काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न अप्ठ्यारो भइरहेको बताएका छन् । विगतमा आफू प्रधानमन्त्री रहेको बेला काम गर्न नदिनेहरू आज प्रधानमन्त्री देउवासँग भएको बताए ।
एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुक्रबार ओलीले भने, 'प्रधानमन्त्रीलाई गाह्रो छ । मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराख्या छन् ।' प्रधानमन्त्री देउवालाई अतिथि बनाएर सरकारका कामबारे टिप्पणी गर्न नचाहेको पनि ओलीको भनाइ थियो ।
ओलीले आउँदो चुनावबाट एमालेको सरकार बन्न दाबी गरे । उनले विकासका कामलाई अगाडि बढाउनका लागि एमालेको सरकार चाहिएको बताए । मुलुकमा राजनीतिक समस्या नरहेको भन्दै ओलीले अब विकासको काममा अगाडि बढ्नुपर्ने बताए ।
लोकतन्त्र स्थापित भइसकेको अवस्थामा विकासमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
