कोरोना संक्रमणबाट बुटवलका पत्रकार हिक्मत चौधरीको निधन

जेष्ठ ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा भएको निधन भएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुई दिनदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेक थियो । उनको बुधबार बिहान उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।

तिलोत्तमा–५ मणिग्राम निवासी पत्रकार चौधरीले रेडियो लुम्बिनीमा डे ढदशक काम गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको  नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जनाएका छन् । महासंघले विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

महासंघका अनुसार कोरोनाकै कारण हालसम्म १५ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully