कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोमा ७ को मृत्यु, ३ बेपत्ता

तनहुँका ४३ घरमा पूर्ण क्षति, विस्थापित परिवार कृषि केन्द्र र आमा समूहको भवनमा 

दार्चुला, तनहुँ, पाल्पा, पर्वत — निरन्तरको वर्षासँगै आएको पहिरोमा परी दार्चुला, तनहुँ र पाल्पामा सात जनाको मृत्यु भएको छ । पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा केही घाइते छन् भने सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ । बाढीपहिरोका कारण दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर उच्च जोखिममा छन् ।

पहिरोमा ७ को मृत्यु, ३ बेपत्ता

बुधबार रातिको भीषण वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा खसेको पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नौगाड–३ खार पारिबगरका ७२ वर्षीया गौरी ठगुन्ना, उनकी तीन महिनाकी नातिनी मञ्जुरी र सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितोली रहेका छन् । सितोलीको जामिर खोलामा घट्टबाट घर फर्कने क्रममा माथिबाट आएको बाढीपहिरोमा चेपिएर मृत्यु भएको खारका स्थानीय प्रेमसिंह ठगुन्नाले बताए । खार चौखुट्टेकी २८ वर्षीया हरमति ठगुन्ना सामान्य घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार, गुन्ढारु र जामिर खोलाले ३२ किलोवाटको खारखोला दोस्रो लघु जलविद्युत् परियोजना पनि बगाएको छ । जामिर गाउँका नन्दु ठगुन्ना, गोठे टमटा र जगतसिंह ठगुन्नाको घर भत्केको स्थानीय प्रेमसिंह ठगुन्नाले बताए ।

दार्चुलाको नौगाडमा गएको पहिरो ।

ऐरान, खार, ओखलधार, सितोलीबगर, लामाडेरा, जामिर, गाणाजामिरका केही घरमा क्षति र धेरैजसो घर उच्च जोखिम परेको प्रेमसिंहले बताए । जामिर खोलाको बाढीले नौगाड–३, २ र १ वडाका बस्तीलाई जोड्ने जामिर गाउँको झोलुंगे पुल पनि बगाएको छ । धुलीगडा स्वास्थ्य चौकी पनि बाढीको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । नौगाडको होपरी, जामिर, गोकुलेश्वर हुँदै देथला खार खलंगा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यातायात सञ्चालन हुन नसक्दा उद्धार कार्यमा समस्या भइरहेको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । पहिरोमा परेर तनहुँको ऋषिङ गाउँपालिकामा पनि बिहीबार दुई जनाको ज्यान गएको छ । म्याग्देका एक युवक बेपत्ता छन् । बन्दीपुर, म्याग्दे र ऋषिङ गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । बिहीबार बिहानको पहिरोमा परी ऋषिङ–७ डढिवनकी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ मझकोटका ४० वर्षीय खुमबहादुर थापाको ज्यान गएको हो ।

बेपत्ता खुमबहादुरलाई नेपाली सेना, प्रहरी र स्थानीयले खोजी गर्दा मृत भेट्टाएको प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले बताए । बिहान करिब साढे ५ बजे गोठमा गएका थापालाई माथिबाट पहिरो खस्दा पुरेको थियो । म्याग्दे खोलामा आएको बाढीले ४० वर्षीय मैतबहादुर नेपालीलाई बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् । बाढीपहिरोले जिल्लाका ४३ घरमा पूर्ण क्षति पुगेको छ । बन्दीपुरमा १३, म्याग्देमा १० र ऋषिङमा २० घरमा क्षति पुर्‍याएको सम्बन्धित पालिकाले जनाएका छन् । बन्दीपुर–२ खहरेमा १३ घर पूर्ण क्षति, ९ घर आंशिक क्षति र २६ घर उच्च जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् । गुरुङका अनुसार बन्दीपुर–२ का ४८ सहित पालिकाभर ७२ घर बाढीपहिरोबाट विस्थापित भएका छन् । विस्थापित परिवार कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिइरहेका छन् ।

