष्ट गरेको सम्झिए । ‘त्यस बेला हामीले मेसिन बनाउन लागेको भन्दा कम रकम लिएका थियौं,’ उनले भने ।

दसौं महाधिवेशनका लागि एमालेले राम–लक्ष्मण टिमलाई ईभीएमका लागि डेढ महिनाअघि प्रस्ताव गरेको थियो । त्यसपछि उनीहरूले मेसिन बनाउन सुरु गरेका थिए । ‘डेढ महिना तयारी गर्‍यौं । पहिले ३० मेसिन थिए, ७० थप बनायौं,’ लक्ष्मणले भने, ‘सय वटा मेसिन तयारी अवस्थामा छन् ।’ गत आइतबार मध्यरात उनको टिम मेसिन प्रयोग गर्न तयारीमा थियो । बन्दसत्रमा केन्द्रीय नेतृत्वको नामसमेत प्रस्ताव भएको थिएन । नेतृत्वको प्रस्तावित नाममा असहमत हुनेहरू चुनावी बाटोमा जान्छन् ।

निर्वाचनमा जाने प्रक्रिया सुरु भए मात्रै मेसिनले काम पाउँछ । उम्मेदवारको अन्तिम नामावली प्रस्तावित भएपछि मात्र मतदानका लागि मेसिनमा इन्ट्री गरिनेछ । ‘हामी चुनाव गर्ने प्रक्रिया सबै गरिसक्छौं । चुनाव हुने भए सोमबार बिहान ९ बजेदेखि मतदान गराउन तयारी अवस्थामा छौं,’ लक्ष्मणले भने । मेसिनमा उम्मेदवारको नाम र फोटो राखिसकेपछि मतदानका लागि मेसिन तयार हुन्छ । ‘विश्वसनीयताका लागि एक–एक मेसिनमा उम्मेदवारको विवरण इन्ट्री गर्नुपर्ने उनले बताए । ‘केही गरी गणनाका बेला मेसिनमा समस्या आए हामीले तीन ठाउँमा ब्याकअप राखेका छौं । मतदान गरेको डाटा सुरक्षित रहन्छ,’ उनले भने, ‘मतदान गरिसकेपछि कसैले पनि ह्याक गर्न सक्दैन । मत तल–माथि गर्न सक्दैन ।’

चुनाव नभए तयारीका लागि गरेका सबै मिहिनेत खेर जाने लक्ष्मणको भनाइ छ । ‘हाम्रो मेसिनबाट मतदान गराउन हामी व्यग्र प्रतीक्षामा छौं,’ उनले भने । इलेक्ट्रिक भोटिङ मेसिनको प्रयोगका लागि रिमालको टिमले एमालेसँग ५० लाख रुपैयाँको सम्झौता गरेको छ । अब चुनाव नै नभए के हुन्छ ? ‘एमालेसँग छलफल गरेर कुरा टुंग्याइनेछ,’ उनले भने ।

राम–लक्ष्मणले हालसम्म मेसिनबाट ९२ वटा चुनाव गरिसकेका छन् । एमालेको महाधिवेशनपछि राप्रपाले राम–लक्ष्मणको मेसिन कुरेर बसेको छ । ‘राप्रपाको यही १५, १६, १७ का लागि काठमाडौंमा निर्वाचन हुने भनेर सम्झौता छ । त्यसका लागि पनि तयारी गरेका छौं,’ उनले भने, ‘राप्रपाको ४५ सय जना प्रतिनिधि हुनुहुन्छ । त्यहीअनुसार काम सुरु गरिसकेका छौं । राप्रपाको दुई महाधिवेशन, कांग्रेसको महिला संघ, नेविसंघको चुनाव गर्‍यौं । राष्ट्रिय अपांग महासंघको चुनाव दृष्टिविहीन व्यक्तिले बोलेर भोट गर्ने बनाएर गरेका थियौं ।’

प्रकाशित : मंसिर १३, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?