कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
एमाले महाधिवेशन

भीड छिचोल्नै मुस्किल

एमाले अध्यक्ष ओलीलाई नजिकबाट हेर्न र भाषण सुन्न आएका कार्यकर्ता भीड छिचोलेर मञ्चसम्म पुग्नै सकेनन्
रमेशकुमार पौडेल

चितवन — रूपन्देही तिलोत्तमा नगरपालिका–११ का रणसिंह थापा १२ कक्षा पढ्ने छोरी अनिशालाई लिएर एमाले महाधिवेशन उद्घाटन समारोहमा केपी शर्मा ओलीको भाषण सुन्न शुक्रबार चितवन आएका थिए । दिउँसो ३ बजेतिर एमाले अध्यक्ष ओलीको मन्तव्य सुरु हुँदा रणसिंह मञ्चभन्दा धेरै पर पुल्चोकमा हतास मनस्थितिमा भेटिए ।

भीड छिचोल्नै मुस्किल

‘मञ्च भएको ठाउँमा पुग्न सक्ने छाँट देखिएन । घर फर्कने भनेको पुलमा आम्मा कत्रो जाम हो ? भीडले गर्दा छोरी झन्डै बेहोस भई,’ उनले भने, ‘यो अवस्था देखेपछि त छोरी भाषण सुन्न कहीं कतै नजाने हुन्छे कि क्या हो !’ उनीहरू चढेर आएको गाडी पुलपारि थियो । उनले आफ्नो वडाबाट मात्रै आठवटा बस र २ वटा बलेरो जिपमा मानिस आएको सुनाए ।

पुलको भीड छिचोलेर गैंडाकोटबाट नारायणगढ छिर्न नवलपुर कावासोतीकी वृन्दा गैरेलाई झन्डै डेढ घण्टा लाग्यो । गैरेले पुलको जाम पार गरे पनि नदी किनारको भीड नाघेर मञ्च वरपर पुग्न सकिनन् । त्यसैले उनी पुलनजिक नै बसेर माइकमा सुन्ने प्रयास गरिन् । तर माइकले राम्रोसँग काम नगर्दा को बोलेको हो, के भनेको हो भन्ने मेसो पाइनन् । ‘पार्टीको महाधिवेशन हो । नेताको भाषण सुन्न पाएको भए राम्रै हुन्थ्यो । तर पाइएन । भीड धेरै हुनाले सजिलै ठाउँमा पुग्न सकिएन । पार्टीलाई विश्वास गरेर नै मान्छे आएका रहेछन्, त्यसैले यस्तो भीड भयो,’ गैरेले भनिन् ।

नवलपुर हुप्सीकोटका मनिका आले, हिरा कानु, गंगीसरा राना सूर्य चिह्न अंकित सेतो झन्डा समाएर बसेका थिए । उद्घाटन कार्यक्रममा आए पनि फर्कन ढिलो हुने भन्दै उनीहरू नेताको भाषण सुन्न बसेनन् । ‘पार्टी फुट्यो भन्थे, फुटेको पार्टीमा पनि यो विधि मान्छे भेटिए । यो राम्रो कुरा हो,’ हुप्सीकोटकै मीनबहादुर सिर्पालीले भने ।

मध्याह्न १२ बजे सुरु गर्ने भनिएको उद्घाटन कार्यक्रममा अध्यक्ष ओली सवा १ बजे बल्ल मञ्चमा उक्लेका थिए । त्यसको तीन घण्टापछि सवा ४ बजे कार्यक्रम समापन भएको थियो । तर त्योभन्दा पहिल्यै रूपन्देही सियारी–४ छपियाका रामकुमार यादव घर फर्कन लागेका थिए । श्रीमती रेखा यादव पनि सँगै थिइन् । ‘हाम्रो बुबा राजनीति गर्नुहुन्छ । म त्यस्तो राजनीति गर्दिनँ तर पार्टीको कार्यक्रममा जाने गर्छु । यसअघि बुटवलमा भएको आठौं महाधिवेशनमा पनि गएको थिएँ । त्योभन्दा यहाँको भीड धेरै ठूलो लाग्यो,’ ४० वर्षीय यादवले भने । उनीसँग कुरा हुँदै गर्दा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्दै थिए । तर नदी किनारको पुछारमा बसेका रामकुमारले कसले बोलेको हो, मेसो पाउन सकेनन् ।

मञ्चभन्दा परपर राखिएका माइकहरूले राम्रोसँग काम नगर्दा बजारतिर भाषण सुन्न सकिएको थिएन । घर फर्कन समय घर्कंदै गएको थियो, त्यसमाथि पुलमा ठूलो जाम थियो । पश्चिम नेपाल लाग्नेहरू चिन्तामा थिए । प्रायःजसो रातारात गाडी चढेर गैंडाकोटसम्म आएका थिए । त्यसपछि पैदलै पुल तरेर उद्घाटन स्थल पुगेका थिए । बिहान खाली देखिएको पुल पछि भरिभराउ भएर मान्छे मात्रै हिँड्न पनि सकस भएको थियो ।

पुल पार हुन लागेजस्तै अप्ठ्यारो नारायणी किनारको पुछारबाट मञ्च भएको सिरानसम्म पुग्न थियो । स्नातक पढ्दै गरेका पुष्पा पाण्डे, प्रीति सापकोटा र चन्दा गौतम शुद्धोधन गाउँपालिका–५ मानपकडीबाट महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका थिए । उनीहरू एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध पनि छन् । ‘हामी अध्यक्ष केपी ओलीलाई प्रत्यक्ष देख्न पाइन्छ भनेर आएको हो । बल्लबल्ल मञ्च नजिक पुगेर उहाँलाई हेर्‍यौं । भाषण सुन्न त मन थियो तर फर्कन बेर हुने भएका हिँड्न लागेको,’ पुष्पाले भनिन् ।

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारी मध्याह्नपछि सडकमा ठूलो भीड बढेको बताउँछन् । कार्यक्रम सकिएर फिर्ता हुन थाल्दा राजमार्गमा जताततै लामो जाम भएको उनले बताए । दिउँसो ३ बजे छिचोल्नै गाह्रो हुने गरेर नारायणीको पुलको मुखमा ठूलो जाम थियो । पुलभरि भीड थियो । नारायणगढतर्फ तीनवटा र पुलको मध्यभागमा तीन एम्बुलेन्स पार हुन नसकेर साइरन बजाउँदै बसेका थिए । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा उद्घाटनको दिन नारायणी किनारलाई ‘मानव समुद्र’ बनाउने बताएका थिए । कार्यक्रममा पाँच लाख जना जुटाउने एमालेको दाबी थियो । सरकारी अधिकारीहरूले कति संख्यामा मान्छे आए आकलन गर्न भ्याएका छैनन् । नारायणी किनार र बजारभर देखिएको भीडले जमघट ठूलै भएको देखाउँथ्यो ।

नारायणी किनारमा बिहीबार मध्यरातै जमघट सुरु भएको थियो । टाढाबाट आएका मानिस गैंडाकोटतर्फ बगरमा बसभित्रै सुतेका थिए । उनीहरूको थकान कार्यक्रम स्थलमा पनि देखिन्थ्यो । कपिलवस्तु मायादेवी–४ गुन्डीबाट महिला र पुरुष गरेर चार सय जना आएको लाला लोधले बताए ।

प्रकाशित : मंसिर ११, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?