पहिरोले ऋषिङ–३ को डढिवनमा ३ वटा घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको वडासदस्य नीरबहादुर थापाले बताए । पृथ्वीराजमार्गको तनहुँ खण्डमा पनि ठूलो क्षति पुर्‍याएको छ भने ग्रामीण सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीपहिरोले जिल्लामा ठूलो मात्रामा भौतिक र कृषि क्षेत्रमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोला र गिट्टीखानीको बस्तीमा खसेको पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको छ । वीरबहादुरको आफ्नै घरमा च्यापिएर मृत्यु भएको हो । बुधबार राति ३ बजेतिरको घटना भएकाले उनी मस्त निन्द्रामा थिए । बालक आरम्भको भने बाबुआमाले ज्यान जोगाउन भाग्ने क्रममा माथिबाट पहिरो खस्दा मृत्यु भएको हो । ‘हामी स्कुलतिर भाग्दै थियौं,’ आमा पूजा परियारले भनिन्, ‘भीरमा अचानक पानीको ठूलो भेल आयो, हाम्रो हातबाट बाबुलाई लग्यो ।’ अँध्यारो भएको र पानी ठूलो परेकाले उनीहरू दगुरेर बचाउन सक्ने अवस्था नै नरहेको स्थानीय दिपेश पुनले बताए ।

माथिल्लो भागबाट ठूल्ठूला ढुंगासहितको पहिरोले घर पुरिँदा र बगाउँदा सात जना घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए । ७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीय पूजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दीपेश पुन घाइते भएका छन् । सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको स्थानीय अनिल गुरुङले बताए ।

वडाध्यक्ष दलबहादुर दर्लामीका अनुसार हिउँदेखोला र गिट्टीखानीको बीच क्षेत्रको खोल्सी धेरै माथिबाट बगे पनि यस क्षेत्रमा अन्य समयमा पानी नै बग्दैन । सुक्खा रहने भएकाले यति ठूलो बाढी आउने स्थानीयले कल्पनै गरेका थिएनन् । माथिल्लो भागमा डोलोमाइट चुनढुंगा प्रालिले खानी सञ्चालन गरेको छ । ‘खानी क्षेत्रका कारण पनि हुन सक्छ,’ वडाध्यक्ष दर्लामीले भने, ‘कतै पानी रोकिएर एकैपटक भेल आएर पनि यति ठूलो क्षति गरेको हुन सक्छ ।’ माथिल्लो भागमा जथाभावी खनिएका कारण पनि अहिलेको अवस्था आएको हुन सक्ने स्थानीयको भनाइ छ । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका धेरै स्थान प्रभावित बनेको छ । प्रहरीका अनुसार हिउँदेखोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । माथिल्लो भागबाट खसेको पहिरोले दोभानदेखि बुटवल चिडियाखोला क्षेत्रमा राजमार्ग जताततै भत्केको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । गुल्मीको पुर्तिघाट बजार बाढी–पहिरोको जोखिममा परेको छ । कालीगण्डकी गाउँपालिका कार्यालय नजिकै पुर्तिघाट बजारमा बाढीसहितको पहिरो खसेपछि जोखिम बढेको हो । जोखिममा रहेका परिवारलाई आफन्तकोमा सारिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए ।

बेपत्ता दुई अझै भेटिएनन्

मंगलबार राति कुश्मा नगरपालिका–८ दोबिल्ला चोकस्थित सुन्दरेखालाले बगाएका मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनियर राजाराम आचार्य र चालक इन्द्र थारू अझै फेला परेका छैनन् । प्रदेश ३–०१–०२३–३६४२ नम्बरको हाइलक्स गाडीसँगै बगेका उनीहरूको बिहीबार दिनभर खोजी गरिएको पर्वतका प्रहरी प्रमुख एसपी शिवराज बुढाथोकीले बताए । बाढीले बगाएको गाडी भने बुधबार दिउँसो मोदीखोला किनारमा भेटिएको थियो ।

प्रकाशित : असार २५, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?