चुनावी तयारीमा लाग्न ओलीको निर्देशन

‘संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ’

मंसिर ११, २०७८

बबिता शर्मा

नारायणगढ, चितवन — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनावको तयारीमा लागेको उल्लेख गर्दै एकल बहुमत ल्याउने दाबी गरेका छन् । नारायणी नदी किनारमा शुक्रबार पार्टीको दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशभरबाट जम्मा भएका नेता–कार्यकर्ताको आत्मबल बढाउने गरी देशको सार्वभौमसत्ताको रक्षा, विकास र संविधानलाई सही बाटोमा डोर्‍याउन एमालेको एकल बहुमत चाहिने तर्क गरे । सत्ता गठबन्धनका नेताहरू सहभागी भएको मञ्चबाट उनले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।

‘निकट भविष्यमा चुनावहरू आउँदै छन्, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं, हामी जनमतको तयारी गर्नेछौं,’ उनले भने, ‘जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ । एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि हो । देशको सार्वभौमताको रक्षा गर्नका लागि हो । देशमा लोकतन्त्र फेरि गुम्न नपाओस्, त्यसको रक्षाका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि । संविधानको गलत व्याख्यालाई जनअभिमतबाट, जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्छ ।’

देशमा ठूलो राजनीतिक समस्या नरहेको उल्लेख गर्दै आगामी दिनमा विकासका लागि एमालेको सरकार चाहिने ओलीको भनाइ थियो । विगतमा आफूले संसद् विघटन गरेर चुनाव घोषणा गरेको र त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिएकामा उनले असन्तुष्टि व्यक्त गरे । संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्न एमालेले बहुमत ल्याउनुपर्ने ओलीको तर्क छ । ‘गलत बाटो नजाऊँ, अध्यादेश परमादेशको बाटो नजाऊँ, परमादेशबाट सरकार नबनाई बरु जनताका बीचमा जाऊँ भनेर आग्रह गरेका थियौं,’ उनले भने, ‘जनताका बीचमा जान अरू राजनीतिक शक्ति त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’ ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका थिए । जसलाई सर्वोच्च अदालतले गैरसंवैधानिक कदम भन्दै बदर गरेको थियो ।

ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको हाम्रो भूगोल हामीले नेपालको नक्सामा समेटेका छौं, त्यसलाई संविधानको अंग बनाएका छौं तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट जमिन फिर्ता लिनेछौं । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी जमिन फिर्ता लिएर वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौं ।’

नेपालले सबै छिमेकी राष्ट्रसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्न चाहेको उनको भनाइ थियो । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौं, ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ, एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ उनले भने । उनले एमालेले कसैलाई पनि शत्रु र मित्रका रूपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताए । उनले भने, ‘पारस्परिक हित, पारस्परिक सम्बन्धका आधारमा हाम्रो विदेश सम्बन्ध अघि बढ्छ । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता भन्ने हाम्रो मूलनीति हो । हामी त्यस नीतिलाई अवलम्बन गर्छौं । हाम्रा छिमेकीसँग कतिपय कुरा छलफल गरेर टुंग्याउनुपर्नेछ ।’ उनले स्वाधीनता भन्ने गरिएको तर त्यसको प्रयोग हुन नसकेको बताए । ‘एमालेले स्वाधीनताको अभ्यास गर्न चाहेको छ, एमाले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहन्छ,’ उनले भने ।

ओलीले नेकपा हुँदा होस् वा एमालेमै रहँदा आफूलाई काम गर्न नदिनेहरूले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेको भन्दै व्यंग्य गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गरे । काम गर्न चाहेका भए पनि दाहाल र नेपालले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको ओलीको भनाइ थियो । ‘अहिलेको सरकारका सम्बन्धमा केही भन्न चाहन्नँ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गरेका छौं, उहाँलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । प्रधानमन्त्री सायद काम गर्न चाहनुहुन्थ्यो कि !,’ देउवातर्फ इंगित गर्दै उनले भने, ‘तर प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ कि ! मलाई अप्ठ्यारो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराखेका छन् ।’ 

ओलीले नेकपा हुँदैदेखि आफूले काम गर्न चाहे पनि पार्टीभित्रैबाट असहयोग भएको आरोप लगाउने गरेका थिए । यो विषयलाई उनले आगामी चुनावमा राजनीतिक एजेन्डा बनाउन खोजेका हुन् । उनले शान्ति प्रक्रियालाई लिएर माओवादी केन्द्रका अध्यक्ष दाहालमाथि प्रश्न गरेका छन् । देशमा अझै द्वन्द्वका घाउहरू रहेको र यसलाई चाँडै टुंग्याउनुपर्ने उनको भनाइ थियो । ‘देशमा अहिले पनि द्वन्द्वका घाउहरू छन्, शान्तिप्रक्रिया टुंग्याउनै बाँकी छ,’ उनले भने, ‘घाइतेको उपचार किन हुँदैन ? शान्तिप्रक्रिया किन टुंगो लाग्दैन ? बहिर्गमित लडाकुको समस्या किन समाधान हुँदैन ?’

