पाल्पा — बिहीबार बिहान ३ बजेदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग बिहीबार बेलुकी एकतर्फी खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५ हिउँदेखोला, गिट्टीखानी, तिनाउ गाउँपालिका–३ झुम्सा, पानीमिल तल्लो र माथिल्लो सिद्धबाबा लगायतका स्थानमा ढुंगासहितको ठूलो पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएर एकतर्फी खुलेको दोभान प्रहरी चौकीले जनाएको छ ।
सडक डिभिजनले तानसेन र दोभानतर्फबाट बिहानैदेखि दुईवटा एक्स्काभेटर, डोजर, लगाएर पहिरो पन्छाएको दोभान प्रहरी चौकीले जनाएको छ । हिउँदेखोला र गिट्टी खानी बीचको पहिरोमा भने साना सवारीसाधन मात्र एकतर्फी गुडाउन सकिने छ । ठूल्ठूला ढुंगा खसेकाले राजमार्ग खुलाउन केही समय ढिला भएको प्रहरीले जनाएको छ ।
झुम्सा पानी मिल नजिकै बिहिबार बिहानै एउटा एम्बुलेन्स पहिरोको बीचमा अड्किएको थियो । यस्तै दुईवटा बस पनि पहिरोमा परेको थियो । प्रहरीका अनुसार डोजर लगाएर हिलो माटो र ढुंगा फालेर सवारीसाधन सुरक्षित गरिएको छ । बस र एम्बुलेन्समा सवार चालकसहित अन्य मानिस भागेर ज्यान जोगाउन सफल भएका थिए । लु १ झ ५२९ नम्बरको एम्बुलेन्स पहिरोको बीचमा अड्किएको थियो ।
यस्तै, सिद्धार्थ राजमार्ग अन्तर्गत नै बगनासकाली गाउँपालिकाको शेरा र रम्भा गाउँपालिकाको सीता पहाडमा समेत पहिरो झरेर राजमार्ग अवरुद्ध भएको थियो । यहाँ पनि एकतर्फी खुलाइएको प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।
सिद्धार्थ राजमार्ग सुरु भएपछि रोकिएका पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि खाद्यान्न बोकेकाका साथै निजी सयौं सवारीसाधन सडकमै रोकिएका थिए । सयौं सवारीसाधनको लाइन लागेको स्थानीय कृष्णप्रसाद पाण्डेयले बताए । ट्राफिक प्रहरी धर्मराज न्यौपानको अनुसार एकतर्फी सडक खुलाएपछि राति पानी नपर्ने हो भने शुक्रबार बिहानैदेखि दुईतर्फी नै खुलाइनेछ । कालीमाटी, चौबिसमाइल, हिउँदेखोला, झुम्सा, भूतखोला, सिद्धबाबाका धेरै स्थानमा सडक एकतर्फी छ । कतिपय स्थानमा सडक भासिएको छ भने कतिपय स्थानमा पहिरोले एकतर्फी भएको प्रहरीले जनाएको छ ।
