सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवाको मृत्यु

जेष्ठ ५, २०७८

नवीन पौडेल

परासी — पश्चिम नवलरासीको प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको छ । नेपाल भारत सिमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका-६ का २२ वर्षीय अभिनास राजभरको मृत्यु भएको हो ।

तिघ्रामा गोली लागेका राजभरको उपचारका लागि बुटवल सिटी अस्पताल लगिएको थियो । अस्पलाल उपचारकोक्रममा मृत्यु भएको पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।

नेपाल भारत सीमानाका बन्द रहेको अवस्थामा भारतजान खोजेका राजभरलाई सशस्त्र प्रहरीले नाकामा रोकेको र सोही विषयमा विवाद हुँदा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल भारत सिमानामा नजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको बताए । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।  स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण बल प्रयोग गरेर गोली चलाएको आरोप लगाएका छन् । सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

कोरोना खोपकोरोना भाइरस

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully