कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यो भ्याक्सिनको मामिला हो, यसमा राजनीति गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली

‘पछिल्लो समय भारतसँगको असमझदारी हटेको छ’
इकान्तिपुर डेस्क

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कोरोना महामारीमा अरु देशलाई भन्दा नेपाललाई अलि फरक किसिमले सहयोग गनुपर्ने बताएका छन् । बीबीसी हिन्दीकी शालू यादवसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले खुला सीमा र आवागमन भएकाले पनि भारतले थोरै फरक हिसाबले नेपाललाई हेर्नुपर्ने बताएका हुन् । 

यो भ्याक्सिनको मामिला हो, यसमा राजनीति गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली

‘अरु देशलाई भन्दा अलि फरक गर्न म प्रधानमन्त्री नरेन्द्र मोदीसँग निवेदन गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो खुला सीमा र आवागमन छ । दुई देशको बीचमा पहाड भएको भए खुला सीमा भए पनि आउनजान कठिन हुन्थ्यो । तर दुवैतर्फ खेतबारी रहेका छन् । एक घर सीमाको यतातर्फ र अर्को सीमाको उतातर्फ छ । यहाँका बासिन्दा हरेक सामानका लागि आउनेजाने गर्छन् ।’

प्रधानमन्त्री ओलीले मित्रतापूर्ण सम्बन्धलाई पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतले सहयोग गरेको बताए । ‘भारतले सहयोग गरेको छैन म भन्दिनँ । लिक्विड अक्सिजन तथा औषधिलगायतका सामान हामीले भारतबाटै ल्याइरहेका छौँ । सबैभन्दा पहिले हामीलाई खोप दिएकोमा म भारतलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

‘के अब नेपालमा चीनको बढी प्रभाव देखिएको हो किनकी कोरोना महामारीका बेला नेपाललाई चीनले धेरै सहयोग गरिरहेको छ’ भन्ने प्रश्नमा ओलीले यस विषयमा राजनीतिलाई बीचमा ल्याउन नहुने बताए । उनले भने, ‘यसमा पोलिटिक्स ल्याउन आवश्यक छैन । यसका कसैको प्रभावको कुरै छैन । भारतले भ्याक्सिन दिन्छ, चीनले दिन्छ, अमेरिकाले दिन्छ, बेलायतले दिन्छ । जसले दिन्छ यो भ्याक्सिनको मामिला हो, यो पोलिटिक्सको मामिला होइन । यसमा राजनीति गर्न आवश्यक छैन । हामी दुवै छिमेकी देशलाई धेरै धन्यवाद दिन्छौं । किनकी एउटा छिमेकीले १८ लाख र अर्कोले २० लाख दियो । दुवै देशबाट हामीले मेडिकल उपकरण पाएका छौं, त्यसैले दुवै मुलुकलाई हामी धन्यवाद दिन्छौँ ।’

त्यस्तै ‘पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तपाईँबीच केही मनमुटाव देखियो । आजको दिनमा नेपालको भारतसँगको सम्बन्धमा तपाईँको दृष्टिकोण के हो ?’ भन्ने बीबीसी हिन्दीको प्रश्नमा ओलीले भने, ‘छिमेकी भएकाले समस्या त हुन्छ भन्ने मेरो एउटा धारणा हो । समस्या किन उत्पन्न हुन्छ । चिली र अर्जेन्टिनाका मानिससँग न कुनै प्रेम न कुनै घृणाको सम्बन्ध छ । आजको समय फेसबुकको जमाना हो । त्यसमा पनि केही हुन सक्छ तर त्यसको सम्भावना निकै कम छ । त्यहाँ जानु पनि छैन र त्यहाँका मानिस यता आउनु पनि छैन... । तर छिमेकी भएपछि प्रेम र समस्या दुवै देखिन्छ ।’

त्यस्तै कहिलेकाहीँ असमझदारी पैदा हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने । ‘कहिलेकाहीँ असमझदारी पैदा भएको थियो । अब असमझदारी हटेको छ । त्यसैमा हामी अल्झिरहन हुँदैन । हामीले भविष्यलाई हेरेर अगाडि बढ्नुपर्नेछ । हामीले नकारात्मक पक्षलाई होइन, सकारात्मक पक्षलाई अगाडि बढाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ २४, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?