महाधिवेशन स्थलमा प्रवेश गर्न नसकेपछि हजारौं कार्यकर्ताले नारायणी पुलबाटै सुने भाषण, बजार क्षेत्रमा एम्बुलेन्सले समेत बाटो पाएन
चितवन — एमालेको दसौं महाधिवेशन उद्घाटनको दिन शुक्रबार चितवनको यातायात अस्तव्यस्त बन्यो । देशका विभिन्न क्षेत्रबाट चितवन भित्रिएका सवारीलाई व्यवस्थित रूपमा तोकिएको स्थानमा रोक्न नसक्दा महाधिवेशनस्थल प्रवेश तथा राजमार्ग क्षेत्र पूर्णरूपमा अस्तव्यस्त बनेको थियो ।
उद्घाटन समारोहमा सवारी र भीड व्यवस्थापन गर्न प्रहरी, सशस्त्र र ट्राफिक गरी करिब २ हजार ५ सय सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालित भए पनि मुख्य बजार क्षेत्र अस्तव्यस्त बन्यो । विभिन्न जिल्लाबाट आएकाहरू नारायणी तीरमै नपुगी फर्किए । ‘धेरै भीड भएका कारण महाधिवेशनस्थलमै नपुगी फर्कियौं,’ बर्दिया बडैया–९ की चन्द्र भुजेलले भनिन् । उनले भीडका कारण चार घण्टा साथीहरूसँग छुट्टिएर बस्नुपरेको बताइन् ।
एमालेको दसौं महाधिवेशन उद्घाटन कार्यक्रमअघि नारायणी पुलमा देखिएको भीड । तस्बिर : अंगद ढकाल/कान्तिपुर
महाधिवेशन स्थलमा प्रवेश गर्न नसकेपछि नारायणी पुलबाटै हजारौं कार्यकर्ताले नेताहरूको भाषण सुनेका थिए । ‘भार बढी भएर पुल नै भूकम्प आएको जसरी हल्लियो, धन्न केही भएन,’ भक्तपुर–३ का रामेश्वर भैलले भने । पुलमा क्षमताभन्दा बढी सर्वसाधारण पुग्दा जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो । ४ सय २० मिटर लामो यो पुल २०३७ मा निर्माण भएको थियो । यो पुलको म्याद सकिएपछि यसअघि नै नयाँ पुल निर्माण गर्न विज्ञहरूले सुझाएको स्थानीयले बताएका छन्
भक्तपुर–४ का कृष्णप्रसाद चौहालले महाधिवेशन नीति र नेतृत्वभन्दा पनि शक्ति प्रदर्शनका रूपमा परिणत हुँदा यस्तो अवस्था सिर्जना भएको बताए । ‘महाधिवेशनले नीति र आगामी कार्यदिशा तय गर्नुपर्ने हो तर त्यसो भएन,’ उनले भने । उनले सर्वसाधारण र कार्यकर्ताले दुःख नपाउने गरी महाधिवेशन गर्नेतर्फ दलहरूको ध्यान पुग्न जरुरी रहेको औंल्याए । विभिन्न जिल्लाका सहभागी उद्घाटन समारोह सकिँदासम्म पनि महाधिवेशन स्थलतर्फ जाँदै थिए ।
महाधिवेशन उद्घाटन समारोह सुरु हुनुभन्दा एक घण्टा अगाडिबाट चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा भएको सवारी जामका कारण बिरामी बोकेको एम्बुलेन्स घण्टौं रोकिएका थिए । चितवनतर्फ सातवटा बिरामी बोकेको एम्बुलेन्स र एउटा नेपाली सेनाको सवारीका साथै थुप्रै यात्रुवाहक र साना सवारीसाधन जाममा रोकिएका थिए । एम्बुलेन्स जाममा फसेसँगै ट्राफिक प्रहरी, नेपाल प्रहरी र सेनाले लामो प्रयास गर्दा पनि समस्या समाधान हुन सकेन ।
उद्घाटनका दिन सडकमा सवारी चल्न नदिने भने पनि नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । चितवनबाट नवलपरासी गइरहेका तीनवटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले बाटो खुलाउन नसक्दा यतै फर्काएको थियो । ‘१२ बजेदेखि एम्बुलेन्सभित्रै छौं, केही खान र चार दिनको बच्चालाई केही खुवाउन पाएका छैनौं,’ शुक्रबार साँझसम्म एम्बुलेन्समै फसेकी गैंडाकोट–७ गैरीकी सुत्केरी २५ वर्षीया लक्ष्मी सापकोटाले भनिन् । उनीसँगै रहेका उनका परिवारका सदस्य भने आत्तिएर प्रतिक्रियाविहीन भइरहेका थिए ।
