कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिकित्सक भेट्दा संक्रमित उत्साही

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण नियन्त्रण गर्न गाउँगाउँमा चिकित्सक पठाएपछि संक्रमितहरू उत्साही बनेका छन् । समुदायस्तरमै कोरोना सक्रमण फैलिएको भन्दै प्रतिष्ठानले स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा चिकित्सक खटाएको हो । घरमै आएर डाक्टरले उपचार गरेपछि विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाएको कनकासुन्दरीका एक संक्रमितले बताए । 

चिकित्सक भेट्दा संक्रमित उत्साही

जुम्लामा झन्डै दुई सातादेखि कडा निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाका कारण सदरमुकाम सुनसान बने पनि ग्रामीण क्षेत्रमा भने गहुँ–जौ भित्र्याउने र धानको ब्याड राख्ने चटारो छ । जसका कारण गाउँमा पनि कोरोना संक्रमणको जोखिम बढेको तातोपानीका एक संक्रमितले बताए । ‘गाउँमै चिकित्सक पुगेपछि मनोबल बढेको छ,’ उनले भने, ‘जटिल समस्या आए के गर्ने भन्ने उपाय पनि सिकेका छौं ।’

कडा खालको लक्षण देखिएका र अक्सिजन दिनुपर्ने संक्रमितलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा.रमेश भट्टराईले बताए । ‘सबैखाले बिरामी एकै ठाउँमा केन्द्रित गर्दा उपचार लागि व्यवस्थापन गर्न कठिन हुने देखियो,’ उनले भने, ‘थप संक्रमण फैलन नदिन गाउँमा चिकित्सक खटाएका हौं ।’ उनका अनुसार कनकासुन्दरीमा विशेषज्ञ डाक्टर कमल थानी, सिंजामा सुजाता ओझा, तातोपानीमा डा.कमल न्यौपाने र पातारासीमा सुनिल बुढाथोकी खतिएका छन् । त्यस्तै हिमामा मोनिका लामा र गुठिचौरमा निर्मला पहाडीलाई खटाइएको उनले बताए ।

टोलीले अन्य बिरामीको पनि उपचार गर्ने प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजव शाहले बताए । उनका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीले कोरोनाबाट बच्ने उपायबारे पनि स्थानीयलाई सचेतना दिनेछन् । प्रतिष्ठानले बाँकेमा डा. प्रवीण गिरीको नेतृत्वमा ६ जना चिकित्सकको टोली पनि खटाएको उनले जानकारी दिए । प्रतिष्ठानले कर्णालीका अन्य जिल्लामा पनि विशेषज्ञ चिकित्सक खटाएको जनाएको छ । प्रतिष्ठानका अनुसार विशेषज्ञ डा. सिद्धार्थध्वज खाती र डा. रेखा कार्की मुगु, डा.रिबिन खुपाङ र डा. बुबी बस्न्यात कालिकोटमा खटिएका छन् भने हुम्लामा डा.मानिक न्यौपाने र राजबहादुर खत्रीलाई पठाइएको छ ।

जुम्लामा ३ सय २३ जनामा कोराना संक्रमण पुष्टि भएको छ, जसमध्ये २२ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । १ सय १९ जना निको भएर घर फर्किएका छन् । १ सय ८२ जना संक्रमितको स्थानीय तहले बनाएको आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल पनि संक्रमितलाई सन्तुलित आहाराको कोसेली बोकेर घरदैलोमा व्यस्त छिन् । ‘कडा लक्षण नदेखिका संक्रमितको बेवास्ता भएजस्तो भयो,’ उनले भनिन्, ‘घरदैलोमा निस्किएपछि संक्रमितको मनोबल बढेको छ, अहिले चिकित्सकले उपचार थालेपछि उनीहरू स्वस्थ बन्न थालेका छन् ।’ संक्रमितहरू परिवारसँगै बस्दा, काममा जाँदा र विभिन्न सार्वजनिक कार्यक्रममा जाँदा गाउँमा संक्रमणको जोखिम बढेको उनले बताइन् ।

उनका अनुसार सबैलाई सचेत हुन अनुरोध गर्दै जनप्रतिनिधिको टोलीले घरदैलो गरिरहेको हो । घरदैलोपछि स्थानीयमा मास्क र सेनिटाइजर प्रयोग गर्ने बानीको विकास भएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?