कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आमा आईसीयूमा, छोरा उपचारमा

‘मलाई देख्दा आमाले सजिलो महसुस गर्नुहुन्छ । म पनि खुसी हुन्छु त्यसैले बेलाबेला आमानिर पुगिरहन्छु ।’
मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु अस्पतालका ३१ वर्षीय कन्सल्ट्यान्ट फिजिसियन डा. जाबेद खाँ कोरोना संक्रमित छन् । उनको परिवारै संक्रमित छ । स्वास्थ्य गम्भीर भएपछि आमा आईसीयूमा भर्ना छिन् । उनी भने बिहानदेखि साँझसम्म संक्रमितको उपचारमा खटिरहेका छन् । 

आमा आईसीयूमा, छोरा उपचारमा

उनलाई बिरामी जाँच गर्दागर्दै रुघाखोकी लाग्यो । ६ दिनअघि पीसीआर परीक्षण गर्दा संक्रमण देखियो । परिवारमा र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बञ्जाडेलाई जानकारी गराए । अस्पतालमा जनशक्ति कम थियो । उनको कमान्डमा कोभिडका बिरामी उपचार गर्ने टिम बनेको थियो । अस्पतालमा बेड नपाएर भुइँमा समेत बिरामी छन् ।

बिरामीको छटपटाहट देखेर त्यसै बस्न उनको मन मानेन । घरमा बस्दा के भयो, कसो भयो, चिन्ता लागिरहने । त्यसपछि सेवामै खटिए । अहिले उनी दिनमा १२ घण्टा उपचारमा खटिरहेका छन् । अस्पतालले साबिक महिला विकास कार्यालयमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा पुगेर उनी बिरामी हेर्छन् । बिरामीलाई उत्साह थप्छन् । ‘म पनि कोरोना पोजिटिभ हो भन्छु,’ उनले भने, ‘काम गरिरहेकै छु भनेर भरोसा दिन्छु ।’

डा. खाँ संक्रमित बिरामीको उपचार गर्दा सतर्कता अपनाउँछन् । टाढैबाट सोधपुछ गर्छन् । सल्लाह दिन्छन् र औषधि लेख्छन् । ‘सँगै रहेका स्वास्थ्यकर्मीलाई परै बस्न भन्छु,’ उनले भने, ‘सतर्कता अपनाउँदै टिमसँग कुरा गर्छु ।’ संक्रमित भएपछि पहिलेजस्तो काम गर्न सहज नहुने उनले बताए । ‘संक्रमण अरुलाई नसरोस् भनेर सचेत भएर काम गर्नुपर्छ,’ उनले भने, ‘आफू संक्रमित भएपछि धेरै कुरा जान्ने बुझ्ने मौका मिलेको छ ।’

संक्रमणबारे दिनदिनैजसो नयाँ तथ्य, अध्ययन र जानकारी आउने गरेको उनले सुनाए । नयाँ प्रभावकारी सूचना र जानकारी प्रयोगमा ल्याएर बिरामीलाई छिटो निको गर्न सहयोग भइरहेको छ । उनले पेसाप्रति सन्तुष्टि व्यक्त गरे । उनका अनुसार अहिले सबै अक्सिजन सपोर्ट चाहिने संक्रमित आउँछन् । खाली समयमा उनी फोनमा परामर्श दिन व्यस्त हुन्छन्, औषधि, उपचार सुझाउँछन् । ‘गम्भीर खालकालाई अस्पताल आउन भन्छु,’ उनले भने, ‘गम्भीर नभएकालाई घरमै आइसोलेट भएर बस्न भन्छु ।’ उनी उपचार गर्दागर्दै आईसीयूमा पुग्छन् । जहाँ उनकी ५८ वर्षीया आमालाई सोमबार भर्ना गरिएको छ ।

संक्रमित आमा अक्सिजन सपोर्टमा छिन् । उनी आमाको उपचार गर्छन् । ‘मलाई देख्दा आमाले सजिलो महसुस गर्नुहुन्छ । म पनि खुसी हुन्छु,’ उनले भने, ‘त्यसैले बेलाबेला आमानिर पुगिरहन्छु ।’ उनका ६० वर्षीय पिता, २८ वर्षीय भाइ र २६ वर्षीया बहिनी पनि संक्रमित छन् । तीनै जना घरमा आइसोलेसनमा छन् । उनी अस्पतालबाट बचेको समय घर पुगेर परिवारको हेरचाह गर्छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?