कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

खोपको वितरणबारे सरकार गम्भीर बनोस् : पूर्वउपकुलपतिहरू

‘जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको छ’

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले कोरोना खोपको आपूर्ति र वितरणमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । त्रिविका १० जना पूर्वउपकुलपतिहरुले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै कोरोना भाइरसविरुद्धको खोपको उपलब्धताबारे गम्भीर हुन सरकारसँग आग्रह गरेको हो ।

खोपको वितरणबारे सरकार गम्भीर बनोस् : पूर्वउपकुलपतिहरू

नेपालमा कोरोना संक्रमण अति तीव्र गतिमा बढिरहेको र त्यसबाट अहिलेसम्म बच्ने उपाय भनेको खोप नै भएको उल्लेख गर्दै उनीहरूले खोपको वितरणमा सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दिइयो ।’

अहिलेको अवस्था आउनुमा कमिसनखोरहरूको अमानवीय अवरोधप्रति उदासीन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा भएको पनि वक्तव्यमा जनाइएको छ । वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको छ ।’

कोभिसिल्डको पहिलो मात्रा लिएकाले ८ हप्तामा दोस्रो मात्रा लिन नपाएको, उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन नसकेको भन्दै तत्काल समस्या समाधान गर्न पनि पूर्वउपकुलपतिहरुले सरकारलाई आग्रह गरेका छन् ।

वक्तव्यमा पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जङ्ग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?