मध्यरातको बैठकपछि भीम रावलले भने- 'भोलि अध्यक्षमा उम्मेदवारी दिन्छु'

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताएका छन् ।

शनिबार बन्द सत्र सुरु भएपछि उनले आफ्नो उम्मेदवारी दिने अडान कायम राखेका छन् । कान्तिपुरसित कुरा गर्दै उनले भने  'म त भोलि उम्मेदवारी दिनेछु । उम्मेदवार उठ्छु भनिसकेपछि फिर्ता लिने कुरा छैन ।'

चितवनको सौराहामा शुक्रबार मध्यराति बसेको केन्द्रीय कमिटी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 'केही साथीहरूले अध्यक्षलाई सबै निर्णयको अधिकार दिउँ । सर्वसम्मत गरौँ भन्नुभएको थियो । तर त्यो पनि प्रस्तावको रुपमा स्वीकार गरिएन । सर्वसम्मतको प्रयास भएको हैन,' नेता रावलले भने ।

सौराहामा शुक्रबार मध्यराति सम्पन्न केन्द्रीय कमिटी बैठकले अबको केन्द्रीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने, १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully