१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

चिनियाँ खोप खरिदमा उदासीन

जगदीश्वर पाण्डे

काठमाडौँ — चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र खोप उत्पादक सिनोफार्मका अधिकारीले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि त्यसअनुसारको प्रक्रिया अघि बढाउन चीनस्थित नेपाली दूतावासले पत्र पठाएको चार दिन भइसक्दा पनि स्वास्थ्य मन्त्रालय अनिर्णीत भएर बसिरहेको छ ।

चिनियाँ खोप खरिदमा उदासीन

कोभिड १९ महामारीबाट जीवनरक्षाका लागि आवश्यक सबै काममा तदारुकता दिनुपर्नेमा मन्त्रालयको नेतृत्व गरिरहेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चिनियाँ खोप खरिदमा खासै चासो दिएका छैनन् ।

वैशाख २३ मा बेइजिङस्थित राजदूत महेन्द्रबहादुर पाण्डेको नेतृत्वको नेपाली टोलीले चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतका सहयोग प्रस्तावहरू हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र सिनोफार्मर्का अधिकारीसँग भेटेर महामारी नियन्त्रणका लागि खोप र अक्सिजन सिलिन्डर सहयोग गर्न आग्रह गरेको थियो । त्यही बेला सिनोफार्मका अधिकारीहरूले नेपाललाई २० लाख भेरोसेल खोप बेच्न सक्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसमध्ये ५ लाख खोप नेपाललाई यही मे महिनाको अन्त्यसम्ममा उपलब्ध गराउन सक्ने र बाँकी १५ लाख दुई महिनाभित्र उपलब्ध गराउने उनीहरूले जनाएका थिए । ‘त्यही आधारमा हामीले परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि प्रक्रिया अघि बढाउन भनेका हौं,’ बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले भने, ‘अहिलेसम्म नेपालबाट कुनै जवाफ पाएका छैनौं ।’ सिनोफार्मका अधिकारीहरूसँग वार्ता भएकै भोलिपल्ट खोप खरिदको सम्पूर्ण विषय समेटेर परराष्ट्रमार्फत स्वास्थ्य मन्त्रालयलाई दूतावासले पत्र पठाएको थियो । ‘बेइजिङबाट खोप खरिदका विषयमा पत्र आएसँगै हामीले सम्पूर्ण दस्तावेज स्वास्थ्य मन्त्रालयलाई पठाएका हौं, हाम्रो काम समन्वय गर्नु थियो, हामीले उक्त पत्र स्वास्थ्यमा पठाएको ४ दिनभन्दा बढी भइसक्यो,’ परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

चीनमा खोप उपलब्ध पनि भएको र सिनोफार्मले उत्पादन गर्ने भेरोसेललाई विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ । तर, चीनले खोप दिनेबारेको पत्र मन्त्रालयमा आएर थन्किएको चार दिनभन्दा बढी भइसक्दासमेत स्वास्थ्य मन्त्रालयले कुनै निर्णय गरेको छैन । ‘मुलुकमा सामान्य अवस्था छ, केही भएको छैन भन्ने हिसाबमा मन्त्रीजी बसिरहनुभएको छ,’ स्वास्थ्यका एक पदाधिकारीले भने, ‘उनको लक्ष्य जसरी भए पनि भारतबाटै कोरोनाको खोप ल्याउने हो ।’ कान्तिपुरले खोपको बारेमा प्रश्न गर्दा त्रिपाठीले जवाफ दिन चाहेनन् ।

प्रवक्ता गौतमले चिनियाँ खोप ल्याउने विषयमा हालसम्म कुनै निर्णयमा नपुगेको प्रस्ट पारे । सरकारी स्रोतका अनुसार चीनले नेपाललाई अनुदानमा थप खोप दिने र त्यसबाट अपुग खोप सहुलियतमा उपलब्ध गराउन सक्ने जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?