ट्राफिकलाई सोधेरै आए पनि जाममा फसेको उनीहरूले बताइरहेका थिए । उनीसँगै रहेका १० जना यात्रु पनि कारभित्रै गुम्सिएर दिनभर बस्न बाध्य भएका थिए । देशको पूर्वी र पश्चिम क्षेत्रबाट आएका एमाले कार्यकर्ता महाधिवेशन स्थल प्रवेश पुलनजिकैबाट गर्नुपर्ने भएका कारण उक्त स्थानमा जाम भएको हो । ‘हामीले भीड हटाएर राजमार्ग सञ्चालन गर्न खोजेका हौं तर सकेनौं, पुलबाट महाधिवेशन स्थल सजिलै देख्न र फोटो खिच्न सहज हुने हुँदा मानिसको घुइँचो लाग्यो,’ वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले भने ।
बाजुराबाट मंसिर ७ मा हिँडेका कलकबहादुर सिंह शुक्रबार मात्र चितवन आइपुगे । ‘शुक्रबार रातिबाट बस्ने स्थान टुंगो लागेको छ, तीन दिनको यात्रा बसमै भयो,’ उनले भने । उनीजस्तै देशभरबाट आएका कार्यकर्ताले बस्ने स्थान नपाउँदा बसमै रात बिताए । उनीहरूले नारायणी र राप्ती किनारमा खाना पकाएर खाए ।
ललितपुरबाट आएको दुई सय जनाको टोलीले नारायणी किनारमा मादल बजाएर दोहोरी गाउँदै बिहीबारको रात काटेका थिए । शुक्रबार बिहान मौलाकालिका मन्दिरको दर्शन गरेर नारायणी तीरमा मादल बजाउँदै गरेकी भक्तपुर चाँगुनारायण–८ की चन्द्रकला दुलालले गीतबाटै आफ्नो पार्टी र नेताको प्रशंसा गरिरहेकी थिइन् । महाधिवेशनमा सहभागी हुन चितवन आएकालाई कोठा अभाव भएपछि हलमै समेत सुत्ने प्रबन्ध व्यवसायीले मिलाएका थिए । कोठा नभएका धेरैले बसमै रात बिताएका छन् ।
पूर्व र पश्चिमबाट रातभर बसमा आएका केही सहभागी सभास्थलकै चौरमा सुतेका थिए । केही सहभागी नारायणी नदीमै बोटिङ गर्न व्यस्त थिए । टाढाटाढाबाट आएका सहभागी नारायणी किनारामा खाना पकाएर खाइरहेका थिए । उनीहरूले पकाउने खाद्यान्न र भाँडाकुँडा बसमै ल्याएका थिए ।
उद्घाटनमा सहभागी हुन १३ महिने छोरी पिठ्युँमा बोकेर आएकी रोल्पाकी २६ वर्षीया नरमाया पुन उत्साहित हुँदै घर फर्केकी छन् । नारायणी किनारमा धेरै भीड भएका कारण पुलनजिकको सडकछेउमा बसेर उनले भाषण सुनिन् । ‘मानिस औधी भेला भएका रहेछन्, खुसी लाग्यो,’ उनले भनिन् । उनको साथमा पति र सासू पनि थिए । उनीहरूलाई घर फर्कनका लागि बससम्म पुग्न पनि हम्मे भएको थियो ।
दाङका ६७ वर्षीय भगवान चौधरी पनि महाधिवेशनमा सहभागी हुन आएका थिए । ‘मान्छे धेरै देखियो तर नेताहरूको कुरा राम्रोसँग सुन्न पाइएन । बेलाबेला माइकको आवाज नआउने भएकाले त्यति राम्रो सुन्न पाइएन,’ उनले गुनासो गरे ।
रौतहटबाट आएका गमरियाका सन्तलाल यादवले महाधिवेशन स्थलमा आइपुग्न झन्डै एक घण्टा हिँडेर आउनुपरेको बताए । ‘तर धेरै मानिस देखियो, नेताहरूको कुरा सुनियो, राम्रै लाग्यो,’ उनले भने । पूर्वतर्फबाट आएका बस टिकौलीमै रोकिएका थिए । त्यहाँबाट सहभागीहरू महाधिवेशन स्थलसम्म हिँडेर आएका थिए । उद्घाटनमा सहभागी हुन आएका पूर्वी नवलपरासीका सुन्दर थापा नेताहरूको भाषण सुनेर घर फर्कने क्रममा शौचालयको व्यवस्था नभएकामा गुनासो गर्दै थिए । ‘कार्यक्रम राम्रै भो तर शौचालयको व्यवस्था नभएकाले समस्या भोग्नुपर्यो,’ उनले भने ।
