६० देखि ६४ वर्षकालाई आजदेखि खोप

उपत्यकामा पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा आफू रहेकै ठाउँमा लिन पाउने

जेष्ठ २५, २०७८

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले मंगलबारबाट मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाउँदै छ । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो ।

चीनसँग सिमाना जोडिएका स्थानीय तहमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । यसअघिको निर्णयमा चीनसँग जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई नै खोप दिने निर्णय भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय गरेर देशभरिका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यो उमेर समूहमा ८ लाख जनसंख्या रहेकाले खोप पर्याप्त नहुने भएकाले उपत्यकाबाहिर उमेर समूह घटाउनु परेको गौतमले बताए । उपत्यकाबाहिर खोप लगाउँदा पहिलो प्राथमिकता ६४ वर्षकालाई, त्यसपछि खोपको उपलब्धताका आधारमा क्रमशः तल्लो उमेरकालाई दिनुपर्ने स्वास्थ्य सेवा विभागले सूचना जारी गरेको छ ।

खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले भने पहिलो डोज पनि लगाउन पाउनेछन् । त्यस्तै यसअघि ५५ वर्षमाथि उमेर समूहमा खोप दिइसकेका हिमाली जिल्लाहरूले यही उमेर समूहमा पहिलो मात्रा लगाउन छुटेका व्यक्तिले पनि पहिलो मात्रा लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं उपत्यकामा पहिलो मात्रा भेरोसेल लिएर विभिन्न कारणले उपत्यकाबाहिर रहेकाले पनि दोस्रो मात्रा आफू रहेकै ठाउँमै लिन पाउने छन् ।

जिल्लामा उपलब्ध खोपको आधारमा कति उमेर समूहलाई लगाउने र खोप कार्यक्रम कति दिनसम्म चलाउने निर्णय जिल्लामा कोभिडविरुद्धको खोप समन्वय तथा अनुगमन समितिले गर्नेछ । समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारी हुन्छन् । ‘यो समितिले कति वटा खोप केन्द्र कहाँ–कहाँ राख्ने र कति दिन चलाउने भन्ने निर्णय गर्न सक्छ,’ गौतमले भने । स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रमा उमेर खुल्ने सरकारी कागजपत्र देखाएको आधारमा खोप लगाउन सकिन्छ । 

सबै नागरिक खोप लगाउन आएमा खोप नपुग्ने भएकाले उमेर समूह घटाउनुपरेको उनले बताए । ‘दोस्रो खोप सुनिश्चित हुने गरी अहिले खोप लगाउँछौं,’ उनले भने । यसअघि कोभिसिल्डमा खोपको दोस्रो डोज सुनिश्चितता नगरी खोप लगाउँदा साढे १४ लाखले अझै खोप लगाउन पाएका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिसिल्ड लगाएको तीन महिनाभित्र दोस्रो मात्रा लगाएमा खोपको प्रभावकारिता हुन्छ ।

खोप आउने निश्चित नभएपछि स्वास्थ्य सेवा विभागले सूचना जारी गरेर कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनेका खोप प्राप्त हुनेबित्तिकै लगाउने व्यवस्था गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो मात्रा र ७ लाख १५ हजार १ सय ६३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

प्राथमिकता खोप : स्वास्थ्यमन्त्री 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नेपालीलाई खोप दिने सरकारको प्राथमिकता रहेको बताए । ‘जसरी भए पनि छिटो खोप ल्याएर सबै नेपालीका लागि खोप सुनिश्चित गर्ने लक्ष्य छ, खोपको सहज उपलब्धताका लागि मेरो पहिलो प्रथामिकता हुनेछ,’ मन्त्री नियुक्त भएपछि पहिलोपटक सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही महिनाभित्र सबै नेपालीलाई खोप दिन उत्पादक देशबाट ल्याउन सबै उपाय लगाइनेछ ।’

कोरोना खोपकोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully