उद्योगले धान्नै सकेनन् अक्सिजनको माग

२० प्रतिशत क्षमतामा चल्ने उद्योग पूर्ण क्षमतामा चलाए पनि माग धान्न धौधौ 
राजु चौधरी

काठमाडौँ — अक्सिजन उद्योगमा अक्सिजनको माग अचाक्ली बढेको छ । २० प्रतिशत क्षमतामा चल्ने उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदासमेत माग धान्न धौधौ परेको छ । कोभिड संक्रमण बढेसँगै उपत्यकाका उद्योग २४ सै घण्टा सञ्चालन भइरहे पनि अस्पतालको माग धान्न सकेका छैनन् ।

उद्योगले धान्नै सकेनन् अक्सिजनको माग

‘यसअघि करिब २० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका थिए तर पनि पर्याप्त थियो,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, ‘अहिले उद्योग शतप्रतिशत चल्दा पनि माग पूरा गर्न सकिएन ।’ मन्त्रालयका अनुसार उपत्यकामा दैनिक करिब ७ हजार सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ । कोभिडकै कारण दैनिक १४ देखि १५ हजार सिलिन्डरको माग रहेको सहसचिव श्रेष्ठले जानकारी दिए ।

उद्योग विभागको तथ्यांकअनुसार उपत्यका बाहिर १९ अक्सिजन उद्योग छन् । ती उद्योगमा ३१ हजार २ सय ५४ सिलिन्डर छन् । दैनिक उत्पादन क्षमता २८ सय ७५ क्युबिक मिटर रहेको विभागले जनाएको छ । विभागका अनुसार सुनसरीमा रहेको विनायक अक्सिजन प्रालिसँग १८ सय सिलिन्डर छ । उसले विराटनगर, धरान, इटहरीलगायतका अस्पतालमा सप्लाई गरिरहेको जनाएको छ । ५ सय सिलिन्डर रहेको विराटनगरको मारुती अक्सिजनले विराटनगर, दमकलगायतका अस्पतालमा अक्सिजन उपलब्ध गराइरहेको छ । विराटनगरकै दुर्गा अक्सिजनसँग ५ सय ८० सिलिन्डर छन् । मोरङको हिमाल अक्सिजनले ३ सय ४४ सिलिन्डर विराट मेडिकल, नोबेल मेडिकल, सञ्जीवनी, युनिक अस्पताललाई उपलब्ध गराएको छ । वीरगन्जको मधु अक्सिजनसँग रहेको ५ हजार सिलिन्डरले त्यहींकै अस्पतालमा खपत हुन्छ ।

उपत्यकाबाहिरका जय अम्बे, स्वर्गद्वारी, सिद्धिविनायक, पोखरा, कालीगण्डकी, शंकर, ढल्केवर, सूर्यशक्ति अक्सिजनलगायतले पनि जिल्लाकै अस्पतालमा उपलब्ध गराइरहेको विभागको विवरणमा उल्लेख छ । यी सबै उद्योगले उत्पादन गरे पनि माग पूरा हुन सकेको छैन । ‘माग अत्यधिक बढेकाले पूरै क्षमतामा सञ्चालन भइरहेका छन् । २/३ वटा उद्योगमा सामान्य समस्या देखिए पनि समाधान गरिरहेका छौं,’ उद्योग विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले भने, ‘उत्पादनका क्रममा कहीं कतै १०/२० मिनेट ढिलाइ हुने समस्या भए तत्काल सम्बोधन गरेका छौं ।’

सिलिन्डर अभाव हुन नदिन र माग सम्बोधन गर्न अस्पतालबाहेक अन्य औद्योगिक क्षेत्रमा ४ हजार ८ सय १६ सिलिन्डर संकलन भइसकेको विभागले जनाएको छ । उपत्यकाका उद्योगले प्रतिघण्टा २ हजार ४६० क्युबिक मिटर अर्थात् ६ हजार ८ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेका छन् । कान्तिपुर अक्सिजनसँग ४ हजार ५ सय सिलिन्डर छ । उसले दैनिक ९ सय सिलिन्डरमा अक्सिजन भरेर पठाउने गरेको छ । शंकर अक्सिजनसँग १९ हजार सिलिन्डर छ । उसले दैनिक १३ सय सिलिन्डर भरेर पठाउँछ । यस्तै, हिमाल अक्सिजनसँग ६ हजार सिलिन्डर रहेकामा दैनिक ४ सय ५०, सगरमाथा अक्सिजनले दैनिक ९ सय, नवज्योति अक्सिजनले दैनिक १ सय सिलिन्डर भरेर पठाएको विभागले जनाएको छ । हाम्रो अक्सिजनले ७ सय, सोपनले ९ सय, सीताले ७ सय उत्पादन गरेर पठाउने गरेको छ ।

नेपाल अक्सिजन ग्यास उत्पादक संघका अनुसार सिलिन्डरहरू अस्पतालमै खपत भएका छन् । रोटेसनमा आएको सिलिन्डर दैनिक भरेर पठाउने गरिएको छ । ‘उद्योगीहरूलाई अक्सिजन उत्पादन गर्न भ्याइनभ्याइ छ,’ संघका महासचिव नारायणदत्त तिमिल्सिनाले भने, ‘२४ घण्टा उद्योगमा खटेर काम गरिरहेका छौं । पूर्ण क्षमता सञ्चालन भए पनि मागअनुसार पूर्ति गर्न सक्ने अवस्था भएन ।’

मन्त्रालयका सहसचिव श्रेष्ठले सिलिन्डर अभाव हुन नदिन सुनचाँदी, ग्रिल, हाइड्रोपावर, मोटर वर्कसर्पलगायतबाट मगाइरहेको बताए । हाल मुलुकमा ५ अस्पतालसँग लिक्विड अक्सिजन रिफिल गर्ने प्लान्ट छ । ती उद्योगसँग ९३ टन क्षमता रहेको विभागले जनाएको छ । करिब ३ वर्षदेखि बन्द एभरेस्ट अक्सिजन प्रालिले बुधबारदेखि पुनः उत्पादन थालेको छ ।

चोभारमा रहेको उक्त अक्सिजन प्लान्ट पुनः मर्मत गरेर सञ्चालनमा ल्याएको सञ्चालक शिवप्रसाद घिमिरेले बताए । ‘मुलुक संकटमा परेको छ । सर्वसाधारणको जीवन रक्षाका लागि पुनः सञ्चालन गर्ने निर्णय गरेका हौं,’ उनले भने, ‘उद्योगमा करिब ४ सय सिलिन्डर छ ।’

प्रकाशित : वैशाख ३०, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?