ओलीले शान्ति प्रक्रिया सही ढंगले टुंग्याउनुपर्ने र त्यो काम एमालेले गर्ने बताए । उनले प्रधानमन्त्री देउवाले चाहेर पनि शान्ति प्रक्रिया टुंग्याउन नसक्ने दाबी गरे । द्वन्द्वका कारण हिजो घरबारविहीन भएकाहरूलाई रोजगारी दिन आग्रह गर्दै उनले महाधिवेशनपछि आफ्नो पार्टी पूर्वलडाकुका समस्या सम्बोधनमा लाग्ने बताए । उनले दसौं हजार लडाकु एमालेमा प्रवेश गर्न थालेको दाबी गर्दै भने, ‘नेकपा एमाले पूर्वलडाकुहरूको पनि पार्टी हो, भ्रममा नपर्नुस् ।’

पूर्वलडाकुको त्यागको प्रसंग उठाउँदै ओलीले अप्रत्यक्ष रूपमा माओवादी अध्यक्ष दाहालको नियतमाथि प्रश्न तेर्स्याए । ‘हिजो त्याग कसका लागि रहेछ ? कसलाई मेयर र मन्त्री बनाउन रहेछ ? राजमार्ग त तपाईंहरूले बनाउनुभयो तर त्यसको फाइदा लिनेहरू को भए देख्नुभएको छ ?’ उनले भने । ओलीले फागुनसम्म एमालेमा प्रवेशको लहर चल्ने दाबी गरे ।

एमालेको राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतिलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । ‘हामीबीच नीतिगत विषयमा रहेका विमतिलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ,’ उनले भने, ‘सरकार र कांग्रेस ती मूल्य र मान्यतामा प्रतिबद्ध छ ।’

नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएको स्मरण गराउँदै देउवाले संविधान संस्थागत गर्ने जिम्मेवारी सबै दलको भएको बताए । ‘नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दछु,’ उनले भने, ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा समान धारणा बनाएर सहकार्य गर्नुपर्ने आवश्यकता छ ।’ देउवाले लोकतान्त्रिक मूल्य र जीवन्तता, व्यक्तिगत स्वतन्त्रताको रक्षा र राष्ट्रिय स्वाधीनता तथा अखण्डता जोगाउन सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अन्य राजनीतिक दलका शीर्ष नेता आए पनि एमाले दसौं महाधिवेशन उद्घाटनमा निम्त्याइएका माओवादी केन्द्रका अध्यक्ष दाहाल सहभागी भएनन् । दाहालले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएका थिए । पोखरेलले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । सबैको साझा प्रयास भएमात्र मुलुकले कोल्टे फेर्न सक्ने उनको भनाइ थियो ।

‘कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन छ, समाजवादको परिकल्पना त दूरको कुरा हो तर एउटा सत्य के हो भने हामी ‘माउ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहँदैनौं,’ उनले भने, ‘एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास सबैको रहने हो भने मुलुकले कोल्टे फेर्न सक्छ । समाजवादी क्रान्तिले नयाँ दिशा पक्रन सक्दछ ।’

एमाले महाधिवेशनलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको विविधतालाई एकतामा, एकतालाई विविधतामा राख्न सक्ने लोकतान्त्रिक संविधानको अभाव भएको बताए ।

‘शान्ति, संघीयता, सुशासन, आर्थिक समृद्धिको सामाजिक न्याय र समाजवादको राष्ट्रिय लक्ष्य टाढिँदै गएको छ । ऐतिहासिक जनआन्दोलनका उपलब्धिलाई जालझेल र छलछामबाट निकालेर जनताले अनुभूत गर्ने गरी ज्वलन्त तुल्याउने समय खेर गइरहेको छ,’ उनले भने । उनले राज्यका अंगहरू पछिल्लो समय निष्क्रिय र निष्प्रभावी बन्दै आएको र यिनलाई सक्रिय र प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग सम्बोधन नभए २०औं लाख मानिस सडकमा आउने बताए । ‘संविधान संशोधनको माग पूरा भएको छैन, राजबन्दीहरूको मुद्दा फिर्ता गरिएको छैन, लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन,’ उनले भने, ‘अब माग सम्बोधनको समय आयो । सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, माग सम्बोधन नभए मानव साङ्लो फेरि पनि सडकमा उत्रन सक्छ । हामी चाहन्छौं– त्यो अवस्था नआओस् ।’

उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन गएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वाम शक्तिहरू एकले अर्कालाई दोषारोपण गरिरहेको बताए । उनले जतिसुकै अन्तर्विरोध भए पनि देश र जनताका लागि सबै शक्ति मिलेर जानुको विकल्प नभएको बताए । ‘जनताले कम्युनिस्ट पार्टीहरूमा अन्तर्विरोध नहोस् भन्ने चाहेका छन् तर व्यवहारमा त्यस्तो देखिएन,’ उनले भने । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेर नेपाली जनतालाई गुन लगाएको बताए । थापाले एमाले र केपी ओलीलाई दुई कारणले देशले सम्झिरहने बताए ।

‘मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको आन्दोलनलाई स्थगित गर्न केपी ओलीको नेतृत्वले काम गरेको छ, उहाँकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमा रक्षाको निमित्त प्रतिबद्धता व्यक्त गरेको छ । नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरी नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनुभएको छ,’ उनले भने, ‘यही कारणले गर्दा यो सम्मेलनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु । देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरूलाई पूर्णरूपमा सफलता प्राप्त होस् ।’

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक एवं नेता रामबहादुर थापाले पार्टीको विधान महाधिवेशनले एमालेलाई सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको सन्देश दिएको बताए । 

एमाले महाधिवेशन

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully