लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप

जेष्ठ २४, २०७८

अमृता अनमोल

बुटवल — कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम नियमित प्रक्रियामार्फत मंगलबार प्रदेशसभामा पेश गर्ने समेत निर्णय गरेको छ । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बोलाउने र दिउँसो ४ बजे प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मराज यादवलाई आग्रह गर्ने निर्णय भएको छ । 

लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ । जसमा धराशयी भएको अर्थतन्त्र उकास्ने, गुमेको रोजगारी फर्काउनेगरी कृषि र पर्यटनलाई समेत प्राथमिकता दिइएको छ ।  

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully