मध्यरातमा सौराहा बैठकको निर्णय : यस्तो बन्दैछ एमालेको नयाँ संरचना

मंसिर ११, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

शुक्रबार राति सौराहामा सम्पन्न केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। जस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ ।

गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । सौराहा बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी संख्या पनि बढाउने प्रस्ताव राखेका थिए।

विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ।

नेकपा एमालेको १०औं महाधिवेशन यही शुक्रबार चितवनमा सुरु भएको छ । शनिबार बन्द चितवनको सौराहामा बन्द सत्र सुरु हुनेछ । तर त्यसअघि नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार राति सौराहामै बसेको छ ।

यस्तो बन्दैछ एमालेको नयाँ संरचना

अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् ।

साथै १९ जना पदाधिकारी हुने प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

यसवाहेक अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि सौराहा बैठकले पारित गरेको छ । जवकि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully